ताल, जंगल, खेतीपाती, नदीको बीच खुला हावाममा छु
हावा मेरो श्वास हो।
म कल्पनासम्म गर्न सक्दिनँ
यो हावा ठप्प होस्
हावाको महत्त्व त यति धेरै पो त।
नजिकै मेची आफ्नै गतिमा दक्षिण बग्दो छ
सारा खेतीपाती, बोटविरुवा, सिंचित गरेर,
कयौं बटुवा, जीव-जनावरको तिर्खा मेटेर
मान्छेले आँटेका सबै संरचना बनाउन
बेहिसाब ढुङ्गा, गिट्टी र बालुवा दिएर
यो मेची सुकेको कल्पनासम्मले पनि
मलाई छट्पटी सुरु हुन्छ।
यो माटो जो कहिल्यै बोलेन र बोल्दैन
तर सबै बोल्ने कराउनेहरलाई शक्ति दिईरहन्छ
उ पर्खिरहेको छ सायद
कसैले उसको व्यथा बोलिदिन्छ कि भनेर
कृष्णभीरमा, ओलाङचुङगोलामा, बेतेनिमा
माटोले विद्रोह त गरेको होइन?
म यसै भन्न सक्दिनँ।
चराको फोटो खिचेर हिँड्ने देवेन्द्र खरेलले
हिजो पात्लेडाँडामा भनेको सम्झन्छु,
जहाँ चराहरु बस्दैनन्
त्यो ठाउँ हाम्रा लागि बस्न योग्य छैन
यहाँ पचासभन्दा धेरै थरिका चरा बोलिरहेका छन्
मैले नबुझ्नु नितान्त मेरो कमजोरी हो।
यी वरिपरिका बोटविरुवा र झारपातले
कति फोहोर खानेकुरा र पानी खाए?
कोसँग छ हिसाब?
अनि यो पनि त हिसाब छैन
तिनले अक्सिजन, कति दिए ?
फल कति दिए, शक्ति कति दिए ?
बोटविरुवा, झारजंगल, यो माटो,
नदीनाला, जीवजनावर, चराचुरुङ्गी
किराफट्याङ्ग्रा, पुलली, मौरी
सबै सबैबाट थोरै थोरै थोरै
जीवन बटुलेर शक्तिशाली भएको मान्छे।
यी सबको दोहन गरेर
खोला मासेर, धर्ती बंजर पारेर
जीवजनावर सब सिध्याएर
हावा विषाक्त बनाएर
झण्डा बोक्छ, झण्डाकै लागि मर्न उद्दत छ
यो बिर्सिएर कि झण्डाले झारपात बनाउँदैन
बनेको ठूलो हुन्छ कि बनाउने ?
जन्मेको ठूलो हुन्छ कि जन्माउने??