सानैदेखि असल बन्ने चाहना थियो मेरी दिदीको। उनको मात्र हैन प्राय: हामी सबैलाई सबैको नजरमा आफूलाई असल सावित गर्न पाए हुन्थ्यो जस्तो लाग्छ।
यो समाजले असल भने दंग पर्छौं,खराब भने खिन्न। मेरी दिदी पनि सधैं असल बन्न चाहिन् र प्रयत्न पनि धेरै नै गरिन् तर उनलाई आजसम्म थाहा भएन असल बन्न के गर्नुपर्छ?
वास्तवमा असल नारी बन्न के गर्नुपर्ने हो? कसको लागि असल बन्नु पर्ने हो।
आफ्नो लागि वा समाजको लागि? दुखै पाए पनि श्रीमान भनेर बस्दा वा श्रीमान् छोडेर बस्दा।
अस्तित्वको लागि लड्दा, आफ्ना इच्छा, रहर,आकांक्षा मारेर श्रीमान विनाको वृद्ध सासूससुरा र घर सम्हालेर बस्दा वा आत्मसम्मानका साथ आफ्नो जीवन आफ्नै तरिकाले जिउन खोज्दा वा अर्की श्रीमती विवाह गरेर बसेका श्रीमानको नाममा पोते र सिन्दुर लगाएर हिँड्दा पो आदर्श नारी भइने हो?
उनी सधैं असमन्जस्यमा थिइन्। बाँचुन्जेल उनको यो असमन्जस्यता दूर होला कि नहोला !!!
आफ्ना रहरलाई मारेर १३ वर्ष उनी श्रीमान भनेर बसेकी थिइन्। छोराछोरी हुर्काउँदै र वृद्ध सासूससुरा स्याहार्दैमा यतिका वर्ष बितेका उनले पत्तै पाइनन्। २० वर्षकी मात्र थिइन् उनी। श्रीमान पढ्न भनि अमेरिकातिर लाग्दा। उनी अर्थात् सुलक्षणा। मेरी दिदी ।
अहिले जस्तो देखिन्छिन् उनी त्यस्ती कहाँ थिइन् र? नामजस्तै सम्पूर्ण गुणले सम्पन्न, अत्यन्त सुन्दर र मधुर स्वरकी धनी उनी, स्कुलमा हुँदा सबैको आकर्षणको केन्द्रबिन्दु हुन्थिन्। स्कुलको अतिरिक्त क्रियाकलापमा सधैं अगाडि सर्ने गर्थिन्।
नाच्न ,गाउन अनि कविता वाचनमा अत्यन्त सिपालु उनको गायिका बन्ने सपना थियो। हुन पनि स्कुलका प्रत्येक गायन प्रतियोगितामा उनी सधैं प्रथम हुन्थिन् तर उनको सपना एस.एल.सी.दिएर बसेको केहीदिनमा नै चकनाचुर भएको थियो। सधैं नाचेर र गाएरमात्र हिँड्छे साह्रै उत्ताउली र नखरमाउली भई,छिट्टै पोइला जान्छे कि क्याहो? आदि/इत्यादि अभिव्यक्ति सधैं सुन्ने गरेकी उनलाई एकचोटि पनि नसोधी उनीभन्दा ११ वर्ष जेठो केटासँग विवाह गरिदिए।
विचरी दिदी चुइक्क नगरी विवाह गरिन्।असल थिइन्, हाम्रो समाजमा कहाँ असल मान्छेले बुवाआमाको कुरा काट्छन् र!
