लक्ष्मी लामिछाने
बाले किन लगाउनु भयो टालेको सट
आमाले किन लगाउनु भयो उध्रिएको चोली
मैले बनाए बाआमालाई सधै लोभी
बल्ल बुझ्दै छु, गरिबीको बाध्यता।
अरुको बाआमाको खल्तीमा पैसाको बिटो
मेरो बाआमाको खल्ती सधै रित्तो
भन्थेँ बाआमाले पैसा कता लगे
बल्ल बुझ्दै छु, बाआमासँग पैसा थिएन।
कति रमाएका मेरा बाआमा ढुङ्गा र माटोमा
किन बस्दैनन् छोराछोरीको साथमा
लाग्थो मेरा बाआमालाई छोराछोरीसँग बस्न मन छैन
बल्ल बुझ्दै छु, एकदिन काम नगरे खान पुग्दैन।
मेरा बाको चर्-चर् फुटेका पैतला
मेरी आमाको चाउरिएका ती गाला
भन्थे मेरा बाआमा कहिल्यै राम्रा बन्दैनन्
बल्ल बुझ्दै छु, बाआमाको त्यो बाध्यता।
हो, मेरो बाआमालाई आफ्नो फाटेको लुगा फेर्नु थिएन
छोराछोरीको लागि स्कुल ड्रेस किन्नु थियो।
हो, मेरो बाआमालाई पैसाको बिटो बोक्नु थिएन
छोराछोरीको लागि कापीकलम किन्नु थियो।
हो, मेरो बाआमालाई छोराछोरीसँग बस्नु थिएन
छोराछोरीको पेट भर्न दिनभर काम गर्नु थियो।
हो, मेरो बाआमालाइ राम्रो बन्नु थिएन
छोराछोरीको सुन्दर भविष्य बनाउनु थियो।
त्यसैले त आज बल्ल बुझ्दै छु बाआमालाई।।