तिमीलाई सत्तामा पुर्याउँदा
मेरो बूढीऔंलाको नङमा लागेको ध्वाँसो अझै बाँकी छ शासक
ढाडमा लागेको दरबारको लाठी
वा, घुँडामा लागेको सैनिकको गोलीको दाग त
तिम्रो चस्माको पावरले देख्दैन अचेल
समृद्धिको ढोकामा ताला ठोकेर
चाबीको टुप्पोले काखी कन्याउँदै तिमी कता मस्त छौ?
तिम्रा बेसारे राजनीतिले पिरोल्लिएर
विलासिता र भ्रष्टाचारले म गलेर
हुर्काउँदैछु भोकभोकै
एउटी पिलन्धरे बालक
कमसेकम तिम्रो अत्याचार ढाल्ने एउटा भोट!
एउटा झिल्को आगो!
तिमीले देख्दै नदेखेको अर्को क्रान्ति!
संसारका महँगा औषधि र सेवा
नागरिकको रगतसँग साटेर
दीर्घायु बाँच्ने तिम्रो रहरमा हजारौं नागरिक रोग र भोकले मरे पनि
केही थान त बाँच्लान् अर्को चुनावको बिहानसम्म?
मेरो बूढीऔंलाको नङमा लागेको ध्वाँसो अझै बाँकी छ शासक
यो कालो एउटा उज्यालो
तिम्रो प्रतिगमनविरूद्ध हजारौं मिटर लामो विरोधको झन्डा बराबर हो बुझ!