नांगो शरीरलाई वस्त्रको खोलमा
ममतामयी अलौकिक अंकमालमा
पारिवारिक मोहको भूगोलमा
शुभजीवनको साइत मंगलममा
उज्यालो संसारको झलमलमा
सायद दुधे पाइलाहरू सन्तुलनमा थिए
चपाउने दाँतहरू पालुवा फेर्ने बेलामा
चउरका दौंतरीहरु मताउने पलमा
पानामा अक्षरहरू सजाउने कलममा
पैतालाको घाउमा पोतिएको मलममा
मिष्ठान्न खुराक खोजिरहने रयालमा
सायद अबोध्य सन्तुष्टीहरू सन्तुलनमा थिए
स्वतन्त्रता खोज्ने रसिलो वैँशकालमा
अंगहरू परिवर्तन हुने जीउडालमा
जिन्दगीको जग बसाल्ने अन्योलमा
कैयौं असफलताहरूको घायलमा
निर्णयको द्विविधा भोगिरहने छालमा
सायद प्रगतिका पथहरू सन्तुलनमा थिए
बेग्लै संरचनाको सानो महलमा
परिवार सुख बुनिरहने मेलमा
आर्थिक गर्जो टारिरहने चालमा
अस्वस्थ पीडाहरू भोग्ने झालमा
रहरहरू कुन्ठित पार्दै मनको थैलीमा
सायद संघर्षका भोगाइहरू सन्तुलनमा थिए
चाउरिएको शरीर विश्रामको बेलामा
बितेका संस्मरणहरुको स्वपनिलमा
टाढिएका सन्ततिहरूको भावविह्वलमा
अस्वस्थ शरीर जेनतेन धान्ने बलमा
जीवन गोरेटोमा उत्तार्धको पलपलमा
सायद मनका भावनाहरू सन्तुलनमा छन्
हो, त्यसैले
दिनहरू अनि रातहरू सन्तुलित राखौँ
सुखहरू अनि दुखहरू सन्तुलित राखौँ
सन्तुष्टीहरू अनि बेचैनिहरू सन्तुलित राखौँ
सम्बन्धहरू र सम्पत्तिहरू सन्तुलित राखौँ
शारीरिक स्वास्थ्य अनि मन सन्तुलित राखौँ!