एक क्रान्तिको लागि
एक दर्जन वर्षहरु
युद्धमा सिध्याएर
घर फर्केको ऊ
सोचिरहेछ आज युद्ध लड्नुको कारण।
आधा जरा काटिएको रुख जस्तै
आधा जिन्दगी काटिएर
बल्ल बल्ल बाँचेको योद्धा
साथीहरुको लासमा टेक्दै
घर फर्कियो
तर
उसँगै फर्किएनन्
क्रान्तिका उदेश्यहरु।
सुन्दर सपनाहरु बोकेर
घरबाट हिडेको हो
एक सामान्य मान्छे
योद्धा बनेर
त्यही घरमा फर्किदा
दृश्य भयावह छ
विभत्स छ
पुरानै परालको घुम्टो ओढेको
पुरानै घरको छानोबाट
तप्प तप्प चुहिएको पानीमा
रुझ्दै र रुदै गरेकी बुढीआमा
छोराको याद मेटाउन
तानेका चुरोटहरुले
खप्लकै खाएको बाको बुढो अनुहार
र
बुढा भएका एक हल गोरुको
धमिलो दृश्य
प्रतिबिम्बित भैरहेछ
उसका गाला भएर बग्दै गरेका
आँसुका थोपाहरुमा।