प्रेमिल जोडीको विछोड प्रति लेखकको अधैर्य मनले समीरलाई भेट्टायो। लेखक अर्धचेतमा हुँदा समीरले आफ्नो कथा त सुनायो, हुनसक्छ सुहानाको यादमा टोलाएको समीर भीरबाट लड्न पुग्यो, अर्थात् सुहानाको याद नै उनको प्रेमीको हत्यारा बन्न पुग्यो।
दोषी समीर कि सुहाना? त्यो भीर कि त्यो समय?
ईन्जिनियर उज्वलद्वारा लिखित कथा समीरे भीर पढेँ। कस्तो अचम्म अनि संयोग, कथामा उही सुहाना थिई जोसँग प्रोफेशनल कामको सिलसिलामा भेट्ने र नजिक बन्ने अवसर मिलेको थियो। कथा पढिसकेपछि विगतको याद झल्झल्ती प्रस्फुटन हुन थाल्यो।
समीर भीरबाट खसेको चार वर्षपछि रिम्ना दोभानमा भेटिएको थियो। यो उसैको कथा हो।
विसं २०७६ साल...
रुकुम पश्चिम पुगेको धेरै भएको थिएन। एउटा एनजिओको पोषण सम्बधि कार्यक्रममा काठमाडौंबाट खटाइएको थिएँ। कार्यक्षेत्र र संस्थाको प्रकृति उस्तै हुँदा सरकारी कार्यालयका भन्दा एनजिओकर्मी साथीहरुसँग चाडो सम्बन्ध विस्तार र हिमचिम हुन थाल्यो।
यद्यपी स्वास्थ्यसँग प्रत्यक्षरुपमा सम्बन्धित भएकोले एक सरकारी सेविकासँग भने पृथक आत्मीयता कायम भएको थियो। जिल्लास्तरीय तालिममा उनको र मेरो पहिलो भेट भएको थियो। उनी अर्थात् सुहाना।
परिचयको क्रममा रुकुम आउनुको कारण खुलाएकी थिई। 'विकट गाउँमा जनताको सेवा गर्नु।'
उनलाई अरुभन्दा फरक देखाउने दुई कुरा थिए- छरितो शरीरबाट निस्किएको त्यो बोल्ड आवाज र बायाँ हातको नाडीमा दुवै शीरतर्फ सिंह अंकित 'एस' लेखिएको ट्याटू।
आफ्नै नामको एस र त्यसको दुवैतर्फको शीरमा आफ्नो निडर चरित्र दर्शाउने चित्र भन्ने ठानेर त्यो ट्याटूको संकेत बारे खासै कौतुहलता जागेन।
'आफू र आफ्नो साहसलाई धेरै माया गर्नुहुँदो रहेछ, कति सरल र अर्थपूर्ण ट्याटू' मैले प्रतिक्रिया जनाएँ।
अरु केही नबोली हजुर भनेर हाँस्दै स्वीकारोक्ति प्रकट गरी।
सुहाना जिल्ला स्वास्थ्य कार्यालय रुकुमकी नयाँ डाक्टर थिई। म अक्सर सम्बोधनमा डाक्टर साब लगाएर बोल्ने गर्थेँ। पाँच दिनको तालिममा राम्रै सामिप्यता कायम भएको थियो।
उसले मलाई डाक्टर साब भन्न प्रतिबन्ध नै लगाई। त्यसपछि सम्बोधनमा नामको पछाडि जी-जी लाग्न थाल्यो। विकल्प जी- सुहाना जी।
वास्तविक नाम परिचयात्मक कार्यक्रममा भनेको भएतापनि आफूलाई विकल्प भनेर चिनाएको थिएँ। उक्त नाममा विशेष रुचि हुनुको कारण पछि बताउने सर्त थियो।
सुहाना र म रुकुमका लागि उत्तिकै नयाँ थियौँ। जाजरकोट घर भएपनि उनका लागि रुकुम पहिलो पटक थियो। उ एमबिबिएस सकाएर नेपाल सरकारको अनिवार्य सेवा अन्तर्गत रुकुम आएकी थिई भने म छ महिने एउटा प्रोजेक्टको काममा।
