कविता
बेजोडले बहिरहेको हावा
टक्क रोकिएको छ
स्वच्छन्द आकाशमा उडिरहेका चराहरु
टक्क रोकिएका छन्
समुन्द्रको छाल स्थिर छ
नदीमा बगिरहेको पानी
टक्क रोकिएको छ
लाग्छ पृथ्वी आफू घुम्दा घुम्दै,
सूर्यलाई परिक्रमा गर्न छाडेर
टक्क रोकिएको छ।
अंकुराउदै गरेका विजहरु
विकसित हुन छाडेर
माटो मुनि नै टक्क रोकिएका छन्
लक्ष्य उन्मुख
गन्तब्य उन्मुख
हिडिरहेका पाइलाहरु
हिडिरहेकै अवस्थामा
टक्क रोकिएका छन्
चलिरहेका मेसिनका पुर्जाहरु
टक्क रोकिएका छन्।
लाग्छ यो पृथ्वीमा दुई वटा कोठाहरु छन्
सबै गतिविधि एउटा कोठाका बन्दकीमा छन्
उता अर्को कोठा मस्त, व्यस्त छ
शंका लाग्छ अमुक मान्छेहरु के गर्दैछन् त्यहाँ?
कतै गम्भीर छलफल हुँदैछ की
अभ्यास चल्दैछ की
परीक्षण हुँदैछ की
वा आविष्कार हुँदैछ
संसार ध्वस्त बनाउने
बन्दैछ की नीति, रणनीति
दुनियाँ नियन्त्रण गर्ने।
फेरि मनमा कुरा खेल्छ
हामीलाई एउटा कोठामा थुनेर
अर्का कोठाका अमुक मान्छेहरु
उज्यालो संसार
स्वतन्त्र विचरण गर्ने उत्तम उपाय
यो सृष्टि पहिलेको भन्दा उत्कृष्ट तरिकाले चल्ने
टक्क टक्क रोकिएका सम्पूर्ण बस्तुहरु सुचारु गर्ने
सृष्टिको गति सुचारु गर्ने
नयाँ आविष्कारमा तल्लीन छन्।