मन्दिरमा रहेको देवतालाई भेटी
माग्नु छ न्यायको बर
बाल्नु छ समानताको दीयो
भाक्नु छ मानवता
जप्नु छ बसुधैव कुटुम्वकम् को मन्त्र
तर ढोकैमा तिमी छौ
र जब उत्पीडन, अत्याचार, अन्याय, असमानता
अनि अमानवताको सिलौटोमा पिल्सिएको
मलाई तिमी चिन्छौ
तब मन्दिरको ढोकैबाट म फर्काइन्छु
अनि घृणित र तिरस्कृत हुन्छु
अब भन जातको कुरा गर्ने तिमी कि म ?
तिमीलाई जस्तै भोक, प्यास, थकान मलाई नि लाग्छ
तिमीलाई जस्तै खुसी र दु:ख मलाई नि लाग्छ
या भनौं अधिकांश मानिसमा हुने गुण ममा पनि हुन्छ
तब म भन्छु मान्छे सबै एउटै हुन्छ
तर तिमी मलाई पृथक बनाउँछौ
र पृथक भएको तर्कलाई प्रमाणित गर्न
समाजको युगौदेखिको अभ्यासको बखान गर्छौ
अब भन जातको कुरा गर्ने तिमी कि म ?
विभेद सहितको धर्म
परिकल्पना गर्ने तिमी
लेख्ने तिमी
अभ्यास गर्ने तिमी
जातलाई अतिरञ्जित गरी व्याख्या गर्ने तिमी
शिक्षण, प्रशिक्षण र अनुशिक्षण गर्ने तिमी
संरक्षण र संवर्द्धन गर्ने तिमी
एउटै धमावलम्बी बीचमा विभेद गर्नुहुन्न भन्ने म
अब भन जातको कुरा गर्ने तिमी कि म ?
सँगै हिँड्छौ, बस्छौ, बोल्छौ
तर खाँदैनौ
मेरो घर आउँछौ
तर तिम्रो घर लादैनौ
अरूको अज्ञानता र मूर्खता पनि स्वीकाछौ
तर मेरो विद्धता मान्दैनौ
तिमी नस्लीयता, पहुँचता, जातीय सर्वोच्चता भएकालाई मात्र मान्छे ठान्छौ
र उसैलाई छान्छौ
तर मेरो सम्भाव्यतालाई छान्दैनौ
अब भन जातको कुरा गर्ने तिमी कि म ?