तिनताक मेरो रासोबासो मण्डला थिएटरमा हुन्थ्यो ।
काठमाडौँमा ‘थिएटरगोअर’हरू बढिरहेका थिए । अनामनगरस्थित मण्डला थिएटर भरिभराउ र गुलजार हुन्थ्यो । थिएटरसँग जोडिएको शहरमा हतपति नहुने खाली र विशाल जमिनमा मान्छेहरूको बाक्लै जमघट हुन्थ्यो । वरपरका केही चियापसलमा पनि राजनीतिदेखि कलासम्मका विविध आयाम र विषयमा सार्वजनिक विमर्श (हरेक मान्छेका बौद्धिक गच्छेअनुसार) भइरहेको हुन्थ्यो । त्यहाँ नाटकप्रेमी मात्र हुँदैनथे, बेरोजगार पनि हुन्थे । अनि, मजस्ता नाटकप्रेमी र अर्धबेरोजगार पनि हुन्थे ।
दिउँसो साथीहरूसँग भेटघाट-गफगाफ र बेलुकी मण्डलामा नाटक...मेरो दैनिकी यस्तै थियो । जिन्दगी यसरी नै चलिरहेको थियो ।
भनिहालेँ, अर्धबेरोजगार (वा अर्धरोजगार) थिएँ । हप्ताको एक दिन निस्किने साप्ताहिकलाई दिनमा दुईचार घण्टा समय दिए पुग्थ्यो । कामको प्रकृति पनि अर्ध थियो, तलब पनि यस्तैउस्तै आउँथ्यो, अर्धतलब ! जे होस्, गुजारा चलेकै थियो । मीठोमसिनो खान नपुगे पनि नमीठो–खस्रोका लागि कमाइ पर्याप्त थियो ।
मण्डला थिएटर धाउने मेरो दैनिकीमा एक दिन एक युवती सामेल भइन् ।
अग्ली र गोरी युवती ।
प्रचलित सौन्दर्य दृष्टिकोणअनुसार उनी सुन्दर थिइन् । गोरोपनको वकालतमा टेलिभिजनमा बजिरहने विज्ञापन र चलिआएको खस–आर्य सौन्दर्य मानकलाई विचार्ने हो भने उनको लावण्य लोभलाग्दो थियो ।
उनी मण्डलामा अभिनय सिक्दै थिइन् ।
हिरोइन– उनको जिन्दगीभरको आकाङ्क्षा थियो । हिरोइन बन्ने मनसायसाथ अघि बढिरहेकी सुन्दर युवतीले अभिनय कक्षा पनि लिनु सुनमा सुगन्ध थप्ने प्रयत्न थियो ।
एक जना साथीले उनीसँग चिनापर्ची गराइदिए । रङ्गपत्रकार र फिल्म संसारको सानोतिनो जानकारका हैसियतले मैले उनलाई ‘तिमी एकदम सही बाटोमा छौ’ भनेँ । उनी मख्ख परिन् ।
मण्डलामा नियमित नाटक मञ्चन भइरहन्थे । हरेक नाटकको निम्तो पाउने एक जना म पनि थिएँ। त्यहाँ दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा, प्रदीप चौधरी, विजय बरालजस्ता आत्मीय मान्छे छन् ।
नाटकको नाम ‘डिग्री माइला’ थियो । मलाई हेर्ने निम्तो आयो । दयाहाङ राई फिल्मको धपेडीबाट उम्केर नाटक निर्देशन गर्न आइपुगेका थिए ।
त्यतिबेला उनी ‘राजेश हमाल टू’ भइसकेका थिए । रङ्गमञ्ची दयाहाङ फिल्मी दयाहाङमा रूपान्तरण भएका थिए । हरेक हप्ता उनको फिल्म रिलिज हुन थालेको थियो । तर, उनको अभिनयको जादु फिका हुँदै थियो । मलाई लाग्थ्यो– राजेश हमाल नै हुनु थियो भने दयाहाङ किन फिल्ममा आए होलान् ? राजेश हमाल मेरा निम्ति ‘धोकेबाज’ थिए । शिक्षित र शानदार पारिवारिक पृष्ठभूमिका उनले नेपाली फिल्ममा न्यूनतम हस्तक्षेप पनि गर्न सकेनन् । फिल्म सामूहिक कर्म हो तर यो सामूहिकतामा व्यक्तिगत विशिष्टता छोड्न नसकिने होइन । राजेश हमालले अर्को एउटा चर्चित अभिनेता हुनुभन्दा अलग केही गर्न सकेनन् । त्यसैले मैले उनलाई धोकेबाज भनेको हुँ ।
