'दिक्क लाग्दा समाचारहरु'
केदारनाथले टिभिको रिमोट पल्लो सोफामा पुग्नेगरी हुत्याईदियो। रातको १० बजेर १० मिनेटमा म्यासेन्जरमा प्रेमिकाले म्यासेज पठाई। लेखेकी थिई- 'यतिखेर तिमी र म सँगै हुन्थ्यौँ, के गर्छौ कालु दैव लागेसी।'
त्यसै त्यसै अस्थिर केदारनाथको छट्पट्टीलाई झन् बेस्सरी जगायो प्रेमिकाको म्यासेजले। झ्यालबाट देखिएको बाहिर आकाशको चकमन्न अँध्यारो आफ्नै ओछ्यानमा घोप्टिए जस्तो लाग्यो उसलाई। धेरैबेर छट्पटिए पछि मात्रै उसका आँखा लोलाए।
'तमाखु भरौँ साहेब?', चौधरी मकानबाट करायो।
'भो परेन'
मुखियालाई के गरौँ, कसो गरौँ भैरहेको थियो। तमाखुको बिलासिता उसलाई त्यतिखेर उचित लागेन। बरु धनिरामलाई लिएर तल टार तिर झर्यो।
चैत्रमा पात झरेका उजाड रुखहरु, पानीको थोपो नदेखेर पट्पट् फुटेका खेतका गह्रा, एकोहोरो पश्चिमबाट पूर्वतिर चलिरहेको तातो हावा, पिपलको फेदमा उभिएर मुखिया बोल्यो- 'ए धनिराम के हुन लाग्यो हँ यो साल?'
'खै हजुर यता यस्तो छ, उता उत्तरतिर मान्छे मारेको रोगले पश्चिम गाउँ त झन सोत्तर पारेको छ अरे, त्यहाँका मुखिया त धुरुधुरु रोएका छन् भन्ने पो सुनिन्छ हजुर।'
मुखियाले उदेकलाग्दो आकाश तिर हेर्यो। आकाशमा एक लेघ्रो बादल समेत नदेखेपछि उ अत्तालियो। धप्प बलेको आगोको फिलिंगो जस्तो भएको थियो पृथ्वी। रुखहरु खेतमा ठड्याइएको बुख्याचा जस्ता स्थीर थिए। पालहरुमा स्फुर्ती थिएन। आकाशमा गौंथलीहरु उडेका थिएनन्।
टारबाट फर्किदा कुटमिरोको फेदमा गाउँलेहरुले मुखियालाई घेरी हाले। रनेको विदेशबाट फर्केको छोरो मरेछ। उत्तर तिरकै रोगले मरेको शंका रहेछ गाउँलेलाई।
'अरु गाउँहरुमा मान्छेलाई घरबाहिर समेत निस्कन दिएका छैनन् रे! त्यति गर्दा त घाटहरु खाली छैनन् भन्छन्। अब त्यो रोग यतै आउदै छ हजुर। यी हेर्नुस त कति डरलाग्दो भाकीछन् प्रकृती,' रनेका काका एकै श्वासमा बोले।
'त्यै त वृद्धाश्रमहरु खाली भए रे अनि अस्पतालहरु भरिभराउ। पाल टाँगिएको छ रे बिरामी सुताउन। एकोहोरो साइरन बजाउँदै सहरभरी लास बोकेका गाडी मात्रै गुडेका छन् अरे', टाउकाको बांगिएको टोपी मिलाउँदै प्रभुनाथ बोल्यो। केदारनाथको आफ्नै ठुल्दाई।
'सपनामा काला चिल्ला भैसीहरु जुध्छन हरेक दिन। कालीथानको ढुंगाको मुर्ति रसाएको छ। खलखल पसिना आएको छ देवीलाई भन्छन् पुजारी। तल टारमा स्यालहरु एकोहोरो कराको त सुन्नु नै भएको होला साहेब।' अर्पिताकी आमाले देखे सुनेको कहानी सुनाइन्।
'त्यो फेरीवाला जोगीले त भनेकै थियो, यो वर्ष केही अनिष्ट हुन्छ भनेर। उसले मन्त्रेका पहेला अक्षताहरु भुईमा खस्न नपाउँदै कसरी काला भएका थिए। त्यतिखेर जोगीको कुरा कसैले सुनेन। विचरा कति निराश भएर फर्किएको थियो उ,' हरिहर बा पिल्पिलाए।
'नरोउ बा, आत्तिएर नि हुन्छ?' हरिहरको साइलो छोरो अघिल्तिर सरेर बोल्यो। तर उसको अनुहारमा निराशा र भय मडारिरहेको देख्यो केदारनाथले।
केदारनाथ अस्पटियो।
