कविता
साँच्चै
मेरो सरकार के भयो, के भयो?
न कम्युनिस्ट भयो?
न सोसलिस्ट भयो?
न रक्षक भयो?
न शिक्षक भयो?
न खेलाडी भयो?
न त अभिभावक नै भयो?
वक्तव्यमा रुष्ट भयो
कर्तव्यमा भ्रष्ट भयो
खै के भनौं
मेरो सरकार के भयो, के भयो?
गम्भीर भएर मन मनै सोच्छु
मनन् पनि गर्छु
र आफैंले आफैंलाई भन्छु
कतै
अभिभावकत्वबाट भागेको स्पष्ट भयो
घाममा भोट हालेर बनाएको घाम जस्तै
आफ्ना नै नभन्ने हतौडा जस्तै
नचलाए सम्म नचल्ने कलम जस्तै
औंसीको जुन झैं प्रष्ट भयो
मेरो सरकार के भयो, के भयो?
तिमी कुर्सी जोगाऊ
देश त आफैं जोगिन्छ
जनता नै एक जुट हुनुपर्छ
एक वित्ता माटो मिचिँदा
भाइ भाइ लड्ने टुट्ने देशमा
कैयौं सीमाना मिच्दा छिमेकीले
मेरो सरकार टुलुटुल हेरी बस्ने भयो
न रक्षक भयो
न त कम्युनिस्ट भयो
मेरो सरकार के भयो भयो
देशव्यापी महामारी छ
सरकारमा गुटबन्दी भारी छ
श्रमजीवी बिचल्ली भइरहेछ
सरकार त्यसैमा रमाइरहेछ
समाधानको त कुरै छाडौं
परीक्षण वर्षै नसकिने गरी घाम झैं डाँडा पारि छ
मानौं विश्वको कुनै प्रसिद्ध खेलमा
भाग लिई गोल्ड मेडल नै लेराउने झै
दिन रात सत्ता, कुर्सीको खेलमा
थपडी मारिरहेछ
निरन्तर लडिरहेछ
सेवा सुविधा पाकै छन् मात्र
जनता, सर्वसाधारणमा दु:ख भयो
मेरो सरकार न त खेलाडी भयो?
समानताका कुरा गर्दै हिँड्ने
आफ्नाका कुरा आए पछि हट्ने
काम गरेझै गरेर कैयौं लुट्ने
पावरवाला न्याय बाट छुट्ने
सधैं हामी जनताका भए मन टुट्ने
आफ्ना, पहुँचवालालाई छैन
दिन दु:खी लाई मात्र लाग्छ कानुन
कानुन पनि काँ नुन भनेझैं भयो
न असल शिक्षक भयो
मेरो सरकार के भयो के भयो?
न कम्युनिस्ट भयो?
न सोसलिस्ट भयो?
राजनीति या त लाजनीति
न नीति, नियम छ
न समानता छ
न त खुलेरै बोल्न पाइन्छ
सकिन्छ
मात्र जता ततै भ्रष्टाचार छ
के भनौं अब म लोकतन्त्र या त लुटतन्त्र
लाग्यो दुवै भयो
मेरो सरकार के भयो के भयो?
न कम्युनिस्ट भयो?
न सोसलिस्ट भयो?
न रक्षक भयो
न त अभिभावक नै भयो?
वक्तव्यमा रुष्ट भयो
कर्तव्यमा मात्र भ्रष्ट भयो...!!!
मेरो सरकार के भयो, भयो?
– जीवन पाण्डे