एकपल्ट काठमाडौँको नयाँ बसपार्कमा दयाहाङको फिल्म सुटिङ भइरहेकै ठाउँमा पुगेर मैले प्रश्न पनि गरेको थिएँ– तपाईं किन अर्को राजेश हमाल बन्न खोजिरहनुभएको छ ? उनले जवाफ गोलमटोल थियो । मैले बुझेँ, उनी अब नेपाली कला क्षेत्रको होइन, आफ्नो वर्ग उत्थानमा बढी सक्रिय छन् । ‘भात त खानैप¥यो’, ‘काठमाडौँमा टिक्नै प¥यो’ खालका झल्लु बहानालाई उनले आफ्नो रक्षाकवच बनाइसकेका थिए ।
जे होस्, प्रसङ्ग उही युवतीको ।
‘डिग्री माइला’मा झुलुक्क देखेको थिएँ, उनलाई ।
त्यसपछि केही फिल्म, विज्ञापन र म्युजिक भिडियोमा पनि उनी झुल्किइन् ।
अभिनय क्षेत्रमा उकालो ग्राफ चढिरहेकी उनलाई मैले फेसबुकमा जोडेँ । उनका गतिविधि टाइमलाइनमा आइरहेका हुन्थे । म राम्रोसँग नहेरी लाइक गरिदिन्थे । अक्सर हामी सबै त्यस्तै गर्छौं । लाइक गनेर मक्ख पर्नेका लागि यो एउटा सानो खालको योगदान पनि हुन्थ्यो ।
एक दिन फेसबुकमा उनको लामो स्ट्याटस देखेँ । अरू बेलाजस्तो हेर्दै नहेरी लाइक बटन थिच्नै लाग्दा केही शब्दमा आँखा परे ।
घृणा गर्ने बटन वा विकल्प फेसबुकसँग हुँदो हो त म त्यही बटन थिच्थेँ । त्यतिबेला अहिलेको जस्तो आँशु झार्ने, दुःखी हुने, प्रेम गर्ने वा हाँस्नेजस्ता इमोजी आविष्कार भइसकेका थिएनन् ।
त्यहाँ उनले म्युजिक कम्पनीको मालिकसमेत रहेको एक जना भिडियो निर्देशकको नामसहित आफूमाथि भएको दुव्र्यवहारको विवरण खुलाएकी थिइन् ।
सायद आफूमाथि भएको दुव्र्यवहारले हद नाघेपछि उनले फेसबुकको सहारा लिएकी थिइन् । महिला कलाकारले आफूमाथि हुने गरेका दुर्घटना मन हलुका बनाउन कसैलाई सुनाउने गरेका थिए, तर यसरी सार्वजनिक गर्ने हिम्मत कसैले गरेका थिएनन् । उनले गरिन् ।
उनको हिम्मतका लागि फेसबुकको होइन, मनको लाइक बटन दबाएँ । मनमनै दबाएँ ।
उनलाई फोन गरेँ । मोबाइल अफ रहेछ त्यो दिन । मलाई उनको हिम्मतलाई स्यालुट गर्न मन थियो । तुरुन्तै गर्न पाइनँ ।
त्यसको केही दिनपछि मैले फोन गरेर भेट्ने इच्छा व्यक्त गरेँ ।
भेट्ने ठाउँ उही मण्डला थिएटरको प्राङ्गण ।
हिउँदको महिना थियो । पारिलो घाममा बसेर गफ गर्ने निधो भयो । घाम त पारिलो थियो तर उनीमाथि भएको घटनाले मेरो मन चिसो बनाइरहेको थियो । सायद उनको मन त जमेको हुँदो हो, हिउँजस्तै ।
‘कास्टिङ काउच’, अर्थात् काम दिएबापत वा दिनुअघि कलाकारमाथि हुने यौन दुव्र्यवहार ।
उनले पनि सुनेकी थिइन्– कास्टिङ काउच हुन्छ रे ।
तर, उनलाई यो ‘वाहियात हल्ला रहेछ’ भन्ने लाग्न थालिसकेको थियो । किनभने, एक हिसाबले त्यस्तो भोग्नुपर्ने भनिएको चरण पार गरिसकेकी थिइन् ।
र्याम्प मोडलिङ, एड मोडलिङ, रङ्गमञ्चमा अभिनय हुँदै उनको अभिनययात्रा फिल्मसम्म पुगिसकेको थियो ।
तर, त्यही बेला भइदियो, उनले सोचेभन्दा उल्टो !
