बानेशवर गाडामा पानी/जुस बेच्ने काम गर्दै बस्ने एक निम्न आयस्तरको परिवारमा जन्मिएकी ललिता आफ्नो वरिपरि बस्ने छिमेकीको छोराछोरीहरुलाई स्कुल गईरहेको देख्दा, महंगो खेलौनाहरुसँग खेलिरहेको देख्दा, प्रत्येक वर्ष रमझमका साथ आफ्नो जन्मदिन मनाइरहेको देख्दा आफू पनि त्यसरी धनाढ्य भई रमाएको सपनाको संसार कल्पनामा बनाउने गर्थिन्।
बाबा-आमाको जीवनको एक्लो साहारा भएको कारणले परिवारको सुख र खुसी ललिता नै थिइन्। परिवारको आर्थिक अवस्था कमजोर भएकोले ललिताले पढ्ने-लेख्ने वातावरण पाउन सकेकी थिइनन्। ललिताले अरुको रहनसहन हेरेर गरेको रहरले वरिपरि बस्ने दिदी भाउँजूहरुले उसलाई गिज्याउने गर्थे, ललिता भने रिसमा आगो हुने गर्थी।
आमाले बाटोमा जुस बेचिरहेको बेलामा 'मम्मि, मेरो पनि जन्मदिन नजिक आउँदै छ, वरिपरिको आन्टीहरुले आफ्नो बच्चाहरुको मनाइदिएको जसरी मेरो पनि यसपाली मनाइदिनु' झोक्किदै ललिताले आमाको अगाडि आफ्नो जिज्ञासा प्रस्तुत गरिन्।
'बर्ता कुरा नगर्, घरमा अवस्था खान नपुग्ने छ,उसलाई जन्मदिन मनाउने रहर' चर्को स्वरमा आमाले ललितालाई हप्काईन्।
'म चाँहि सधैँ आफ्नो रहर मार्नुपर्ने' भक्कानिएर रुदैँ ललिता आफ्नो छिमेकी दिदी रन्जुको घरमा गइन्।
रन्जुको घरमा कमाउने कोही नभए पनि उनको बस्ने जीवनशैली लखपतिभन्दा कम थिएन्। उनको त्यो धनको रहस्य वरिपरि बस्ने कोही कसैलाई थाहा थिएन।
रन्जुको घरमा ललिता गएर 'म पनि त १३ वर्षको भईसकेँ, आमाबुबाले केही माग्यो भने गाली गर्छन्, हप्काउछन्, के मेरो चाँहि रहर छैन र?' रुदै रन्जुसँग प्रश्न गरिन्।
ललिताले यसरी जिज्ञासु भएर आफ्नो अगाडि रुदैँ गरेको देखेर रन्जुले 'तिम्रो परिवारको अवस्था कमजोर छ नि, तिमी पिर गरेर नरोउ, तिम्रो जन्मदिन म मनाइदिन्छु यसपाली। तिम्रो लागि महंगो लुगा कपडा, गहनाहरु सबै म दिन्छु अनि हामी ठूलो होटेलमा गएर केक काटेर तिम्रो जन्मदिन मनाउने है' सम्झाउदै ललिताको बाल दिमागमा लोभ भरिदिई।
'साँच्चै हो दिदी, मेरो लागि हजुरले यो सब गरिदिने हो?' मुख उज्यालो बनाएर ललिताले रन्जुसँग प्रश्न गरिन्।
'तिम्रो सबै रहर म पूरा गरिदिन्छु तर तिमीले यो कुराहरु आफ्नो बुवा-आमा, साथीहरु कसैलाई नभन्नु, गोप्य राख्नु है' चक्लेट दिँदै रन्जुले ललितालाई भनिन्।
'हुन्छ दिदी, म कसैलाई भन्दिनँ। शिवरात्रीको दिन मेरो जन्मदिन हो, त्यही दिन भेटौँला है अब' ललिता यति भनेर आफ्नो घरतिर लागिन्।
