पानी मेरो रहर रसिलो पिउँदा पोष लाग्ने,
पानी प्युँदा छिन्-छिन् सधैँ, देहको दोष भाग्ने।
पिरो टोक्दा कलकल गरी खान खोज्छु म पानी,
खेली थाक्दा सरबत सरी, प्युन खोज्छु म पानी।।
पानी हाम्रो नस-नस बगी बाँच्छ यो जिन्दगानी,
पौडी खेल्दै छमछम गरी, हाँस्छ मीठो जवानी।
तिर्खा लाग्दा अतुल रसिलो, आँत भर्दै लु खाउँ,
झर्ना झर्दा झर-झर गरी, लोक भाका लु गाऊँ।।
फेवा मेरो हिमशिखरको शीर टल्किरहेछ,
कोशी मेरो सगरसरि हेर छल्किरहेछ।
काली बग्छे बगर बगरै, देश बोकी रहेकी,
मेची कुद्छे डगर-डगरै, साँध छेकी रहेकी।।
रारा हाम्रो परिचय भई पाहुना आइरन्छन्,
गोसाईंकुण्ड सगर रसुवा, तीर्थ धाईरहन्छन्।
शीरै कोशी दुध-दुध सरी, कुण्डबाटै बहेको,
देशै सारा सहरसरि नै, ज्योति चम्की रहेको।।
देउता मानी असिम जल त्यो सृष्टिको भार थाम्ने,
एउटा शक्ति जगतभरको, जीवको प्राण धान्ने।
आउ पुजौँ जल, थल, नभ, धर्ति राम्रो बनाउँ,
संसारैको अब्बल गतिलो, देश हाम्रो बनाउँ।।