कविता
सोह्र सृंगारलाई चटक्क बिर्सेर
रंगहीन सेता वस्त्रमा
आफू लपेटिँदै
बेरंग जीवनमा रंग भर्नेहरू
दुखेको हाँसोमा चित्त बुझाउँदै
आफ्ना खुसी र रहरहरूको
बलिदान गर्नेहरू।।
देवी भन्छौ या जगत कल्याणी
के नाम दिन्छौ
बुद्ध जस्तै शान्त हिमाल जस्तै हाँस्दै
सेतो पहिरनमा धरतीमा झरेका
मातृस्नेहले भरिपूर्ण हातले
सेवा दिने
खास मनहरूलाई।।
कैयौं वेदनाका बोझहरूलाई
कतै थाती राखेर
पोलिरहेका हृदयहरूमा
कृष्णाको कलकल शितल जलजस्तै
शितलताको आभास दिलाउनेहरू
चहराइरहेका घाउहरूमा मल्हम लगाउनेहरू
रोग र शोकबाट बैरागिएका गह्रुंगा मनहरूलाई
आफैं धमिलिएर सग्लो बनाउन लाग्नेहरू।।
कैयौं तिता पिरा र तिखा वाण जस्तै
वाणीहरूको जवाफ
मुस्कुराउँदै दिनेहरू
आफू जलेर प्रकाश दिनेहरू
आश रित्तिएको बेला साहस दिने
आँसुलाई लुकाएर
हाँस्न सिकाउनेहरू
नजिकिँदै गरेको अन्त्यमा पनि
धैर्य हुन र
जीवनको यथार्थ स्वीकार्न सिकाउनेहरू ।।
संसार मस्त निदाइरहँदा
भोक प्यास थकान र विश्राम भुलाएर
सेवामा अहोरात्र खटिनेहरू
दु:ख सुख जीवन र मृत्युलाई
नजिकबाट नियाल्नेहरू
यस्तै विषम परिस्थितिमा पनि
स्थिर हुन सिकाउनेहरू ।।
आफ्ना सारा पीडा भुलाइ
अरूका दु:खका कथा सुन्दै
रोगमुक्त बनाउन लाग्नेहरू
कतै जीवन र मृत्युको दोसाँधमा
लड्दै गरेकाहरूलाई
मृत्युको मुखबाट बचाउनेहरू
कतै जीवनको रंगीन फूल फुलाउनेहरू।।
यसै धरामा बेला बखत आउने
महामारीहरू
बस्तीका बस्ती ध्वस्त पार्ने
मानव निर्मित जगन्य घाउहरू
जस्तै अप्ठ्यारा हरू सँग पनि
जुध्दै अग्रपंक्तिमा खट्नेहरू
आफूलाई मृत्युको मुखैनेर राखेर
अरूलाई जीवन दिनेहरू ।।
रंगहीन श्वेत बस्त्रमा
आफू लपेटिँदै
बेरंग जीवनमा रंग भर्नेहरू
आफू जलेर अरूलाई प्रकाश दिनेहरू
आफू दुखेर अरूलाई हसाउनेहरू
संसारका सबै नर्स हरूलाई
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको शुभकामना।।।