सल्लेमा रहेको जिल्ला स्वास्थ्य कार्यलयसँग सहकार्य गर्नुपर्ने भएकोले हाम्रो एनजिओको अफिस सोही कार्यलयकै एउटा कोठामा थियो।
हामी चिया नास्ताका साथी बन्न थाल्यौं। हाम्रो हाँसी मजाक र हेलमेल अफिसका स्टाफहरुका लागि गफको मेलो भएको थियो। डाक्टर भएकोले गर्दा पनि होला, उनको अगाडि खासै नबोल्नेहरु मलाई भने प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जिज्ञासा राखेर हैरान पार्थे।
यस्तो लाग्थ्यो कि सम्बन्धको सम्पूर्ण सफाई दिने जिम्मा मेरो मात्र थियो।
त्यस्तै असारको महिना हुनुपर्छ, मेरो फिल्ड जानुपर्ने काम पर्यो, आठबिसकोट नगरपालिका। नाम मात्रको नगरपालिका, ठाउँ भने दुर्गम रहेछ। कुनै राजनैतिक पहुँच वा जन रहरले विकासमा छलाङ मार्ने आकंक्षा स्वरुप नगरपालिका कायम गर्न हतार गरिएजस्तो देखिन्थ्यो।
पहिरोको कारणले रुकुम सदरमुकामबाट सल्ले भएर जाने बाटोमा वर्षामास गाडी नचल्ने कुरा थाहा पाएँ। थप जानकारी र सुझावका लागि फिल्ड स्टाफ मोहनलाई फोन गरेँ। उसले भेरी तरेर जाजरकोट हुँदै आउन सुझायो।
'गाडी चल्छ भने किन हिड्दै आउनुहुन्छ सर? मैले बताएको बाटो हुँदै आउनुस न। सुन्दर रिम्ना दोभानमा दुई भेरीको संगम पनि देख्न पाउनु हुनेछ।'
यात्रा भोलिपल्टको लागि तय भएको थियो। बेलुकी खाना खाने होटलमा भेट हुँदा सहकर्मी मिलन सरले सोध्नु भयो 'दिनेश सर एक्लै जाने हो?'
'हो सर, कि तपाई पनि जाने हो त?' मैले आग्रह सहित प्रतिप्रश्न गरेँ।
उहाँले हेड अफिसबाट फोन आउन सक्छ, दुवै जनाले सदरमुकाम नछाड्नु राम्रो हुने बताउनु भयो। मैले सहमति जनाएँ।
सरले पछि थप्नु भयो 'डाक्टर सुहाना पनि आफ्नो फिल्डतिरै हुनुहुन्छ रे नि!'
सुहाना फिल्ड गएको कुरा पहिलै थाहा थियो, त्यसैले भोलिको मेरो यात्रा उनको फिल्ड हुँदै अगाडि बढ्ने भएकोले बेग्लै उमंग भरिएको थियो। तर मैले जानकारी नभए झैँ प्रतिक्रिया दिएँ- 'खै सर सम्पर्क नभएको २/४ दिन भयो, केही थाहा छैन मलाई।'
सरले जिस्क्याउदै भन्नुभयो, 'यसरी संगत त छाड्नु भएन नि दिनेश सर तैमाथि हजुर त उहाँको खास मान्छे।'
सरको कुराले अलि असहज महशुस भएपनि बाहिर सामान्य तवरले हाँस्दै कुरा अन्तै मोडिदिएँ।
बिहानको ७ नबज्दै गुड्ने तयारीमा रहेको बोलेरो अफिसका केही सामान सहित मानिसहरुको भीडले खाचाखच भरिएको थियो।
सुहाना सिम्ली स्वाथ्य चौकिमा थिई। मैले उनलाई फोन गरेँ।
'म त्यतै आउदैछु, आठबिसकोट जानु पर्छ है डाक्टर साब!'
'यो डाक्टर साब नलाउ है मलाई' केही रिसाउदै भनि।
'आज साथी सुहानालाई हैन, डाक्टर सुहानालाई भनेको हो। अफिसको फिल्ड छ। हिड्नुस् न, घुम्न नि पाइने अनि हजुरजस्तो राष्ट्रसेवकलाई दुर्गम भेगका जनताको स्वास्थ्य स्थिति बारे केही सिक्ने मौका नि हुने!'
