म बढ्दै छु
फक्रँदै छु
मेरा दुई दिदीहरू नि यसरी नै फक्रँदै थिए
आमाको गर्भमा
तर कसैलाई नि त्यसमा गर्व लागेन
सबै उदास थिए।
त्यसैले पूरा ज्यान नै बन्न नपाएका,
मेरा दिदीहरूलाई लास बनाइदिए
आमाकै गर्भमा।
अरूका लास त खरानी हुन्छन् र उड्छन् आकाशतिर
मेरा दिदीहरूका लास रगत बने र बगे आमाका शरीरबाट
मलाई नि ठूलो डर छ
कतै म नि त्यस्तै लास नै बन्ने हो कि
किनकी यसपालि पनि
आमाको गर्भमा छोरी अर्थात् म नै बसेकी छु।
बाबालाई
म बसेको आमाको पाठेघर,
अहिले नै औषधीले खुलाएर
आफू मरेपछि
स्वर्गको ढोका खुलाउने छोरा पाउनु छ
राम्रो काम गरे
भगवानको मान रहन्छ
र स्वर्गको ठाम पुगिन्छ भन्दै
शास्त्रको गुणगान गाउँदै
धर्मको ज्ञान बाड्दै हिँड्ने
मेरा ब्राम्हण बाबालाई सोध्न मन छ
गर्भमै भ्रुणलाई नास गरेर
चलिरहेको सासलाई
रगतको लास बनाई
पापको रास थुपार्दा
स्वर्गको वास हुने आश
कसरी राख्न सक्छौ?
आमालाई
आफ्नै ज्यानको एउटा भाग मारेर
आफ्नो ममतामा दाग लगाएर भए पनि
मरेपछि दागबती दिने
छोराकै हात चाहिएको छ।
ज्वरोले आमाको शरीर तातो हुँदा
खाटको छेउमै बसेर
पानीका पट्टी दिन
छोरीका हातले मिल्छन् भने
मृत्युले आमाको शरीर चिसो हुँदा
घाटको छेउमै बसेर
आगोको पट्टी दिनचाहिँ
किन छोराकै हात चाहिने?
मलाई सोध्न मन छ
छोरीको सधैँको साथ र स्याहारले
आमाको मन त शान्त हुन्छ भने
छोरीको हातले दागबत्ती दिँदा
आमाको आत्माले किन शान्ति पाउँदैन?
बाबालाई
अहिले आफ्नै निशानी ध्वंश पारेर,
आफ्नो रगतको एक अंशबाट
छोरा पाएर वंश चलाउनु छ
अहिले मेरो
बढ्दै गरेको शरिरमा
बन्दै गरेको र बग्दै गरेको
रगत पनि त आखिर बाबाकै हो।
वंश चलाउन आफ्नै रगत खोज्ने
मेरो बाबालाई सोध्न मन छ
के छोरीचाहिँ तिम्रै रगत होइन र?
हजुरआमालाई
कलिली नातिनीको आत मारेर
मर्नुअघि
आफ्नो हातमा नाति खेलाउने ठूलो रहर छ
साँझबिहान धर्मको पाठ गर्ने मेरी हजुरआमालाई
सोध्न मन छ
पाठेघरमै कसैको ज्यान मारेर
धर्म कमाइन्छ भनेर
भगवानले खै कुन पाठमा लेखेका छन्?
मलाई सोध्न मन छ
सन्तान पाउनुको मर्म नबुझेर
गर्भमै छोरी मारेर
पापको कर्म गर्नेहरूले
छोरा पाएर धर्म कमाउँछुभन्दा
तिनलाई अलिकति नि सरम लाग्दैन?
जवानीमा
एउटा भ्रुण पनि पाल्न नसक्ने बाआमालाई
बुढेसकालमा आफ्नो ज्यान पालिदिने
छोरा चाहिएको छ।
तर मलाई सोध्न मन छ
पराई घर जान्छे भन्दै
परम्पराको नाममा
जन्मदेखि नै मनदेखि नै
किन छोरीलाई पर बनाइन्छ?
र बा-आमाको बुढेसकालको भर
किन छोरालाई मात्र थमाइन्छ?
छोरा भएका वर्णन गर्नेहरू पनि
बुढेसकालको त्यो एक्लो चरणमा
आफ्नो मरण अघि नै
पशुपतिमा भएको पराइघरको शरणमा पुगेका
उदाहरण छैनन् र?
यहाँ सबैलाई
वंश बोक्ने काँध
अंश लिने हात
बुढेसकालको साथ
र दागबति दिने हातका लागि
छोरा चाहिएको छ।
तर मलाई सोध्न मन छ
यदि सबैले तिमीले जस्तै
गर्भमै छोरीहरू
मार्दै जाने हो भने
सृष्टि चलाउनका लागि
तिम्रो छोरालाई
बुहारी कहाँबाट ल्याउछौ?