कविता
तिम्रा हेपाइको विपक्षमा
बोलिरहने छु
तिम्रा कुत्सित विचारप्रति
प्रश्न सोध्न पाउने
अधिकारको पक्षमा
चिच्याइरहने छु म
निरन्तर।
तिम्रा अहम् र मूर्खतामा
हाँसिरहने छु
तिम्रा अतिचारविरूद्ध
आवाज बुलन्द पार्ने
चाहनाको पक्षमा
बोलिरहने छु म
निरन्तर।
हिम्मत छ भने आउ
या पठाउ तिम्रा अरिँगाललाई
हतकडी र नेल लगाइ
थुन मलाई कालकोठरीमा
स्वतन्त्रताको पक्षमा
हुङ्कारिरहने छु म
निरन्तर।
हरेक थिचाइमा जुर्मुराउने छु
तिरस्कार तिम्रा हरेक
प्रतिकार गर्ने छु
तिम्रा हरेक बन्देज
अनि विभेदप्रति
आवाज बुलन्द पार्नेछु म
निरन्तर।
सुन तिमी, कान खोलेर सुन
म डराउने छैन
डगमगाउने छैन
तिम्रा हरेक असङ्गत
निर्णयका खिलाफ
आवाज उठाइरहने छु म
निरन्तर।
जबसम्म सच्चिँदैनन्
यी जाल झेल र कपटहरू
अन्तिम सास रहुञ्जेल
लडिरहनेछु
इन्कलाब आउँदैन जबसम्म
अत्याचारविरूद्ध लड्नेछु यो युद्ध म
निरन्तर।