'मेरो भ्रमण आदेश सकियो, म सल्ले फर्कछु' उसले मानिन।
'हवस्! अहिले भेटेरै कुरा गरौंला' मैले फोन राखिदिएँ।
एक घण्टापछि बाटोसँगै जोडिएको सिम्ली स्वाथ्य चौकी पुगियो। एकैछिन गाडी रोक्न आग्रह गरि स्वास्थ्य चौकी छिरेर उनलाई फिल्ड जानको लागि कर गरेँ।
मैले धेरै ढिपी गरेपछि जिल्लामा फोन हानी, तर सम्पर्क हुन सकेन। अन्तत मेरो कर सहितको प्रस्तावलाई नकार्न नसकी गाडी चढी।
आफ्नो कारणले केहीबेर गाडी रोक्नु परेकोमा यात्रु र ड्राइभर समक्ष क्षमायाचना गरेँ।
उनको लागि एक जना दाइले अगाडिको सिट छाडिदिए। महिला त्यसमाथि डाक्टर भएकोले गर्दा पनि उनलाई बेग्लै आदर मिलेको थियो। बाटोभरी माओवादी द्वन्दसँग जोडिएका जर्जर कथा उ सुनाउन खोज्थी, अन्य यात्रुले चाख राख्दै त्यसलाई पुरा गरिदिन्थे। रुकुम र जाजरकोटका जनताले भोग्नु परेका कतिपय दु:ख पीडाहरु आँखै रसाउने खालका थिए।
सानोभेरीको तिरै-तिर चौरजहारीसम्मको लागि गुडेको गाडी रिम्ना दोभान पुगेर रोकिएको थियो। हाम्रो यात्रा यहीँसम्मको भएकोले कुनै समस्या त थिएन तर बाटोको खराबीले गर्दा त्योभन्दा अगाडि गाडी जान नसकेर अन्य यात्रुहरु अलपत्र परेका थिए। कतिपय हिडेरै जान तम्तयार देखिन्थे।
दुई भेरीको संगम रिम्ना दोभान...।
हल्का कुहिरो लागेको थियो। त्यसमाथि रिमझिम वर्षातको सुरुआतले बेग्लै सत्कार थपेको थियो। हल्का चिसो-चिसो, मौसम सारै रमाइलो थियो।
सुहाना हातमा छाता बोकेर पुलतर्फ लागि। सुरुमा रुकुमबाट झोलुंगे पुल तरी जाजरकोट पुग्नु पर्ने, त्यसपछि फेरि ठूलो भेरीको पुल तरी रुकुमनै पुग्नु पर्दो रहेछ।
बाटो बन्दै गरेकाले रिम्ना दोभानको पुल तरेर समथर फाँट हुदै ठूलो भेरी कटेपछि, दोभानबाट करिब ३ किलोमिटर जति टाढा बल्ल आठबिसकोट जाने गाडी लाग्दो रहेछ। अफिसका सामानहरु अलि धेरै नै भएकाले त्यहाँ उपलब्ध भरियाको सहारा लिई ओसार्नु परेको थियो।
सुहाना पुलमाथि उभिएर उर्लदो भेलसँगै दुई भेरी एक अर्कामा विलय भएको दृश्य एकतमासले हेरिरहेकी थिई।
'आज गाडी जादैन रे सर' पहिलो लटको सामान गाडी चल्ने ठाउँसम्म पुर्याएर फर्केको भरिया भाइले भन्यो।
'तिमी यी सामानहरु पर पुर्याएर सुरक्षित राखी देउ। सर भोलि जानु हुन्छ, म चैं अब सल्ले फर्कन्छु।',
दोभानको दृश्य नियाल्दै हाम्रो कुरा सुनिरहेकी सुहानाले तत्काल प्रतिक्रिया जनाई।
'फर्कने! किन नि?'
