कविता
अनगिन्ती सम्बन्धहरूलाई
सागरको आयतनभन्दा
अझै फराकिलो बनाउने लालचामा
माया, ममता अनि प्रेमको गम्सा थापेर
जीवनभर ऊ
सम्बन्ध विस्तारको राजमार्गमा
निरन्तर दौडिइरह्यो, दौडिइरह्यो।
सम्बन्धहरूको विविध श्रृङ्खलाहरू
थपिँदै, गासिँदै अनि झ्याङ्गिँदै गए
तिनका अत्यधिक सङ्ख्याबाट
ऊ पुलकित मात्र भएन
धरा विजयको प्रज्ज्वलित मुद्रामा
खुसीको भेलमा पौडदै गयो
अनन्त आनन्द थुपाऱ्यो।
अफसोच !
त्यही सम्बन्धहरूको बीचबाट
परम पतिभक्त आफ्नै श्रीमतीलाई
भट्टी पसलेको टेवलछेउ
दिल्लगी र रोमान्समा मात्र हैन
अङ्ग प्रत्यङ्गहरूको
लिलाम बडावडमा उद्यत भेट्यो उस्ले।
तब
सम्बन्धहरूका इतिहास र वर्तमानले
उपहास गरेजस्तो लाग्यो
अनि मनको भित्तामा
कहिल्यै नमेटिने
एउटा शिलालेख कुदयो उसले
‘जीवनमा सम्बन्धहरूको
सङ्ख्या वृद्धिमा ध्यान नदेऊ
भएका सम्बन्धहरूमा
जीवन खोजी हेर।