पहेंलपुर झैं पाकेका गहुँका बारी
सुसेली हाल्दै वारि र पारि
झुस्स गालामा फुलेका सेताम्मे दाह्री
छोरा का छोरी
छोरीका नि छोरा हुँदा खेरी
थाप्लो भरी
बोकेर परिवारको जिम्मेवारी
आशाका एक मात्र जुनकिरी
मेरा बा
एक हातमा बिजुली चुरोट
अनि
अर्को हातले हँसिया नाम्लो बरियो बोकेर
छड्के पारेर खुर्पेटो भिरेर
चैतमासको उखर्माउलो गर्मीमा
घरका, घरभरिका का लागि शितलता ल्याउन
दु:खका दिन कटाउन
सधैं झैं मेरा बा
यसपालि नि गहुँ काट्दै छन्
हो मेरा बा लकडाउन उल्लंघन गर्दैछन्।
मेरा बा र यो उज्यालो बीच खै के दुश्मनी छ कुन्नी ।
बा ले घामलाई घरमा नभेटेको
र
घामले मेरा बा लाई घरमा नदेखेको
वर्षौ भै सक्यो।
सायद
बा लाई सम्झना छैन होला
घामलाई नि सम्झना छैन होला।
सम्झना छ त केवल मेरी आमालाई छ।
किन कि
घरमा
घरका कोठामा
आँगनमा
अँगेनामा
मेरा बा लाई उज्यालोमा कहिले भेटिनन्
मेरी आमाले ।
भालेको डाको भन्दा पहिल्यै
मेरा बा को डाको हुन्छ हाम्रो घरमा
र हुन्छ बा सँग रित्तो घाँसको डोको
रित्तो दाउराको डोको
रित्तो स्याउला सोत्तर को डोको
अनि भरिएका मलका डोका।।।
कलेवा र लाटेकोसेरोले घरको सेरोफेरोमा बसेर उज्यालोको गीत गाउनुभन्दा अगाडि नै
मेरा बा चण्डी पाठ गरिसक्नु हुन्छ।
घामले घरका झ्याल ढोका खोल्नुभन्दा पहिले नै
मेरा बा ले घरको दैलो टेकी सक्नु हुन्छ।
घामले डाँडा काटेको खबर लिएर झ्याउकिरी नआउँदा सम्म
मैलै बा लाई बारीमा देख्छु
मैले बा लाई पसिनाको बाढीमा देख्छु
खेतका आलीमा देख्छु
रूखका डालीमा देख्छु
कहिले गाइगोठको भकारोमा देख्छु
कहिले घरका धानको भकारीमा देख्छु।।।
खै कुन्नी कति बिगाहा रोपनी आना धुर हो जमिन
त्यो त लामा लामा फित्ता लिइ ढुंगे साध राख्ने अमिन लाई था होला।।
मेरी आमालाई त केबल
दिनको तीन भारी घाँस था छ।
ढाड खुइँलिने गरी दाउरा बोकेको था छ।
दाउरा र घाँसको लागि
घाँस र दाउराको लागि
मेरी आमालाई ढुंगे साध सिउनी था छ
हामीलाई नयाँ कपडा किन्दिन आफ्नो च्यातिएको चोलो
बीस ठाउँमा सिउन था छ।
मेरी आमालाई हामीलाई जीवन भर जिउन सजिलो पार्न
बाजे बजैको जिउनी था छ।
झण्डै दस हिउँद काटेको आमाको नयाँ बर्को
जब आमा ओढ्नु हुन्छ।
आधा आकाश देख्नु हुन्छ
आधा आङ छोप्नु हुन्छ।
किनकी आमा आधा आकाश हुन
त्यही भएर त मेरी आमा आधा लगाउनु हुन्छ।
आधा खानु हुन्छ।
पट्पटी फाटेका हत्केला
चरचर्ती फुटेका पैताला
मलिन मौन मुहार
कुप्रो परेको ढाड
चाउरी परेको छाला
यस्तै रैछ मेरी आमाको चोला
कहिले असिना पानी
कहिले चर्को घाम
मेरी आमालाई बारैमासे कामै काम
कहिले ऐंसेलुको काँडाले आमालाई जिस्काइरहन्छन्
चुलोको धुँवाले आमाका आँखा रसाइ रहन्छन्
रसाउन त आमाका आखा घरको कौसीमा बस्दा नि रसाउछ्न्।
ठूल दाइ विदेश जान्छु भन्दा पनि रसाएका थिए
म विदेश जान्न भन्दा पनि रसाएका थिए
दाइ आउने बाटो हेरेर पनि रसाउछ्न्
म नआउने बाटो हेरर पनि रसाउछन्
तै पनि मेरी आमा
भोक नभनि
थकाइ नमानी
पूरा निन्द्रा नसुती
म भन्दा बीस वर्ष जेठो धोती लगाएर
बा सँग चुपचाप चुपचाप बारीमा गइरहन्छिन्
हो
मेरी आमा मेरा बा जस्तै लकडाउन उल्लंघन गरिरहन्छिन्।