बेला-बेला
फर्मान जारी भइरहन्छ
र, सरकार छ भन्ने महसुस हुन्छ।
लकडाउनको आदेश दिएर
चार महिनादेखि बेपत्ता थियो सरकार
रोग, भोक, शोक, भय र चिन्ताले
विह्वल गरिबका आँशुको भेलसँगै
बगेजस्तै लापत्ता थियो सरकार
अछामको पहिरोमा पुरिएर
हराएजस्तै अज्ञात थियो सरकार।।
मौनतालाई भङ्ग गर्दै
निषेधाज्ञा जारी भयो
संघार नाघेर, दस नङग्राखियाई
जिन्दगी धान्न प्रतिबन्ध लगाइयो
र, सरकार छ भन्ने विश्वास दिलायो।।।
सरकार!
अब यस्तो निषेधाज्ञा जारी गरियोस्
भोकमाथि रोक लगाइयोस्
भोकमाथि प्रतिबन्ध लगाइयोस्
भोकलाई अस्वीकृत गरियोस्
भोकलाई बर्जित गरियोस्
सरकार!
भोकविरुद्ध निषेधाज्ञा जारी गरियोस्