कविता
हो त, राज्य मै हुँ
विधि विधान मेरा वाणी हुन्
अन्तिम सत्य मै बोल्छु
राम्रोको परिभाषा नै म जे गर्छु त्यही हो।
प्रमाण चाहिन्छ ?
मैले म बाहेकलार्इ गनेको छैन
मलार्इ लागेको बाहेक भनेको छैन
मेरा बाहेकलार्इ सुनेको छैन
भरौटेभन्दा अरूलार्इ चुनेको छैन
अब भन्नुस्, म नै राज्य होइन त ?
थप प्रमाण चाहिन्छ ?
न्याय मेरो खल्तीमा छ
सत्य म मात्रैको बोल्तीमा छ
रवाफ, मेरै मात्र चल्तीमा छ
महानता मेरा हरेकजसो गल्तीमा छ
अनि, म नै राज्य होइन त ?
प्रमाण पुगेन ?
संविधान र कानुन भन्ने चिजले मलार्इ छेक्न सक्दैन
लोकलाजले पनि मलार्इ कहिले रोक्दैन
अहंकार, दम्भ, घमण्ड जे भन्नुस्, यीबाहेक केही बोक्दैन
मेरो इसारा बिना मेराले खोक्न पनि खोक्दैन
अनि, म नै राज्य नभएर के हुँ त ?
प्रमाण बाँकी छन्..
अरूको स्वाभिमान मेरा लागि केही होइन
कसैलार्इ सम्मान, मेरो विषय होइन
स्वतन्त्रताले मलार्इ अर्थ राख्ने होइन
मबाहेक जान्ने कसैलार्इ देख्ने होइन
त्यसैले, म भनेकै राज्य होइन ?
हो, राज्य मै हुँ
विधि विधान मेरा वाणी हुन्
अन्तिम सत्य मै बोल्छु
राम्रोको परिभाषा नै म जे गर्छु त्यही हो।