'मलाई बिसन्चो भए जस्तो भयो, म फर्कन्छु।'
मैले अघिसम्म त ठिकै थियो त भनेँ।
'अहिले बिरामी भए त के गर्ने?' अलि झर्किदै बोली।
'आइएम सरि! किन रिसाउनु भा?' मैले गल्ति गरेझैँ मुस्कुराउदै नम्रता प्रस्तुत गरेँ।
'के हो बोल्ने तरिका? घरि तिमी, घरी तपाई मलाई मन पर्दैन यस्तो।'
उसले पहिला पनि एक दिन यसै भनेर मलाई तिमी मात्र भन्ने छुट दिएकी थिई। प्रोफेसनल सम्बन्धमा अरुलाई शंका गर्ने ठाउँ नहोस् भन्ने ठानेर पनि म फेसबुकमा बाहेक अरुबेला सकभर तपाई नै भन्ने गर्थें।
'उसो भए चिया खाएर जाउ, गाडी पनि अहिले नै फर्कन्न क्यारे!' मैले भनेँ।
त्यसपछि हामी दुबै बीचको मौनता चियाको बाफले मात्र तोड्यो।
'सरी! विकल्प जी।'
'किन नि?'
'म रुड भएँ त्यसैले'
'इट्स ओके। तर मलाई त त्यस्तो लागेन' मुस्कुराउदै भनेँ।
'म अब फर्कन्छु। तपाई राम्रोसँग जानुस् है, शुभ यात्रा।'
'म चैं तपाई? तपाई चैं तिमी?'
उ केही बोलिन।
'हवस् धन्यवाद! डाक्टर साबहरु यस्तो अफ्ठ्यारो बाटो जानु पनि हुन्न।' मैले व्यंग्य तेर्स्याएँ।
'जे पो सोच्नुस्!'
उसले खासै महत्व दिइन।
पैसा तिर्न पनि उ नै हतारिई।
उनको हतारोपनलाई म चुपचाप नियाली रहेको थिएँ।
पैसा तिर्न निकालेको कालो लेड़िज पर्सको बाहिर पट्टिको पारदर्शी प्लास्टिक भित्र कलिलो युवकको फोटो सजाइएको थियो।
जिस्क्याँउदै सोधेँ 'उम! फोटो चाहिँ... बबालै छ है। अस्ति-अस्ति तिर त देखेको थिइनँ त?'
उसले उत्तर फर्काइन, बोल्नु नपरोस् भन्ने भाव झल्कियो।
शंकास्पद जिज्ञासाको प्रतिकार गर्न रुचि नराखेकोले गर्दा पनि मेरो शंका यथार्थपरक रहेको भान भयो।
उ निशब्द, मौन र केही निराश मुद्रामा थिई। उनमा अकस्मात आएको परिवर्तनको कारण मेरो सामान्य प्रश्न भित्र लुकेको रहस्य हुनुपर्ने अनुमान गरेको थिएँ।
उनको असहजतालाई बुझ्दै उनलाई पुन: सल्ले फर्काउनको लागि बोलेरो चल्ने ठाउँसम्म पुग्यौं।
गाडीको स्टाफले भन्यो 'सर, सल्ले फर्कने मान्छे भएनन् भोलि मात्र जाने भयौँ।'
'रिजर्भ हिड्नुस् म जान्छु' मानौँ उनलाई सल्ले आजै नपुगी नहुने छ झैँ गरेर भनि।
'सरि मिस, गुरुले गाडी पखाल्न तल भेरी पुर्याई सक्नु भयो। अब भोलि बिहानै जाउँला, गाडी बनाउनु पनि छ।'
परिस्थितिले उसलाई बस्नै पर्ने बाध्यता सृजना गर्यो, मन खुसी भो।
'देख्नु भो डाक्टर साब! हरेक कुरामा आवश्यकताभन्दा बढी पनि रिजिड बन्नु हुदैन। आज त यहीँ बस्नै पर्ने बाध्यता भयो। अब बेलुकी ठन्डा दिमागमा सोच्नुस्, मन फिरेमा मेरो फिल्डसम्म पुगेर पछि सँगै फर्कौँला। नत्र म आठबिसकोट जान्छु हजुर सल्ले फर्कनु।'
'उफ! यो तिम्रो हजुर, हजुरले नि कन्पारो ताती सक्यो! बरु हिड जाउँ पुल तिर।'
ए फेरि पुल तर्फ लागी।
सुत्ने खाने बन्दोबस्त मिलाउन नजिकैको होटेलमा गई बाहिरैबाट कराएँ।
'भरेलाई दुई कोठा, दुई खाना, दुई बियर र दुई माछा है साहुनी।'
त्यसपछि उनलाई पछ्याउँदै म पनि पुल तिर लागेँ।
सायद सुहानाले सुनिन, सुनेकी भए माछा २ हैन ४ भन्ने थिई। उनलाई माछा खुबै मनपर्थ्यो, त्यसमाथी भेरी नदीको अर्गानिक माछा।
पुलमाथि उभिएर मैले सोधेँ 'यो भेरी दुई हो कि एक हो सुहाना?'
