कविता
प्रिय कमरेड !!
कति निदाउनु हुन्छ- घुम्ने मेचमा ?
थाहा छ कमरेड
भोक शक्तिशाली हुन्छ।
क्रान्तिको मोर्चा
युद्धका ट्रेञ्चमा
संगठनका सेलमा कहिल्यै नदेखिएकाहरू
कहिल्यै नभेटिएकाहरू
आज
तपाईं कै सामुन्ने गाइरहेछन् - क्रान्तिगीत
पढाइरहेछन्- संगठनको सिद्धान्त!!
आज नेता भन्दा पनि,
मन्त्री भन्दा पनि
ऊ शक्तिशाली कसरी हुन सक्छ कमरेड??
जग्गाको व्यवसाय वा ठेक्कापट्टा
व्यापार,उद्योग वा हाइड्रो
बैंक र सहकारी - तिनैको
अनि
कमरेड
पार्टी पनि तिनैले कसरी चलाउँछन् ?
जसको सम्बन्ध न गरिबसँग छ
न किसानसँग साइनो छ कुनै
तर पनि
आकाशे वेलुन सुन्तलाको बोटमाथि झैं
हामीमथि लहरिरहेछ -ऊ!
किन त्यही मान्छे- तपाईंको प्रिय छ ?
संविधान,कानुन र सरकारले छुन नसक्ने
गरिबलाई - कानुन
किसानलाई -बजार
जनतालाई - न्याय पाउन रोक्ने
तपाईंको अङ्गरक्षकले पनि सलामी ठोक्ने
तपाईंको कार्यकर्ता भन्दा पनि -भरपर्दो
मन्त्री र सरकारभन्दा शक्तिशाली
आखिर
को हो-कमरेड त्यो?
क्रान्तिको मोर्चामा
संगठनको सेलमा नदेखिएको-ऊ
कमरेडसँग- जोडिएर
शक्तिशाली भएको - ऐजेरु क्रान्तिकारी
को हो-कमरेड त्यो ?
हामी त सँगै थियौं नि- क्रान्तिको मोर्चामा
सडक आन्दोलनमा
छ न त छ नि!!
संविधान छ-रगतले लेखेको
तर
संविधानले देखेको समाजवादले
कहिले हटाउँछ?
थाप्लोबाट नाम्लो - कमरेड
छन त छ-संविधानमा
लोकतन्त्र
गणतन्त्र
समाजवाद- सबथोक छ।
तर
सूर्य बहादुर तामाङहरू भोकले
नाम्लोसँगै मरेको खबर पनि छ - अखबारमा
भोक सबभन्दा शक्तिशाली हुन्छ- कमरेड
भोक- सत्य हो !
आँखाले देखेभन्दा
गहिरो छ- सत्य !
तर पनि
कमरेड
तपाईं भन्दा पनि शक्तिशाली - त्यो को हो कमरेड!!??