कविता
घाम झुल्किएको छैन
औंसीको रात उष्णताको प्रकोपबीच
एक बहादुर
कालो भादगाउँले टोपीमा
आफ्नो ईमान बचाउँदै
हिँडिरहेछ, सोध्दै 'साबजी, नेपाल जाने बाटो किदर है?'
र आफ्नै अगाडि उभिएको -बहादुरलाई
एकटक हेरिरहन्छ्न्- उसैले टल्काएका सेठका बुटहरू
जसले गरिरहेछन् क्षितिज पारिसम्मको इसारा
मानौं बहादुरले बाटो होइन विद्रोह खोजेको हो
तर पनि हिँडिरहेछ
बहादुर इसारालाई अनुवाद गरेर
ऊ हिँडिरहेछ
कालान्तर, स्वैच्छिक अनुवाद गरेर
सायद त्यसैले आजसम्म
उसले भेटेको छ केवल इसाराहरू
जो कहिल्यै सहारा बन्न सकेनन्
लामो दुरी तरेपछि
बहादुर कालो पहाड पुगेको छ
जहाँदेखि परपरसम्म कोही बहादुरले माजो लामो गरी चंगा उडाएका छैन
अनि कोही बहादुरले डाँडोबाट चिच्च्याएको सुनिएको छैन
सुनिएको छ त केबल बहादुरका टोपी, लिलाम गर्ने भुस्तिग्रेको 'गोली मार्दुंगा' वाला जबानी
सुँघिएको छ त केबल बिँडी र मिचिएको सुर्ति
जसले बर्सेनि बहादुरको टोपीसंगै बहादुरलाई लिलामीमा सुताइरहेको छ
र बढाई रहेछ आफ्नो अजंगको शरीर
बिडम्बना आजसम्म अबोधगम्य बहादुरले
बुझ्न सकेन दुष्टचरित्र
ऊ नतमस्तक चेतनामा कम्पन ल्याउन सकेन
बैरी खेली रह्यो डन्डीबियो, एरी-दोरी गर्दै हजारौं हडपी लियो
बहादुर गाइरह्यो बिरह गीत 'नेपाल जानू थियो'!
(साकार शर्मा, एसओएस हर्मन माइनर विद्यालय, सानोठिमीमा कक्षा १२ मा अध्ययनरत छन्।)