कविताः
प्रतिभा नचिन्ने यो देशमा मेरो छोरा
चेसको ग्राण्डमास्टर बन्छु भन्छ
गुगल सर्च गर्दै फिसर, ताल, मोर्फी र कार्लसनका
भिडिओहरू हेरेर ग्राण्डमास्टर बन्ने सपना देख्छ।
प्रत्येक दिन चोक, गल्ली अनि पाटीहरूमा
बाटो हिँड्ने जो सुकैलाई पनि ऊ प्रतिस्पर्धाका
लागि चुनौती दिन्छ।
विडम्बना!
मेरो देश साना बोटबिरूवाहरू हुर्काउन
एउटा माली पनि चाहिन्छ भन्ने कुरा बिर्सन्छ
यो प्रतिभा नचिन्ने देशमा
मेरो छोरा चेसको ग्राण्डमास्टर बन्छु भन्छ।
ऊ जस्तै यो देशका हजारौं बालबालिकाभित्र
म ग्राण्डमास्टर बन्ने सपनाहरू देखिरहेछु
दुर्भाग्य! यहाँ स्वतन्त्रपूर्वक आफ्ना बालबालिकालाई
चेस खेल्न प्रेरणा दिने असल गुरूहरू
कतै पनि देखिँदैनन्।
आज प्रतिभाहरू विस्तारै विस्तारै
मर्दै गइरहेका छन् भने कोही
विदेशतिर पलायन भइरहेका छन्।
त्यसैले, आज यो देशमा ग्राण्डमास्टर बन्ने सपनाहरू
अझसम्म पूरा हुन सकेको छैन।