म्युजिक भिडियोमा अभिनयका लागि अफर आयो । गीत राम्रै थियो । अभिनय गरिन् । भिडियोका निर्देशक चराको नामसँग मिल्दोजुल्दो नामधारी पुरुष थिए ।
उनले ती कलाकारलाई पहिलो भेटमा भनेका थिए, ‘एउटा भिडियोमा काम हेरिसकेपछि सल्लाह गरेर अघि बढ्नुपर्छ ।’
अभिनयकै लागि सुनील पोखरेलसँग मण्डला थिएटरमा तीन महिना प्रशिक्षण लिएकी उनलाई काम देखाउने चुनौती सामना गर्नु ठूलो कुरा भएन । ‘ओके !’ भनिदिइन् ।
शब्दको अर्थ शब्दकोशले भनेझैँ सरल हुँदैन । एउटै शब्दको अर्थ मान्छेपिच्छे, मान्छेको नियतपिच्छे फरक–फरक हुन्छ । त्यो ‘सल्लाह’ भित्र लुकेका अनेक अर्थ उनले पहिल्याउने कोसिस गरिनन् ।
काम गरिन् । पारिश्रमिक लिन बाँकी थियो । त्यसैले चरासँग मिल्दोजुल्दो नामधारी निर्देशकसँग सम्पर्कमा रहिरहिन् ।
एक दिन ती निर्देशकले च्याटमा लेखे, ‘मैले भनेको थिएँ नि, मलाई एउटामा काम गरेर सहज भयो भने सल्लाह गरेर अघि बढ्नुपर्छ ।’
उत्तर फर्काइन्– ‘हो ।’
निर्देशक अघि बढ्दै गए, ‘अब त्यो बेला आइसकेको छ, स्पष्ट कुरा राख्ने ।’
‘हस्, भन्नुहोस् न त?’ उनले रिप्लाई गरिन् ।
‘आफ्नै मान्छे बनाएर अघि बढ्ने सोचमा छु म त!’ उनले सीधै प्रस्ताव गरे ।
विवाहको प्रस्ताव हो, मन पराए होलान् भन्ने हो भने निर्देशक विवाहित थिए । अर्थ न बर्थसँग विनाप्रसङ्ग एकै पटक यस्तो भनिदिँदा ती कलाकारको पारो तातिसकेको थियो । मनभित्र ठूलै उफान उठिसकेको थियो ।
तैपनि स्पष्ट हुन जरुरी ठानिन्, ‘त्यो भन्या ?’
