ए , कोरोना!
सुटुक्क आयौ तिमी
वुहानमै जन्मेर आयौ
बालापनमै तिम्रो प्रभावी रूप
वुहानमै कैद प्रयास गरेथे
तर पनि तिमी पुग्यौ
युरोप र अमेरिका
अनि छायौ पूरै एसिया
हाँसेका अनुहार
किमार्थ छोड्न चाहेनौ
अफ्रिका अरबको तातो हावामा
कत्ति पनि हारेनौ
तिमी नाचिरह्यौ मात्र नाचिरह्यौ
तिमी बाँचिरह्यौ फैलिरह्यौ
आज तिम्रै डरले कोरोना
विश्व एक छ र पनि
हारिरहेको छ
तिमी एक्लै पनि
सम्पूर्ण मानवहरूलाई
कैदमा राख्ने
सामर्थ्य राख्छौ
कैदमा राख्ने मान्छेका
दुश्मनलाई पनि छोडेनौ
पावरका टावरहरूलाई
पनि पटक्कै छोडेनौ
तिम्रो वेगको प्रभावले
फुट्न होइन, जुट्न सिकायो
मान्छेलाई मार्ने गोली
बम, बारुद अनि क्षेप्यास्त्रले पनि
छिया छिया भएनौ तिमी
मानवताको खोक्रो आडम्बर
छरपष्ट बनाइदियौ, नङ्ग्याइदियौ
समय-समयमा जति सुकै हल्लाए पनि
लड्ने बेला मात्रै दरिलो आड खोज्ने
मान्छेहरू दलदलमा भासिनु
अचम्म हुँदै होइन
तिम्रो चेतावनी मात्र हो
जुट्न विश्व मानवताका लागि
जोगाउन पर्यावरणलाई
रोक्न हतियार युद्ध र आणविक व्यापार
अब पनि बुझिएन भने
निश्चित छ नरसंहार,
मानवताको विनाश।