वर्षौ अघि परदेशिएका छोराहरू
जो फर्किन सक्दैनथे
या फर्किन चाहन्नथे
ती आज बल्ल गाउँ भित्रेका छन्
लकडाउन अघि
चौतारामा जमघट हुन्थे
पधेँरोमा होहल्ला हुन्थे
तर घरहरू सुनसान रहन्थे
आज बरू चौतारा र पधेँरो रित्ता छन्
घरका आँगन भने धपक्क बलेका छन्
धन्यवाद छ कोरोना तिमीलाई
वर्षौदेखि हाँसो हराएको ती अनुहारमा
आज अप्रत्याशित खुसी निम्त्याइदिएकोमा
उहिले
अस्ट्रेलिया र युरोप समुन्द्र किनार उभिएर
ती विदेशी छालहरूमा पैताला डोब्दै
फेसबुकमा रंगिन तस्बिरहरू पोस्ट्याउँदै
‘नेपालमा भविष्य छैन ब्यारे’
हाम्रो ‘मिनी नेपाल’ यही हो भन्ने हरू
आज त्यै स्वघोषित मिनी नेपाल उजाड भैरहँदा
फेरि घरको न्यानो सम्झिन थालेका छन्
अनि मन फिराउन थालेका छन्
धन्यवाद छ कोरोना तिमीलाई
ती नेपाली तनमा हुर्केका विदेशी मनमा
फेरि माटोको बास्ना जगाइदिएकोमा।
डा. केसीलाई पागलको उपनाम दिने
केही वरिष्ठ निजी बुख्याँचाहरूले
देशकै स्वास्थ्य क्षेत्र उकास्ने वाचा गर्थे
खुबै दुर्लभ प्रविधि भित्राएको ढोङ गर्थे
आफ्ना स्वार्थ पुर्याउन पराकाष्ठा नाग्थे
तर आज पालोको पैंचो गर्ने बेलामा
ती बुख्याँचाहरू एकाएक लापता छन्
अनि त कैयौं ज्वरो ग्रसित नेपालीले
एम्बुलेन्समै ज्यान गुमाउन परिरहेछ
धन्यवाद छ कोरोना तिमीलाई!
रोगमै सबथोक देख्नेहरूको
नयाँ प्रविधिहरू सार्वजनिक गरिदिएकोमा
आदरणीय
दौरामा भुडी टिपिक्क कसिएका महोदयहरू
आफ्नै कार्यक्षेत्रको थोरै हेक्का नभएकाहरू
तपाईंले खान त कहिले नै छोड्नुभयो र!
कहिले देखाएर खानु भो
कहिले लुकाएर खानु भो
तर आज
लाखौं निमुखाको गाँस र बासमै लकडाउन भैरहँदा
चपेटै चपेटाबीच एउटा भयानक चुनौती जन्मिरहँदा
अरू त के कुरा
तपाईं आफैं कोरोनाबाट उम्किने केही ठेगान नहुँदा पनि
भागबन्डाको कार्यक्रम भुल्नु भएन है?
धन्यवाद छ कोरोना तिमीलाई!
यी लाज बेचेर राज गर्नेहरूको कलाकारितालाई
प्रत्यक्ष प्रशारणको मौका जुराइदिएकोमा
एकाध महिना अघि सम्म
सहरका अग्ला सपिङ मलमा भुल्नेहरू
दोहोरी साँझ र क्लबमा डुल्नेहरू
मल्टिप्लेक्स सिनेमाहलमा अडेस लाग्नेहरुू
महँगो रेस्टुराँमा विदेशी स्वाद चाख्नेहरू
अचेल धेरै दिन देखि एउटै छानोमुनि
त्यै मक्किन आँटेको सोफामा लम्पसार पर्दै
बाको पुराने ठट्यौली बानी र
आमाको हातको सिन्की को झोलमा
सारा बिलासिता बिर्सिन थालेका छन्।
बाह्रै महिना अफिस कुर्लने आधुनिक बा-आमा
अनि सानैमा किन्डरगार्डेन भर्ना गरिएकी छोरी
जो सँगै भएर पनि कहिल्यै नजिक हुन सकिन
तिनै आफ्नालाई अझै आफ्ना बनाउने
अचेल बल्ल मौका जुरेको छ।
वर्षौदेखि घरका भित्ता र छत जोडिए पनि
कहिल्यै नजोडिएको त्यो छिमेकी साइनो
परिचित बीचहरूको त्यो अपरिचित हाउभाउ
आज बल्ल मीठो सम्बन्ध बन्ने मौका पाउँदै छ
धन्यवाद छ कोरोना तिमीलाई!
रंगी-विरंगी चाहनाहरू बुनेर
कस्तुरीझैं भौंतारिरहेका हामीलाई
जीवनका वास्तविक आवश्यकता दर्साइदिएकोमा ।