उनले पनि काटिनन्। सोह्र वर्ष पनि नपुगेकी उनी स्नातकोत्तर पास गरेको, धनी र सानो परिवारको एक्लो छोराको रोजाइमा परेकी थिइन्।
स्कुले जीवनमा आत्मविश्वासले भरिपूर्ण उनी विवाहपछि श्रीमानसँग अत्यन्त डराउने भएकी थिइन्। उनको व्यक्तित्वमा अकस्मात् धेरै परिवर्तन आएको थियो। उनी कतिपल्ट निलडाम लिएर माइती गएकी थिइन्।
छोरीको निलडाम देख्दा पनि अब त्यो घर नजा भनेर भन्न नसक्ने अभिभावक पाउनु पनि दुर्भाग्यको कुरा हो मेरो विचारमा। प्रथम श्रेणीमा एस.एल.सी.पास भएको खबर सँगसँगै श्रीमानले उनी गर्भवती भएको खुसीमा सम्पूर्ण परिवारलाई मिठाइ बाँडेका थिए।
सोह्र वर्षे कलिलै उमेरमा गर्भवती भएकी उनी खासै खुसी भएकी थिइनन्।
प्रथम श्रेणीमा एस.एल.सी पास भएको खुसी र क्याम्पस पढ्न जाने सपनालाई थाती राख्दै सानै उमेरमा उनी घर गृहस्थीमा लाग्न बाध्य भएकी थिइन् अनि १९ वर्ष मा नै उनी दुई सन्तानकी आमा बनेकी थिइन्।
चार वर्षको वैवाहिक सम्बन्ध र दोस्रो सन्तान जन्मेको केही महिना पुग्दानपुग्दै श्रीमान पढ्न भनि अमेरिकातिर लागेका थिए।
श्रीमान बाहिर गएपछि उनी श्रीमानले उतै बोलाउलान् अनि बालबच्चासहित जाउँला भन्ने सोचेकी थिइन्। एउटा सपनाबाट वन्चित भइसकेकी उनले अर्को सपना देख्न थालेकी थिइन्।
बाँच्नलाई कुनै न कुनै सपना हुनैपर्दो रैछ, चाहे त्यो पूरा होस् या नहोस्।
माया पिरतीका कुरा त कहाँ हो कहाँ भिनाजूका फोनहरू प्राय:जसो के लुगा लगाएर बाहिर हिँडेको? सिन्दुर किन नलगाएको? फोन त विजी थियो त! कोसँग कुरा गरेको? कति जानु पर्यो माइती? घरभाडाको पैसा बैंकमा राखिस्? त्यो फेसबुकमा कमेन्ट गर्ने को हो? आदि जस्ता प्रश्नहरूले भरिएका हुन्थे। यस्ता प्रश्नहरूले आजित उनी श्रीमानसँग खासै दोहोरो कुरा गर्न सक्दिनथिन्।
गीत संगीतमा अत्यन्त रुचि भएकोले दुई जना बच्चाहरूलाई स्कुल पठाएपछि फुर्सदको समयलाई सदुपयोग गर्दै संगीत सिक्न जान्छु भन्दा श्रीमानले उताबाट सधैं हकार्ने गर्थे। काम गर्न जान्छु भन्दा पनि के नपुगेको छ र? भन्ने जवाफ आउँथ्यो।
गाली नै गरेर आउने फोन पनि अब कम आउन थालेको थियो। कहिलेकाहीँ उनले साथीमार्फत् श्रीमानको हालखबर थाहा पाउने गर्थिन्। उनै साथीमार्फत् एकदिन उनले श्रीमानले उतै अर्को विवाह गरी छोरा जन्मिसकेको खबर र तस्वीर पाएकी थिइन्। छाँगाबाट खसेझैं भएकी उनी आफ्नो सम्पूर्ण अस्तित्व गुमाएझैं न कसैसँग बोल्न सकेकी थिइन्, न सिधा आँखाले कसैलाई हेर्न सकेकी थिइन्।
यस्तो लाग्थ्यो, उनीआफैंले समाजमा मुख देखाउन नहुने काम गरेकी थिइन्।
श्रीमान विदेशिएपछिका दिनहरूमा उनका साथीहरुले उनीसँग बोल्ने तरिका नै बदलिएको थियो। झन् ‘उतै अर्को बिहे गरे रे’ भन्ने खबरले त कोही कोही श्रीमानका साथीहरू पनि नजिकिन खोज्दै थिए। एउटी महिला एक्ली हुने बित्तिकै त्यो समाजले उनलाई हेर्ने दृष्टिकोण र सामाजिक सम्बन्धहरू अकस्मात् परिवर्तन हुँदै थिए।
आज एकाबिहानै उनले श्रीमान दुई हप्तामा नेपाल फर्कने खबर पाएकी थिइन्।
