कविता
म यो सत्तालाई टाढाबाट नियाली रहेछु
तर,सत्ता मलाई नजिकबाट हेरिरहन्छ
सत्ताका बारेमा केही बोल्नु हुँदैन
सत्ताका नराम्रा कुरा खोतल्नु हुँदैन
सत्ताका कमजोरी औंल्याउनु भनेको
कुटिनु हो
पिटिनु हो
यातना खेप्नु हो
देशद्रोही हुनु हो
जेल जानु हो।
कुर्सीमा बिराजमान एउटा मूर्ति छ
जस्ले दूरदराज गरिबका खाली खुट्टा देख्दैन
सडक मजदूरका पसिना देख्दैन
गरिबहरूका खाली पेट देख्दैन
बलात्कृत चेलीको कहाली लाग्दो तस्बिर देख्दैन
रोगीको रोदन सुन्दैन
मात्र एकोहोरो
बोलिरहन्छ
बर्बराउछ
बौलठिन्छ
र
बक बकाउँ छ।
जब भक्तजनले मूर्तिमा धेरै भेटी चढाउँछन्
मूर्ति सुन्न थाल्छ ,देख्न थाल्छ अनि विस्तारै बोल्छ
र भन्छ
ओम्नी
यती
वाइडबडी
सेक्युरिटी प्रेस
३३ किलो सुन
यस्तै यस्तै...
मूर्तिको आवाज बुझ्नेहरू
बालुवाटारमा आराधना गरि रहेका छन्।
मूर्तिको आफ्नै सत्ता छ
जुन सत्ता निर्मलाको होइन
मैना सुनारको पनि होइन
सेती दमाइको पनि होइन
रामबिलासको पनि होइन
यो त केबल मूर्तिको हो
किनकी
मूर्तिको पूजारी
बलात्कारी हो
किसान मारा हो
दलाल हो
अपहरणकारी हो
मूर्ति जस्तो भए पनि भक्तजनको कमी छैन
होलीवाइन चढाएकै छन्
माला लागाएकै छन्
भजनकृतन गाइ रहेकै छन्
मूर्ति पूजा गर्नेको ओइरो छ
पाप कटाउन पूजा गर्नु छ
पूजा नगरे पापले मर्नु छ
त्यसैले
पापी, धूर्त, दुष्ट, दूराचारी, बलात्कारी
मूर्तिको वरिपरि पूजामा तल्लिन छन्
सत्ताको मूर्तिलाई भन्नु छ
सत्ता मूर्तिको मात्र हुँदैन
सत्ता गरिबको पनि हुन्छ
सत्ता धनीको पनि हुन्छ
सत्ता व्यापारीको पनि हुन्छ
सत्ता भ्रष्टाचारीको पनि हुन्छ
सत्ता सदाचारीको पनि हुन्छ
सत्ता दलालको पनि हुन्छ
र
सत्ता श्रमजीवी जनताको पनि हुन्छ
मूर्तिको सत्तालाई धावा बोल्दै
रातो कफन बाँधेर
एकहातको मुठ्ठी कस्दै
केही थान खाली खुट्टा
केही थान खाली घर
केही थान खाली पेट
केही थान खाली गोजी
जम्मा परेर
हिर्काउनु छ ठूलो घन
मूर्तिको टाउकोमा
पार्नु छ टुक्राटुक्रा र
हटाउनु छ सधैंका लागि मूर्ति
देखाउनु छ, मूर्तिको सुस्तिगान आउने
हरिलठ्क्क झोलेलाई के हो राज्य र सत्ता ?
सुनाउनु छ,कर छलेर गदगद हुने व्यापारीलाई
के हो कानुन?
ठेगान लगाउनु छ ठेक्काको पैसा कुम्ल्याउने ठेकेदारलाई
पढाउनु छ शिक्षाको व्यापार गर्ने माफियालाई
मास्नु छ चेलीबेटी बलात्कार गर्नेहरूलाई
भत्काउनु छ भ्रष्टाचारको जालोलाई
उठाउनु छ निमुखा,गरिब ,उत्पीडित,मजदूर र
महिलाका मागहरू
बुलन्द गर्नुछ न्यायका आवाजहरू
अनि
बनाउनु छ सुन्दर–सुन्दर जनताको सत्ता ।