'अलिक माथि दुई यहाँ आएसी एक। बुद्धु! त्यत्ति पनि थाहा छैन!'
'माथि नदेख्नेलाई कसरी थाहा हुन्छ दुई मिलेर एक भएको हो भन्ने?' मैले सोधेँ।
'आवाजले थाहा हुन्छ नि।'
'कसरी?'
'एक भित्र दुई बाँचेकाहरुलाई थाह हुन्छ' गम्भीर मुद्रामा भनि।
'अर्थात्?' मैले सोधेँ।
उत्तरको सट्टा आदेश दिइन्, 'हिड पारि जाउँ।'
पारि ठूलो फाँट रहेछ, बस्ने चौतारी र ढुंगाहरु भएको।
पुलपारि पुगेपछि हातले देखाउदै भनि, 'यो चै जाजरकोट, मेरो जिल्ला, मेरो समीरको जिल्ला।'
ठट्टा गर्दै सोधेँ 'ओहो! उही फोटोको समीर?'
'हो, उही समीर। यता काम गर्न आएदेखि नै पर्समा राखेकी थिएँ उसको तस्बिर। सायद अरुबेला ख्याल नगरेर होला, आज पहिलोपटक देख्यौ उसलाई।'
पर्स खोलेर फोटो नियाल्दै भनि,
'मेरो समीर जो म भित्र छ। म भित्रै बग्छ। म भित्रै धड्किन्छ। म भित्रै समाहित छ। हेर्दा एक देखिन्छ भित्र दुई, यो भेरी जस्तै, समीर र म। अरुले मलाई देख्छन्, मैले म भित्रको मेरो समीरलाई देख्छु।'
'वोव! सो नाईस। क्या प्रेमिल भाव। अनि समीर अहिले कहाँ छ त? के गर्दै छ?' मैले फेरि प्रश्न गरेँ।
'थोरै भगवान्सँग छ, धेरै मसँग छ समीर। यो चौतारी मा छ, त्यो पुलमा पनि छ। गजलहरुमा छ, कविताहरुमा छ। यी यो ढुंगाहरुमा छ समीर। सबैभन्दा धेरै मेरो हृदयमा छ समीर।
ढुङ्गामा मधुरो अक्षरले लेखिएको थियो,
‘रिम्ना दोभानमा
दुई ज्यान एक मुटु
समीर- सुहाना!’
त्यसकै नजिकको ढुङ्गामा आँखा पुगे।
'जुनि-जुनि तिम्रै हुने कसम मैले खाएको छु
आत्मैदेखि कति मीठो माया मैले लाएको छु।'
बायाँ हातको नाडी देखाउदै भनि,
'मेरो यो ट्याटूमा छ समीर। वनको सिंह जस्तै मलाई साहस दिलाउछ, आत्मबल बढाउछ, निडर बनाउछ। मलाई कमजोर बन्न दिँदैन। हरदम मेरै साथमा हुन्छ, मेरो रक्षा गरिरहन्छ।'
सुहाना निरन्तर बगिरही भेरी बगे जस्तै गरि।
'स्कूल पढ्दा ट्रयाक्टर चढेर यहाँसम्म आएका थियौँ हामी। यही भेरी संगममा कसम खाएका थियौँ सँगै बाच्ने, सँगै मर्ने। तर सँगै मर्न दिएन समीरले मलाई। एक्लै छाडेर गयो, वाचामा हारेर गयो। मेरोभन्दा भगवान कै प्यारो बन्ने रहर पालेर गयो। चार वर्ष बित्न लाग्यो उसले मलाई छाडेको, यो संसार छाडेको।'
चस्मा भित्र उसका आँखाहरु भरिएका थिए। समय यतिसम्म पनि निर्मम हुन सक्दो रहेछ...
