कविता
धेरै भयो तिम्रो मेरो आऊ देशको कुरा गरौं !
नयाँ नेपाल बनाउने खाका अब पूरा गरौं !!
स्वाभिमानको सग्लो आकार,मौका यही हो बनाउन !
स्वाबलम्बी बन्ने बाटो, मौका यही हो समाउन !!
ठोक घन फलाममाथि,तातेको छ तावा अहिले !
बनाऊ पर्खाल सीमानाको,नछिरोस् हावा कहिले!!
देशको आँत भर्नेगरी लक्ष्य हाम्रो साझा बनोस् !
गाउन गीत एकताको, एकताकै बाजा बनोस् !!
खोज्यौ भने गल्ती यहाँ भेटिएलान् हजार हाम्रो !
बिर्सिएर तीतो विगत, रोजौं न है काम राम्रो !!
प्वाल पार्न खोज्छ छिमेक कमलोमा कोट्याएर !
फाटो पार्न खोज्छ छिमेक हाम्रो सीमा छोट्याएर!!
यहीँ छन् आँगन पुर्ने, मझेरीको माटो खनी !
यहीँ छन् भाँजो हाल्ने, दुस्मनको साटो पनि !!
बनाउनुछ अटल सान, विश्व मान चित्र भित्र !
जगाउनुछ असल मान, देश-भूगोल वृत भित्र !!
बन 'नायक' समयको, परीक्षाको घडी हो यो !
उठाऊ आँट स्वाभिमानको वारपारको कडी हो यो !!