ससुरा सिकिस्त बिरामी भन्ने खबर उनले केही हप्ताअघि सुनाएकी थिइन्। टुक्रिएको मुटु, टुटेको सम्बन्ध,भाँचिएको आधार र बदलिएको सामाजिक परिवेशले आजित उनले यही मौकामा सम्बन्धविच्छेद गर्ने निर्णय गरिन्।
श्रीमान आउनेबित्तिकै वृद्ध सासूससुरा जिम्मा लगाई सम्बन्धविच्छेदको पत्र हातमा थमाई, छोराछोरी बोकेर नयाँ जीवन आफ्नै तरिकाले सुरू गर्ने निर्णय गरिन्।
हुन त माया नै नगर्ने श्रीमान र वास्तै नगर्ने सासूससुरालाई हेरेर नबसे पनि हुनुपर्ने हो, तर उनले त्यसो गरिनन् किनभने उनी असल छिन् समाजले चाहेजस्तै।
सम्बन्धविच्छेदको निर्णयमा पुग्नु अवश्य पनि उनलाई सहज थिएन। छोराछोरीको भविष्य, आफूमा पर्ने आर्थिक भार, समाजको नकारात्मक सोच आदिको लेखाजोखा उनले नगरेकी होइनन् तर पनि आत्मसम्मानका साथ बाँच्ने रहर र केही गर्न सक्छु भन्ने आँटले मुटु दह्रो बनाएर आफ्नो निर्णय परिवारलाई सुनाइन्।
पहिला पनि उनले माइतीलाई मनाउने प्रयास नगरेकी होइनन् तर प्रत्येक पटक उनी विफल भएकी थिइन्। न माइत आफ्नो न घर आफ्नो भएकाहरूको व्यथाले मलाई साह्रै सताउँछ। म कल्पना गर्दै आत्तिन्छु भोग्नेले कसरी भोग्छन्। धन्न सहन्छन्।
माइत गएर सम्बन्धविच्छेदको कुरा उप्काएकी मात्र के थिइन्, सबै उनीमाथि नै बर्सिए। मानौं ठूलै गल्ती गरिन् उनले अर्को विवाह गरिसकेको मान्छेलाई छोड्ने कुरा गरेर।
एकछिनको सन्नाटा पछि,दाइ, जो आफ्नै स्कुलको प्रिन्सिपल हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, केरे?फेरि त्यही सम्बन्धविच्छेद? तैंले सोच्न पनि कसरी सकिस्?
हेर सुलक्षणा ज्वाइँसाब आउँदै हुनुहुँदो रहेछ। तैंले पहिलाका सबै कुरा विर्सिदे, अब ज्वाइँसाबसँगै मिलेर बस्नुपर्छ। सम्बन्धविच्छेद गर्ने कुरा मनमा ल्याउँदै नल्याउनू। बच्चाहरूको भविष्यको सबाल छ।
सोच त! तँसँगै के छैन? छोरा छ, छोरी छिन्। त्यति धेरै सम्पत्ति छ। जीवनमा योभन्दा धेरै के चाहियो मान्छेलाई?
सायद दाइलाई थाहा छैन बाँच्न धनसम्पत्तिभन्दा आत्मसन्तुष्टि र आत्मसम्मान चाहिन्छ। पीडा भोग्नेलाई मात्र थाहा हुन्छ भनेको सायद ठीकै हो।
बुवा जो सरकारी कर्मचारी हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, के अचम्म सुन्नु परेको फेरि? हेर छोरी, दुइटा बिहे गरेका लोग्ने मान्छे समाजमा धेरै छन्,तँमात्र एक्लो होइनस्,फेरि अर्की श्रीमती नेपालमा पनि त छैन नि। जे भए पनि ज्वाइँसाब आखिर फर्केर आउँदै हुनुहुन्छ। तँ खुरुक्क मिलेर बस्नु अरु कुरा म जान्दिनँ।
अब बोल्ने पालो आमाको जो अलिअलि लेखपढ गर्न जान्नुहुन्छ।
म यो के कुरा सुन्दैछु? किन सम्बन्धविच्छेद गर्ने? अहिलेसम्म हाम्रो खलकमा कसैले गरेको छैन यस्तो काम, मान्छेले के भन्लान्? हामी छोरी मान्छे जे भए पनि सहेर बस्नुपर्छ।
तैंले हाम्रो नाक काट्न लागेकी? हामी के मुख देखाएर हिँड्ने? दुई दुइटा बहिनीको विवाह गर्न बाँकी छ, कसले बिहे गर्छ उनीहरूसँग तैंले सम्बन्धविच्छेद गरिस् भने।
धेरै कुरा म जान्दिनँ,खुरुक्क चुपचाप सहेर बस्!