जेठी र कान्छी दुवै श्रीमतीलाई सगैँ राखेर मुखिया बोल्न लागे- 'दिउँसो टारसम्म पुगेँ चौधरीसँग। खेतहरु पट्पट् फुटेका छन्। हावाको आवाजमा भयंकरको व्याधि छ। दिउँसको घाम पनि तमतमिलो छ। छोरो मरेको वर्ष पनि यस्तै थियो समय।'
छोरो शब्द सुन्नासाथ मुखियाकी कान्छी श्रीमती पिल्पिलाउन थाली।
मुखिया थप्दै गए- 'गाउँलेहरुले पनि जोगीले भनेको कुरा सम्झाए आज। उ मलाई पनि भन्दै थियो, उसका मन्त्रहरु निश्तेज हुँदै छन् भनेर। साँच्चै फागुनमा उ आउँदा सिधा समेत नलिई खालि थैलाहरु लिएर फर्किएको थियो। केही त हुन्छ भद्रे।'
भद्रिका मुखियाकि कान्छि श्रीमती।
मान्छेहरु घरभित्रै मर्न थाले। आधाउधी बुढापाका परमधाम भएपछि गाउँमा कोलाहल सुरु भयो। धर्मशालाको दलानमा प्लास्टिकमा बेरिएका लासहरुको चाङ देख्यो केदारनाथले।
'मेरो घरको भकारी टक्टक्याउनु, केही अनाज बाँकी होला,' खेतमा नाबो उम्रिएका आलुका बोटतिर इसारा गर्दै मुखियाले भने, 'किरियापुत्रीहरु भोका नहुन, फलेको भए आलु खानु, नफलेको भए बोटै पखाल्नु।'
केही छिनमा किरियापुत्रीहरु कसौडीमा आलुका बोटहरु उमाल्न थालेको देख्यो केदारनाथले।
'पवित्र बालुवाको पिण्ड अर्पण गर्नु।'
केदारनाथ अचम्मित हुन नपाउँदै प्लास्टिकभित्रबाट पुरोहितले पिण्डदानको मन्त्र पढे '…..तिर्पन्ताम, ……तिर्पन्ताम….।'
बालुवाको पिण्ड??
केदारनाथका आँखा आश्चर्यवाचक चिन्ह बने। कहिल्यै नदेखेको संस्कार देख्दै थियो उ। चन्द्रावतीले बालुवाका नैवेदहरु अर्पण गरेको कथा पढेको थियो उसले स्वस्थानीमा। बालुवाको पिण्ड भने उ पहिलो चोटि प्रत्यक्ष देख्दै थियो।
'हैन किन यस्तो अनौठो छ सबै कुरा?' प्रश्नै प्रश्नले घेरिएर उ उत्तानो पर्यो।
हुर्हुर्ती आगो बलेको छ। लासका चाङहरु थुपारिएका छन्, अलि पर। खोलाको बगरभरी छरिबुट्ट छन् मान्छेहरु। एउटा आगोमा लास जल्दैछ। सँगैको अर्को आगोमा जग्गे गाडिएको छ।
'मङ्गलम् भगवान विष्णु'का मन्त्रहरु आकाशभेदी भएका छन्। केदारनाथ अत्तालिदै छेउमा उभिएका मुखियालाई प्रश्न गर्छ- 'मुखिया बा यो के हो? हामी मलामी हौँ कि जन्ती?'
मुखिया मुस्कुराउँदै भन्छन्- ' केदार तिमी बेहुलो हौ।'
लौ न कस्तो आपद केदारनाथलाई, आफ्नै बिहे थाहा भएन। उसलाई पत्यारै लागेन। मसानघाटमा कसरी उसको बिहे हुन सक्छ? खुट्टामा हात्तीछाप चप्पल थियो उसको।
साँच्चै अनौठो थियो त्यो दृश्य। बगरमा कतै लासको टाउको पड्किदै थियो भने कतै स्वयंवर भई रहेथ्यो। कुनै आगोमा चिता जल्दै थियो भने कुनै आगोमा जग्गे।
बगरभरी लास जत्तिकै धेरै बेहुलाबेहुलीहरु देख्यो केदारनाथले।
त्यतिकैमा कोही उसलाई खोज्दै आयो।
'ज्वाईसाहेब ल अब जग्गेमा बसौं।'
'दाई तपाई?' केदारनाथलाई विश्वास नै लागेन। बोलाउन आउने मान्छे उसकै प्रेमिकाको दाई थियो। दाई मुसुक्क हास्नु भो।
भर्खरै लास जलाएको भुंग्रो नजिकै लगेर दाइले भने- 'ज्वाईसाहेब यहि हो हाम्रो जग्गे।'
केदारनाथ बस्नै सकेन। भर्खरै लास पोल्ने आगो कसरी उसको प्रेमको साक्षी हुन सक्छ? कसरी मसानघाटमा बिहे हुनसक्छ उसको?