ललिताको खुसीको सिमानै थिएन्। बाटोमा सपनाको संसार सम्झिदै चक्लेट खादैँ आफ्नो जन्मदिनको कल्पना गर्दै ललिता हिडिरहेकी थिइन्। ललिताको दिमागमा एक पटक पनि यो सोच आएन कि रन्जु आखिर किन बिना स्वार्थको उसमा पैसा खर्च गर्न लागेकी थिइन्, किन बुबाआमालाई नभन्नु भनेकी थिइन्? रन्जुले कही उसलाई फसाउने पो हो कि? यो केही कुरा नसोचि ललिता गित गुनगुनाउँदै आफ्नो घर पुगिन्।
'छोरी काहाँ थिइस् यति बेलासम्म, खाना पस्केर तलाई कुरिरहेको थियौँ हामी' ललिताको बुबाले प्रश्न गर्नुभयो।
'म साथीहरुसँग खेल्दै थिएँ, खाना खाऔँ है बुवा भोक लागिसक्यो' झुट्टो बोल्दै ललिताले आफ्नो थालमा पस्केको भात र टमाटरको अचार खान थालि।
मनमनै ललिताले 'अब केही दिनमा म पनि रन्जु दिदी जस्तै टन्न पैसा कमाउछु, अनि यस्तो खाना ता कहिले खानु पर्दैन् कम से कम' सोच्दै खाना खाएर सुत्ने कक्षतर्फ लागि।
(यसरी नै ४ दिन बित्दै गए, छोरीको बोल्ने तरिकाहरुमा फरक आउँदै गरेको देखेर ललिताको बुबा-आमा चिन्तित थिए तर छोरीको बालमनोविज्ञान भने कोहीले सोध्न बुझ्न खोजेन्न। आफ्नो छोरी रन्जुसँग नजिकिदै गएको देखेर पनि उनीहरुले लापर्बाही गरे जसको नतिजा ललिताको सपनाको संसार डरलाग्दो भएर गयो।)
४ दिनपछि शिवरात्रीको दिन
'बुबा, म एकछिन मन्दिर गएर आउछु है' भनि ललिता घरबाट बिहान ८ बजे निस्केर हिँडेकी थिइन्। बाटोमा रन्जुले ट्याक्सीमा ललितालाई कुरेर बसिरहेकी थिई। रन्जुसँग ट्याक्सीमा अरु दुई जना अपरिचित व्यक्ति १ जना महिला र १ जना पुरुष थिए। ललिता उमंगमा खुसी हुँदै ट्याक्सीमा आएर बसिन्। त्याहाँ अपरिचित व्यक्तिहरु देखेपछि ललिताले एकछिन अप्ठ्यारो मान्दै डराएको जस्तो लजाएको जस्तो गरिन्।
'दिदी मेरो लागि नयाँ लुगा ल्याइदिनु भएको हो हजुरले?' आँखामा खुसी र आशा राखेर रन्जुलाई प्रश्न गरिन्।
'तिम्रो लागि कपडा, गहना, पैसा, गिफ्ट सबै छ, ढुक्क होउ न' ललिताको कपाल समसुम्याउदै रन्जुले भनिन्।
ललिता खासै धेरै बाहिर ठाउँ नघुमेको भएर उसलाई रन्जुले कुन ठाउँ लगि भन्ने कुरा पत्तै भएन। करिब १ घण्टापछि रन्जुले त्यो ट्याक्सीमा भएको महिलाको घरमा ललितालाई पुर्याएर 'तिमी यहीँ बस्दै गर, म बाहिरबाट तिम्रो लागि लुगा किनेर आउछु' यति भनेर रन्जुले ट्याक्सीमा भएको महिला सीता दिदी भन्नेसँग मोटो रकम लिई आफ्नो बाटो लागिन्।
रन्जुको उदेश्य ललितालाई बेच्नु रहेछ। आफ्नो बुबाआमासँग झुटो बोली रन्जुको कुरामा बहकिएर ललिता सीता दिदीको कोठामा पुगिन्। धेरै समय बित्यो, रन्जु भने फर्केर आइनन्। उता छोरी घरबाट एकैछिनमा आउछु भनि हिँडेकी थिइन् तर बेलुका हुँदा पनि छोरी नफर्किदा आमा बुबाले टोल छिमेकमा खोजतलास गर्न सुरु गरिसकेका थिए।