अरु त अरु आमाले पनि पिडा नबुझ्दा सुलक्षणा दिदीको आँखामा टिल्पिलाएको आँसु मैले याद गरेकी थिएँ।
उनले आँसु खस्न नपाई घुटुक्क निलिन्। सहनुको कुनै सीमा हुँदो रहेनछ।
भाउजु (गृहणी) भन्नुहुन्छ, हेर्नुस् नानी! हाम्रो नाक काट्ने कुरा नगर्नोस्। यदि सम्बन्धविच्छेद गरी अर्को बिहेको बारेमा कल्पनासम्म गर्नुभयो भने पनि माइतीको मुख नहेरे हुन्छ।
माइती तपाईंका लागि मरेतुल्य हुनेछन्।
दिदीले सायद सोचेकी थिइन् होला आफ्नै उमेरकी भाउजूले उनको पीडा बुझ्ने छिन् भनेर तर कहाँ सोच्दैमा आफूले सोचेको जस्तो हुन्छ र!
एकपछि अर्को गर्दै परिवारका सम्पूर्ण सदस्य यसरी खनिँदै थिए कि मानौं उनले कुनै अपराध नै गर्न लागेकी हुन्। हाम्रा परिवारका सदस्यहरू अनपढ त कोही थिएनन्। सबै जना आफूलाई यो समाजको सभ्य नागरिकको रूपमा सम्झन्थे।
यो कस्तो बिडम्बना? लोग्ने परिवारको पटक्कै वास्ता नगरी, उतै घरजम गरेर नौ वर्षपछि मात्र स्वदेश फर्कंदै छ। दिदी भने उसको सम्पत्तिको संरक्षण र उसको बाबुआमाको स्याहारसुसार गर्दै बसिरहेकी छन्। उनले कतिन्जेलसम्म यसरी सम्हालिएर बस्ने? तीस वर्ष पनि नपुगेकी उनको फेरि जिउने सपना चकनाचुर भएको छ, उनी बोल्न सक्ने अवस्थामा थिइनन्।
उनी सोच्छिन् श्रीमानले जस्तै उनले पनि यसरी नै दोस्रो विवाह गरेको भए के परिवार यसलाई सहज रूपमा स्वीकार्थ्यो ?
कानुनले त श्रीमान विदेसिएको ३ वर्षसम्म नफर्किएमा सम्बन्धविच्छेद गर्ने अधिकार दिएको थियो। खोइ त! कानुनी अधिकार उपयोग गर्न पाएकी उनले? कानुन किताबमा छ, दु:ख सुलक्षणा दिदीजस्ता धेरै दिदीबहिनीहरूको मनमा छ।
किताबको न्याय आफैं आउँदैन,न्याय माग्ने पाइला किताबसम्म पुग्नै पाउँदैन। विडम्बना, जिन्दगी सोचैझें हुनै पाउँदैन।
देशमा सत्ता बदलियो,कानुन बदलियो,महिला राष्ट्रपति,महिला न्यायाधीश आए तर उनलाई न्याय मिलेन।
समाज र परिवारको सोच बदलिएन, उनको जीवन बदलिएन। अर्को असफल प्रयासपछि मेरी दिदी आँखाभरि आँसु पार्दै फेरि कहिले माइतीलाई नसोध्ने प्रण गरी छोराछोरी लिएर आफ्नो बाटो लागिन्।
तीन घण्टाको लामो बहस सुनेर उकुसमुकुस भएकी म परिवारका सदस्यहरूलाई मुखभरिका जवाफ दिन मन थियो,अनि दिदीलाई भन्न त मन थियो–“म छु सुलक्षणा दिदी हजुरसँग। अहिले नै छोडिदिनुस् भिनाजूलाई।” तर भन्न सकिनँ।
म पनि मेरी दिदीको आफ्नो बन्न सकिनँ। गरुङ्गो मन बनाई म चुपचाप दिदीलाई टुलुटुलु हेरिरहेँ। सायद मलाई पनि असल बन्नु थियो, समाजको मापदण्डअनुसार।