उ यस्तै सोच्दै थियो पछाडिबाट आवाज आयो, 'हेल्लो कालु।'
लौ न, उ त उसैकी प्रेमिका थिई। केदारनाथ आगोको नमिठो गन्ध अगाडि उभिएकै थियो।
उसकी प्रेमिकाले उसको हात समाई र भनी- 'यहाँ गाउँका १६ वर्ष कटेका केटाकेटी सबैको बिहे हुँदै छ, तिम्रो र मेरो पनि। हामी बच्चा जन्माउने छौँ र गाउँलाई फेरि आवाद गराउनेछौँ। हामी भरे नै सुरक्षित तरिकाले बच्चा जन्माउने प्रकृया सुरु गर्ने छौँ।'
उ भन्दै गई। प्रेमिकाको हातको न्यानोपना बाहेक केदारनाथले अरु केही बुझेन।
बिहे सुरु भयो। केदारनाथले प्रेमिकाको सिउँदोमा खरानीको सिन्दुर हालिदियो। सँगैको चितामा जल्दै गरेको लासको टाउको पड्कियो।
कस्तो अदभुत सलामी?
खोलाको पानीमा माछाहरु बुर्लुक्क उफ्रिए।
कस्तो नसोचेको बिहे?
'आउ प्रिए हामी खोला तिर जाउँ।'
त्यसपछि प्रेमिकाको पछिपछि लाग्यो केदारनाथ।
'त्यो मृत बगरमा टेकेर टट्टाएका तिम्रा पैतालाहरु पानीमा डुबाउ।'
प्रेमिकाले भनेजस्तै गर्यो केदारनाथले। पानीको स्पर्शभन्दा प्रेमिकाको स्पर्शले कुतकुतियो केदारनाथ।
उसकी प्रेमिकाले उसलाई खोलाभित्रै डुबाई। माछा जस्तै पौडिदै निकै तल पुगे ती दुई।
जलिरहेको चिता त्यही थियो, र त्यही थियो विवाह उत्सव। खोलासँगै बगर थियो, जन्तीसँगै मलामी थिए। जन्तीहरु एक/एक मिटरको दूरीमा उभिएर भोज खाँदै थिए।
भतभत पोल्ने बालुवा नजिकै कलकल बग्ने पानी भित्र थियो केदारनाथ र उसकी प्रेमिका।
यत्तिकैमा मुखियाको आवाज सुन्यो केदारनाथले।
'म मेरो गाउँलाई मरुभूमि हुनबाट बचाउँदै छु। खोला सुक्नु अगाडि नै हामी हाम्रा खेतबारीमा बीज उमार्ने छौं।'
केदारनाथले फेरि पनि केही बुझेन। फेरि अस्पट्टियो केदारनाथ। उसले तन्द्रामा सिरक तान्यो। उसलाई प्रेमिकाले तानी। उ झल्यास्स भयो, झन्डै उसले आफ्नो सुहागरात बिर्सिएको।
केदारनाथले महशुस गर्यो, उसकी प्रेमिका खोलाको बगरजस्तै तातेकी छ। उ हौसियो। लामो स्वास फेर्यो सुखानुभुतीको, अनि उ निर्वस्त्र धुर्बे हात्ती जस्तै लम्कियो।
उसले प्रेमिकाको ओठ छाम्यो हातैले, भेटेन। कान सुम्सुम्याउन खोज्यो र बल्ल ओठ लुकाउने निर्दयी माक्स फेला पार्यो। तर प्रेमिकाले माक्सभित्रै लुकाइरही आफ्ना ओठहरु।
उसले आफू जस्तै भेटेन आफ्नी प्रेमिकालाई। आफू जस्तै निर्वस्त्र पार्न खोज्यो। उ पत्रैपत्रमा ढाकिएकी थिई, सकेन।
अनगिन्ती रक्षाकवजहरु भित्र लुकेकी थिई उसकी प्रेमिका र भनि रहेकी थिई- 'आउ प्रिय, हामी सुरक्षित तरिकाले बच्चा जन्माउने प्रकृया सुरु गरौँ।'
त्यसैत्यसै बैरागीयो केदारनाथ। लल्याकलुलुक पर्यो उ। उ विस्तारै सेलाउँदै गयो, उसकी प्रेमिका भने ताती रही, एक सय पोइन्ट चारभन्दा पनि बढी।
उसकी प्रेमिकाले छिटोछिटो स्वास फेरी, उ झस्कियो। उसकी प्रेमिकाले खोकेर इसारा गरी, उ झन तर्सियो। त्यसपछि केदारनाथ भागेर सोफामा पुग्यो र त्यहिँबाट देख्यो आफ्नै रहस्यमयी प्रेमिका।
यसरी विना कुनै युद्ध पसिनै पसिना भएर ब्युझियो केदारनाथ। लकडाउनको विरक्त लाग्दो तेस्रो हप्तामा उसलाई सपनाले समेत तर्साउन थालेको थियो।