छोरीको लागि चिन्ताले ललिताको बुबाआमा ग्रसित थिए। बेलुकादेखि राति भयो तर न त ललिताको त्यो सपनाको केक आयो,न गिफ्ट र न त रन्जु दिदी। ललिताको उमेर कम भएकोले दिनभरीको थकानले उनी त्यही निदाइन।
भोलिपल्ट बिहान ५:०० बजे नै सिता दिदीले ललितालाई उठाइन् र खाजा चिया दिदैँ 'हिजो रन्जु दिदी बिरामी भएर अस्पताल जानु भयो, तिम्रो जन्मदिन मनाउन हामी आज जाने हो है, छिट्टो-छिट्टो खाजा खाउ हामी गाडी चढेर जानु पर्छ' भन्दै ललितालाई कालो रंगको जाली भएको ड्रेस दिइन्।
नयाँ ड्रेस पाएर ललिता खुसी हुँदै हतार-हतार गरेर त्यो लुगा लगाइन् तर त्यो लुगा भित्रबाट बाहिर सबै झलझल देखिने भएकोले ललिताले लगाउदा अप्ठ्यारो मानिन्।
'यो लुगा त कस्तो खालको हो, सबै देखिने रैछ, मलाई त मन नै परेन' ललिताले त्यो वान पिस तल घुडाबाट तल ताने झै गरेर सिता दिदीलाई भनिन्।
'तिमी त परि जस्तै देखेकी छौ, पख म तिम्रो फोटो खिच्छु है' सिता दिदीले मोबाइल निकालेर फोटो खिच्दै 'म रन्जुलाई यो फोटो पठाईदिन्छु' भनेर एउटा भारतीय नम्बरमा पठाइन्। एकछिनपछि त्याहाँ राम र हरि नामको केटाहरु आइपुगे र सीतालाई मोटो रकम दिए। रकम पाएर सिताले 'तिमी यो दाइहरुसँग जाउ, रन्जुको भाइहरु हुन् यिनीहरु' फकाउँदै ललितालाई भनिन्।
बालबुद्धि भएकी ललिता पनि उनीहरुको कुराको भरोसा गरेर उनीहरुसँगै सिताको घरबाट हिडिन्। सीतालाई लिएर राम र हरिले पोखरा जाने गाडीमा चढे र करिब ४ घण्टापछि मुग्लिङ पुगे। अन्जान ललितालाई कुनै शंका पनि लागेको थिएन कि उसलाई सबै जनाले मिलेर बेश्यावृत्तिको लागि भारत लैजादै थिए भनेर।
उता ललिताको बुबा-आमाको रोएर हालत खराब थियो। गरिब भएका कारणले वरिपरिको कसैले खासै सहयोग नै गरेको थिएन। छोरी घर नफर्केको एक रात एक दिनको भैसकेको थियो।
मुग्लिनमा ललितालाई भारत लैजानको लागि श्याम भने केटा आएको थियो। उसले राम र हरिलाई १० हजार रुपैयाँ दिएर 'गज्जब छ' भनेर ललितालाई रुपन्देहीको भैरहवाको सुनौली नाका हुँदै भारतको पिपरा पुर्याए। ललिता कहिले बाहिर निस्किन हिड्न नपाएकोले उसलाई त्यो यात्रा रमणीय लागिरहेको थियो।
करिब २ दिन बितिसकेपछि ललितालाई बोर्डर प्रहरीबाट छल्दै श्यामले भारतमा पुर्यायो। भारत पुग्ने बितिक्कै बाटोभरी मिठो र राम्रो कुरा गर्ने श्यामले हप्काउन थाले, फोहोर गालीले सम्बोधन गर्न थाले।
'हिड्, तैले काम गर्ने ठाउँमा लैजान्छु' हात समाएर तान्दै श्यामले एउटा झिलिमिलि बत्ति बलिरहेको साना-साना कपडा लगाएका टन्नै केटीहरु भएको ठाउँमा लिएर गयो।
ललिता त छाँगाबाट झरेझै भई। उसको सपनाको त्यो संसार डरलागदो भयानक भएको उसले महशुस गरिरहेकी थिइन्।