यो भेरी संगमस्थलमा वियोगको कथा सुनिरहेको थिएँ।
'यो सब कसरी भयो?'
पुरानो घाउ बल्झाउने प्रश्न थियो तर पनि नसोधी चुप रहन मनले मानेन।
'एमबिबिएस इन्ट्रान्सको तयारीमा थिएँ। निरन्तर आउने मोडेल परीक्षाले पढाइको तनाब चुलिएको थियो। बुबाको सधैँको कचकच। सम्पर्क एकदम कम भैसकेको थियो। म समीरलाई धेरै मिस गर्थें। सानातिना समस्या पनि उसलाई सुनाउने बानी पेरेको थियो।
समझ्दार र सचेत बनेर समीर मलाई सम्झाउने गर्थ्यो। मेरो याद आयो भने मुटुको ताल सुन्नु है भन्थ्यो। म उसैका कुरा सम्झन्थेँ। उसैको सपना देख्थेँ। हाम्रा साझा रहर र भोलिको भविष्य सम्झेर म दिन रात पढ्थेँ। मैले सेतो कोट लगाएको हेर्ने उसको ठूलो इच्छा थियो। मेरो बाबाको भन्दा बढी।
अन्तिम पटक सम्पर्क हुँदा दशैँमा भेट हुने कुरा भएको थियो। तर समीर त स्वार्थी रहेछ, मलाई जान्छु पनि नभनि गएछ। मैले एप्रोन लगाएको हेर्न पाएन उसले।
म स्वार्थी भएँ भन्ने सोच्यो होला समीरले। तर बाबाले उ र मबीच अझै पनि कुराकानी हुन्छ भन्ने थाहा पाएर मोबाइल खोसेर राख्नु भएको थियो। साथीको मोबाइल मागी रुदैँ उसलाई कल गरेको पनि थाहा पाउनु भएछ।
त्यसपछि त झन म पिँजडाको सुगा जस्तै बन्धनमा बाधिँएकी थिएँ। हरबखत उहाँको प्रत्यक्ष निगरानीमा हुन्थेँ म। तर पनि हिम्मत हारेको थिइनँ। डाक्टर बनी आफू सवल भएर समाजका जातीय र आर्थिक परिबन्धलाई तोड्दै सदा-सदाको लागि उसको हुने मन थियो। विशुद्ध प्रेमको नमुना जोडी बन्ने मन थियो। तर हाम्रो अटुट सम्बन्धमा दैवको आँखा लाग्यो।'
सुहानाका गहभरी आँसु थिए। आफू स्वयम् यति भावुक भएछु कि उनका आँसु पुछ्न बढिसकेका हातलाई उनले रोक्दा म झस्किएँ।
'आफ्नो आँसु आफैँ पुछ्नु पर्छ विकल्प! संसारमा कसैको सहाराले होइन, आफू आफ्नै सहारा भएर बाच्नुपर्छ।'
'अनि..?' म फेरि बोलेछु।
'म कदापी मान्दिन उसले आत्महत्या गर्यो भनेर। उ त बाच्न चाहने मान्छे। केही गर्नुपर्छ भन्ने जोश बोकेको मान्छे। समाज बदल्न्नु पर्छ भनेर क्रान्तिकारी भएको मान्छे। म छुट्टिएर बस्न सक्दिनभन्दा प्रेमको वास्तविक अनुभूतिका लागि पनि छुट्टीनै पर्छ सुहाना भन्ने गर्थ्यो।
मैले डाक्टर बन्न सक्दिन भन्दा तिमीले नसके कसले सक्छ? तिमीले गर्न सक्छौ भनेर हिम्मत बढाउथ्यो। उ पागल प्रेमी थिएन असल प्रेमी थियो। मलाई बाचेर डाक्टर भई अगाडि बढ्न प्रेरित गर्ने मान्छे हो समीर।'
