ए मान्छे!
सोच्थिस्
मभन्दा शक्तिशाली कोही छैन
मैले जे गरे पनि हुन्छ।
त्यही घमण्डमा तैँले
प्रकृतिलाई जित्न खोजिस्
आकाश कब्जा गरिस्
अन्तरिक्षमा हक जमाइस्
विज्ञानको धाक लगाइस्
मृत्युलाई जित्न खोजिस्
शक्तिले उन्मत्त बन्दै
सारा संसारलाई
औंलाको ईशारामा नचाउन खोजिस्
तर, हेर त!
कति फोहोर रहेछ तेरो त्यही औंला
जसलाई धोईरहेछस् आज पटक-पटक।
कठै! तेरो विवशता
आँखाले देख्न नसक्ने
एउटा सानो विषाणुले
आज तलाई खेदिरहेछ
निरिह छ तेरो नासा
लाचार छ तैँले बनाएको परमाणु बम
ओइलाएको छ ट्रम्पको चुरीफुरी
सातो फर्किएको छैन सीको
छटपटाइ रहेछन् मोदी।
तँ मान्छे!
ढोका थुनेर आफैले
आफ्नै घरभित्र कैद भएको छस्
आफ्नै आँगनमा तलाई अनुमति छैन
एक पटक चियाएर त हेर् आँगनबाट
मात्र तँ कैद भएको छस्
फुक्काफाल छन् अरु सबै
उन्मुक्त पंख लगाइरहेछन् चराहरू
मुस्कुराइ रहेछन्, खिलखिलाइ रहेछन फूलहरू
कलकलाइ रहेछन् झरना,सल्बलाइ रहेछन् नदीहरू
शान्तिको सास फेरिरहेछन् सागरहरू
निलिमा छरिरहेछ आकाश
जहाँ, सूर्य, चन्द्र र ताराहरू
बेरोक चम्किरहेछन्
न धुलो, न धुँवा,न कुनै प्रदुषण
तेरो अनुपस्थितिमा
स्वच्छ छ धर्ती
स्वच्छन्द छन् प्राणीहरू
पल्लवित छन् वनस्पतिहरू
मात्र तँ कैदमा छस्।
संसार कब्जा गर्छु भन्ने ए मान्छे!
तँभन्दा शक्तिशाली त त्यो भाइरस रहेछ
जसले
तेरो घमण्ड चुर-चुर पारिदिएको छ
कोरोनाको रुपमा उसले
विश्व हल्लाइरहेको छ
तेरो सातो लिइरहेको छ।
के घमण्ड गर्छस् ए नाथे मान्छे!
जाबो एउटा भाइरसले
लाशको पहाडमाथि ताण्डव गरिरहँदा
निरिह भएको छस् तँ
लाचार छ तेरो औषधि विज्ञान
तंग्रिइस् भने यो कहरबाट
के सिक्लास् त पाठ?
अनि, निक्लेलास् त बाहिर
आफैंभित्रको अहंकारको भूमरीबाट?