‘म चाहन्छु, तिमीसँग नियरेस्ट एन्ड डियरेस्ट रिलेसन पनि,’ चराको नामधारी निर्देशक पखेँटा फिँजाएर अघि बढ्दै थिए ।
नजिक रहनु र प्रिय हुनु सोझो अर्थमा नराम्रो कुरो होइन । उसै पनि ‘नियर एन्ड डियर’ बदनाम शब्दावली पनि होइन ।
‘वी आर नियरेस्ट एन्ड डियरेस्ट एज वेल, हैन र?’ उनले उत्तर फर्काइन् ।
यो च्याटमा भएको कुरा थियो । उनलाई लागिसकेको थियो, गलत नियतले, गतल तरिका अवलम्बन गरेर अघि बढ्दै छन् ती निर्देशक ।
तर, ती अभिनेत्रीले तत्काल कडा प्रतिक्रिया दिन उपयुक्त ठानिनन् । पारिश्रमिक लिन बाँकी थियो । तुरुन्तै प्रतिक्रिया दिँदा पारिश्रमिक पनि पच हुने र गलत व्यवहारको शिकार पनि भइने देखियो । उनलाई लाग्यो– लामै समय म्युजिक भिडियोमा काम गरिसकेका उनको यो बठ्याइँ पनि हुन सक्छ । यस्तै कुरा गरेर, तर्साएर पारिश्रमिक नदिने वा कोही तयार भयो भने आफूअनुकूल प्रयोग पनि गर्ने ।
उनले मनमनै अठोट गरिन्– सहेर बस्नु उपयुक्त हुँदैन । योभन्दा अघि बढ्यो भने त्यसको प्रतिक्रिया दिनुपर्छ ।
पारिश्रमिक दिने मिति पर सार्दै गएका भिडियो निर्देशक च्याटमा ‘चरित्र देखाउने मौका’ दिएकाले उत्साही थिए, सायद । अभिनेत्रीका साथीहरूका अनुसार स्टार बनाउने सपना देखाउन चराको नामधारी महानुभाव माहिर थिए ।
पारिश्रमिक माग्नका लागि फोन गर्दा उनले अरू काम गरेर एकमुष्ट लैजान पनि भने । तर, उनले आफूलाई साह्रै खाँचो परेको बहाना बनाइन् ।
निर्देशकले मैतीदेवीस्थित क्वालिटी रेस्टुरेन्टमा भेट्न बोलाए ।
उनी सुन्दै गइन् ।
उनी भन्दै गए, ‘एउटै क्याम्पमा बसेर काम गर्नुपर्छ । मसँग धेरै म्युजिक भिडियो बनाउने मान्छे आउँछन् । मैले भनेअनुसार चल्यौ भने हिट हुन्छौ ।’
आफूले अवार्ड कार्यक्रम पनि गर्ने भएकाले धेरैले म्युजिक भिडियो आफूलाई दिने उनले बताए । भने, ‘मैले भनेको मान्यौ भने तीन महिनामै स्टार बनाइदिन्छु ।’
उनी चकित भइन् र सोचमग्न भइन्– ‘कसैले यसरी स्टार बनाइदिने भए अभिनय सिकाउने गुरुहरूको के काम ? अभिनयका विविधता सिक, हाँस्न सिक, रुन सिक, कराउन सिक, चिच्याउन सिक । यी सबै सिकाइको के काम ? के औचित्य ?’
नयाँ केटी भएकी भए त्यो लोभमा पर्थिन् पनि होला । तर, उनले केही समयअघि मात्रै मण्डलामा तीनमहिने अभिनय कक्षा लिएकी थिइन् । र्याम्प मोडलिङ, एड मोडलिङ, कोरियोग्राफीसम्म गर्दैगर्दा उनलाई लागेको थियो, जान्ने भइसकेँ । तर, अभिनय सिकेपछि थाहा भयो, केही जानेकै छैन । सिक्न धेरै बाँकी छ ।
कसैले स्टार बनाइदिन्छ भन्ने भ्रमबाट मुक्त थिइन् उनी । आफूलाई गलत बाटोमा डो¥याउन खोजिँदै छ भन्ने थाहा भइसकेको थियो । तुरुन्तै केही भनिनन् । जिज्ञासु बनेर उनलाई चरित्र देखाउने मौका दिइरहिन् ।
‘भन्नुस् न त मैले के गर्नुपर्छ?’ उनले भिडियो निर्देशकको नियत जान्न खोजिन् ।
‘मसँग सुत्नुपर्छ, त्यो पनि बेडमा फिलिङ्ससहित ।’
उनी आफ्नो औकातमा ओर्लिए । अत्यन्त भद्दा, सस्तो र नग्न औकातमा ।
तुरुन्तै प्रतिक्रिया जनाइनन् ।
पारिश्रमिक लिन पनि बाँकी थियो । तत्काल केही भनिनन्, पारिश्रमिक मागिन् ।
निर्देशकले १५ हजार रुपैयाँ दिनु थियो उनलाई । छ हजार मात्रै दिए । थप एक हजार जबर्जस्ती मागिन् ।
यी सारा अपमान बेहोरेपछि उनलाई लाग्यो– ‘अब सहनु हुँदैन । अब पनि मैले सहेँ भने आत्मालाई के जवाफ दिनु ?’