उ त्यही ढुंगा नजिक पुगी।
म समीरलाई भन्ने गर्थें,
'समीर, यो मिलनपछिको भेरीलाई हेर त? आफ्नै पहिचान गुमाएर एक भई कति रमाएका।'
'हामी पनि त्यस्तै त छौँ नि लाटी, तिमी भित्र म छु, म भित्र तिमी।' उसका यस्ता घुमाउरा कुरा म कमै मात्र बुझ्थेँ, तर रमाइलो लाग्थ्यो।
मेरो म्यासेजको रिप्लाइमा,
'सच्चा प्रेमको जित अवश्य हुन्छ सुहाना। हाम्रो मन एक छ, मुटु एक छ, प्रेमको आभाष एक छ। हाम्रो सपना एक छ। हाम्रो मिलन पक्कै हुनेछ।' लेखि पठाएको थियो।
सायद आजकल उ मसँग रिसाएको छ। कविता गजल सुनाउन छाडेको छ।'
सुहाना मेरो नजिक आई, मैले उसको सामु आँखा जुधाउने हिम्मत जुटाउन सकिनँ।
'एक दिन तिमीले झैँ 'ओ डाक्टर साब! भनेर जिस्कदै समीर आउनेछ। समीर मरेको छैन बिकल्प। समीरले सुहाना बिर्सिएको छैन जसरी सुहानाले समीरलाई बिर्सन सक्दिन।
तर उसलाई भेट्न जाने हिम्मत छैन मसँग। समीरे भीर पुगेर प्रश्न सोध्न सकेकी छैन। उसलाई गुमाउनुको पीडामा म कहिल्यै रोएकी छैन। समीर मलाई रुन दिँदैन। आफैँ भित्र धड्किरहेको समीरलाई मृतक ठानी शोकमा म कसरी रुन सक्थेँ?
आज पनि समीर म भित्र समाहित छ। समीरको त्यो दुर्घटना सुनेर सुहाना त उहिल्यै मरिसकी। म आज जति बाचेँकी छु, त्यो समीर बाचिँरहेछु। म भित्र समीर धड्किन्छ। म नै समीर हुँ...।'
त्यहि बोल्ड आवाज, परिचयको दिनमा जस्तै। सुहानाका आँखा हेर्ने साहस जुटाएँ। यी तिनै आँखा थिए जहाँ मृत समीरको जिवित निशानी देखिन्थ्यो।
म केही डराएँ।
उ पहिला जस्तै निडर देखिन्थी तर मेरा आँखाहरु रसाएका थिए। राम्रै भयो, निकै दर्किएको झरीमा नयनहरु रसिएको भेउ पाइन सुहानाले।
हामी होटल फर्कियौँ। सायद समीर पनि सुहानासँगै फर्कियो।
त्यसपछि न सुहानासँग आँखा जुधाउने हिम्मत जुट्यो न त समीरको प्रसंग उठाउने नै।
प्रोजेक्टको अवधि सकिएर फर्किएपछि हात्तीसार क्याम्पस धरानमा फुड टेक्नोलोजी विषयको मास्टर्स कार्यक्रममा भर्ना भएँ। त्यसपछि सुहानासँग कुनै तवरले सम्पर्क भएको थिएन।
समीरे भीर पढिसकेपछि आज उही सुहाना र हृदयविदारक पलहरुको सम्झना भयो। नाम सर्च गरेर उनको फेसबुक प्रोफाइल भित्र छिरेँ।
आजभोलि सुहाना सुदूरपश्चिमका जिल्लाहरुमा कोरोना विरुद्धको लडाईमा दिनरात नभनि खटिरहेकी रहिछ।
केहि दिन अघिमात्र पिपिई लगाई खिचिएको फोटो फेसबुकमा अपलोड गर्दै लेखेकी थिई:
'उपहारको जीन्दगी
फेरिएको दैनिकी
संकटको क्षणमा
प्रियतम सम्झना!'