कहिले भारी मन र हलुको झोला बोकेर
कहिले भारी झोला र हलुको मन बोकेर
पुरानो कालो कोट लगाएर, पुरानो कालो झोला बोकेर
म सफा, सेतो, स्वच्छ नयाँ न्याय खोज्नका लागि
निरन्तर अदालत गएको छु,
अचेल म वकिल भएको छु।
कहिले नयाँ कानूनको पुरानो किताब बोकेर
कहिले पुराना कानूनको नयाँ किताब बोकेर
कहिले मनमा भाव बोकेर
कहिले मनमा अभाव बोकेर
न्यायका खातिर
पटक पटक अदालत गएको छु
अचेल म वकिल भएको छु।
कहिले मुद्दा जितेर आफू हारेर आएको छु
कहिले आफूले जितेर मुद्दा हारेर आएको छु
कहिले आफ्नै विरूद्धमा बहस गरेर आएको छु
कहिले न्यायसँगै आफ्नै मन मारेर आएको छु
कहिले गह्रौं पाइला टेकेर हलुको झोला बोकेर फर्केको छु
कहिले गह्रौं झोला बोकेर हुलुका मनले फर्केको छु
अचेल म वकिल भएको छु।
कहिले सन्तोषको सास लिएर फर्केको छु
कहिले आश्वासनको बैशाखी टेकेर फर्केको छु
ताली पाउने काम गरे पनि ताली खान मिल्दैन अदालतमा
गाली पाउने काम नगरे पनि गाली छोड्नै मिल्दैन अदालतमा
त्यसैले कहिलेकाँही खाजा खान भ्याइँदैन
अरूको गल्तीमा अघाउँजी गाली खाएर फर्किएको छु
म अचेल वकिल भएको छु।
कहिले काँही बलियासँग जोरी खोज्न पाएको छु
कहिले निर्धालाई फूइँ लाउन पनि पाएको छु
नियति न हो
कहिले अरूबाट किचिएको छु
कहिले अरूलाई किचेको छु
कहिले नजाने पनि जानेको अभिनय गरेको छु
कहिले जाने पनि नजानेको भाव पोखेको छु
कहिले नमिलेका मैला दाँच ङिच्च देखाएर
पुरानो कालो कोटभित्र अज्ञानताको लाज छोपेको छु
अचेल म वकिल भएको छु ।
कहिले तथ्य कम र तर्क बढी राखेको छु
कहिले तर्क कम र तथ्य बढी राखेको छु
कहिले मिसिल कम र मन बढी राखेको छु
कहिले मन कम र मिसिल बढी राखेको छु
कहिले कागज अक्षरसः पढेको छु
विकल्प सकिएपछि कहिले सिद्धान्तको सगरमाथा चढेको छु
साँच्चै भन्नुहुन्छ भने,
म मिसिल कम र मन बढी पोख्दा खुशी भएको छु
मन कम र मिसिल बढी पोख्दा बेखुशी भएको छु
खै किन हो कुन्नी मन पोख्ने सीप पढाउँदैनन् कलेजमा
खाली मिसिल पोख्ने परम्परागत सुत्र पढाउँछन्
मलाई त न्याय अंकगणित जस्तो सोझो लाग्दैन
विजगणितको सहज सूत्रजस्तो पनि लाग्दैन
ज्यामितीको जस्तो सरल रेखामा पनि हिँड्दो रहेनछ न्याय
प्रत्येक मुद्दामा फरक फरक अनुहार देख्छु म
प्रत्येक मुद्दामा फरक फरक अक्षर देख्छु म
अक्षरहरू तिनै हुन् तर अर्थ फरक फरक देखिँदो रहेछ
प्रमाणहरू तिनै हुन् तर न्याय अल्मलिँदो रहेछ
त्यस्तै प्रमाणमा कहिले एउटाले जित्छ
त्यस्तै प्रमाणमा कहिले अर्कोले जित्छ
त्यसैले अक्षर र भाव जोडेर मनमौजी प्रकट भएको छु
ब्रम्हलाई सोधेर प्रमाणको विवेचना गरेको छु
मनले भनेको बेला जिद्धी गरेको छु
मनले नभनेको बेला समर्पण पनि गरेको छु
कहिले जित्नु पर्ने हारेको छु
कहिले हार्नु पर्ने जितेको पनि छु
एउटा बुझिनसक्नुको शास्त्र रहेछ यो
स्वतन्त्रताको बेलगाम यात्रामा
ढिलो गरी सौभाग्यले
अचेल म वकिल भएको छु।