उनलाई लाग्यो– गलत व्यवहार सहेर बस्दा नै गलत मान्छेहरू यो क्षेत्रमा राज गरिरहेका छन् । बाहिर चिटिक्क परेको मुकुन्डो भिरेर हिँड्नेहरूको असली रूप म जस्तैले बाहिर ल्याइदिनुपर्छ ।
र, यसरी उनीमाथि भएको यस्तो दुव्र्यवहार फेसबुकमार्फत सार्वजनिक गरिदिइन् ।
नेपाली मनोरञ्जन क्षेत्रमा रहेका कमैले यस्तो आँट गर्छन् ।
किनभने, उनीहरूलाई तर्साइएको हुन्छ– यस्ता कुराले अघि बढ्न अप्ठ्यारो पर्छ ।
उनलाई पनि केही साथी र अग्रजहरूले यस्तै भनेका थिए । उनीहरू एकमत थिए– यो क्षेत्रै यस्तो हो, यहाँ यस्तै हुन्छ ।
ती अभिनेत्रीलाई लाग्यो– मेरो सपना जसरी पनि स्टार बन्ने होइन, हिँड्दै गर्दा बनेको बाटो हो यो । क्षमताको मूल्याङ्कन गर्नेहरूले काम दिइरहेका पनि छन् । जो गलत सोच राख्छन्, तिनीहरूसँग काम गर्नु पनि छैन ।
आफूमाथि भएको र हुन खोजेको दुव्र्यवहारविरुद्ध उनले फेसबुकको सहारामा लडाइँ सुरु गरिन् । तर, महिला कलाकारमाथिको यस्तो अत्याचार ‘स्वाभाविक’ ठानिरहेको कला क्षेत्रले गम्भीर रूपमा लिइदिएन । मानौँ, महिलाहरू दुव्र्यवहार भोग्न अभिशप्त छन् ।
उनको करिअरको बहीखातामा यो घटनाले नाफा–नोक्सान के भयो ? थाहा छैन ।
उनी भन्थिन्– ‘गलत मान्छेविरुद्ध आवाज उठाउँदा मेरो हृदयको बहीखातामा नाफा देखिएको छ ।’
मलाई पनि लागेको थियो– उनको त्यो साहसले धेरैको दुस्साहस मर्यो होला ।
कला क्षेत्रमा गरिखान चाहिने सबथोक (सुन्दरता, अभिनय) भएर पनि उनले लामो यात्रा तय गर्न सकिनन् । त्यसपछि उनीसँग मेरो भेट त्यति भएन ।
यो घटना भएको धेरै पछि मैले उनको फेसबुक एकाउन्ट हेरेको थिएँ । उनको ‘लिभ्स इन’मा कुनै विदेशी शहरको नाम थियो ।
दुव्र्यवहार गर्ने ती निर्देशकको फेसबुक वालमा हेरेँ– उनी त चर्चितभन्दा चर्चित कलाकारसँग काम गरिरहेका रहेछन् । व्यस्तता अझै बढेको रहेछ । पतनको पातालमा पुग्नुपर्ने मान्छे झन्–झन् उत्थानको उकालो चढिरहेका थिए । कमसे कम उनका बद्नियतसँग जानकार महिला कलाकार त उनीसँग हच्किनुपर्ने हो नि !
चम्किलो मनोरञ्जन उद्योगमा धेरै फोहोरमैला छन् ।
ती फोहोरी नियतका निर्देशक फोहोर उत्पादन गर्न व्यस्त छन् ।
(पुस २८ गते सोमबार सार्वजनिक हुने लागेको पुस्तक ‘नियत’को अंश)