कविता
यात्रामा तिमी छलियौ
या म अल्मलिएँ
हिँडेका थियौं सँगसँगै
पाइलाहरू सँगै अगाडि बढेका थिए
एउटै जस्केलाको कापबाट
त्यो मिर्मिरेमा
उज्यालो उतिनै देखेका थियौं हामीले
हिँड्नु अघि
गन्तव्य एउटै थियो
आपसमा उद्धेश्य पनि
समानान्तर पोखेका थियौं हामीले
साक्षत महादेवजस्तै
एक्कासि ! कसरी अन्तर्ध्यान भयौ तिमी?
कि अल्मलिएँ म!
या छलियौ तिमी ?
बिहान जुर्मुराउँदै
शिखर उक्लेको घाम
साँझ निस्तेज
लुरुक्क ओर्लियो डाँडामुनि
क्षितिजमा बिलाएको आफ्नै घाम कुरेर
रातभर रातभर छटपटाएपछि
साथ दिन आएको चन्द्रमा
देख्दा जति सुन्दर थियो
थिएन उसको अंगालोमा न्यानोपन
अँगेनु चिसिएपछि
सल्किएन जिन्दगीको चिर्पट
बलेन यौवनको आगो
र पाकेन भरजीवन मीठो चटनी
मनको मझेरीमा
भर्भराउँदो ज्वाला सहेर
लौकिक न्यानो कुर्दाकुर्दै
आफैंबाट आफ्नै मुटु
चिसिएको पत्तै पाएन
सग्लो जिन्दगीले।