लेखिनेछ इतिहास दासढुंगाको
दास र ढुंगा उस्तै हुन्
दुवैको जीवन हुँदैन
जता लडायो उतै लड्छन्
जता फ्याँक्यो उतै फ्याँकिन्छन्।
किनबेच र दलाली हुन्छ
मालिकको महल निर्माणका लागि।
दुवै आधार हुन्
मालिकको साम्राज्यका
तर दुवै परित्यक्त छन्
थिचिएका छन्
मिचिएका छन्।
एकदिन दास र ढुंगा एक हुनेछन्
चलमलाउने छन्
जगैदेखि चिच्याउनेछन्
उनीहरूको बुलन्द आवाजले
षड्यन्त्रको चिरफार गर्नेछ
उनीहरूलाई साक्षी राखेर गरिएका
मर्ने र मार्नेहरूको इतिहास भन्नेछन्।
अनि खोज्नेछन् हिसाब
उनीहरूमाथि ठडिएका
महलमुनि पुरिएका लाशहरूको
तब लेखिनेछ इतिहास दासढुंगाको।
तब लेखिनेछ सच्चा इतिहास
दास र ढुंगामा जीवन भर्न हिँडेका महामानवहरूको।