'मलाई घर पठाइदिनु, रन्जु दिदी खोई, म मेरो आमा-बुबा काँहा जाने' रुदैँ ललिताले आफ्नो हात तान्न थालिन्।
'रन्जु त हाम्रो दलाल हो, केटीहरुलाई नेपालबाट फकाएर भारत पठाउने र बेच्ने। तलाई बेचेको बापत हामीले उसलाई २० हजार रुपैयाँ दिएका थियौँ,अब नाटक नगर् खुरुखुरु हिड्' हप्काउदै श्यामले ललितालाई त्यो डान्सबार र कोठीमा पुर्याइदियो।
ललितालाई त्याहाँ जाने बितिक्कै श्यामले उसलाई शारीरिक शोषण गरेर कुटपिट समेत गर्यो। ललिताको शरीर विकास नभएको कारणले उसको हर्मोन ग्रोथ गराउन उसलाई इन्जेक्सन दिने गर्थे। करिब ३ महिनासम्म ललितालाई दिनदिनै त्यो इन्जेक्सन दिँदै रक्सी, चुरोटको नशामा पार्दै जबरजस्ती आर्केष्ट्रामा नाँच्न लगाएका थिए र त्यस बापत उसलाई त्याहाँ खाना दिइन्थ्यो।
ललिताले मनमनै आफ्नो आमाबुबासँग झुटो बोलेर गरेको गल्तिको लागि पछुतो मान्दै यही नर्क मेरो जीवन हो भनेर बिताइरहेकी थिइन्। ललिता मौका खोज्दै थिइन् कसरी उम्केर यो नर्कबाट निस्केर आफ्नो देश फर्कौँ भनेर।
समयले उसको साथ दियो। ललिताले आफ्नो एउटा त्यही कोठीको मिल्ने साथीको सहयोग लिएर मोबाइलमा आफ्नो सम्पूर्ण दु:ख र दोषीहरु बारेमा भिडिओ बनाएर इन्टरनेटमा हालिन्, उसलाई आशा थियो कि नेपालबाट कसैले उसलाई बचाउन आउँछ। त्यो भिडिओ ललिताको गाँउमा बस्ने एकजना प्रहरीले हेर्यो र उसको बुबाआमालाई भन्यो।
'हजुरको छोरी भारतमा आर्केष्ट्रामा नाच्नको लागि बेचिएकी छिन्, हामीले उसको उद्धारको लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा दोषीहरुको नाम सहितको जाहेरी दिनुपर्छ, हिड्नुस् जाउँ' भन्दै सान्तावना दिँदै सम्झाई बुझाई गरे र त्यही प्रहरीको सहयोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा ललिताको बुबा-आमाले जाहेरी दिए।
जाहेरी अउनासाथ मानव बेचबिखन ब्युरोको टोलीले रन्जुलाई उसकै घरबाट, सितालाई बसबाट पक्राउ गरेर अनुसन्धान गर्यो र ललितालाई भारतीय प्रहरीको सहयोग र विशेष ब्युरोको समन्वयमा उद्धार गरी प्रतिवादी राम, हरि, श्यामलाई भारतबाटै पक्राउ गरी नेपाल ल्याए। नेपाल आएपछि ललितालाई निजको बुबा-आमालाई जिम्मा लगाईयो र ५ जना प्रतिवादीहरु माथि मानव बेचबिखन तथा ओसार पसार मुद्धा चलाइयो।
हाल ललिताको बालमनोविज्ञानमा गहिरो असर परेकोले उसलाई संस्थाले परामर्श दिइरहेको छ। अनजान व्यक्तिले पैसा, खाना, लुगा, जागिरको लोभ दिएर आफूलाई फसाउन खोज्दा आफ्नो बुबा-आमासँग कुरा लुकाएर उनको बाल्यकाल नर्कमा बित्यो भने कुरा ललिताले बुझिसकेकी छिन्।
(नोटः कथा सत्य घटनामा आधारित भएकाले गोपनियता कायम राख्न नाम र स्थान बद्लिएको छ।)