चढ्नै सकिन्न भनेको पहाडलाई छिचोल्दै
अगाडि बढन दिन्न भन्ने चट्टानलाई पन्छाउँदै
काला हिमालहरुमा चट्याङ जसरी बज्रदै
आगो ओकल्दै
हिड्न सकिन्न भनेको बाटोमा हिडेपछि
अरु यात्राका लागि हिमालले प्रतिबन्ध लगायो।
बतासे डाँडाको सिरेटोलाई न्यानो बनाउदै
पहाडका ती छहारासँग मितेरी गाँस्दै
न्याउलीको गीतसँग हाम्रा पैतलाले
भिर काल्ना नाप्न थालेपछि
पहाडले फगत प्रतिबन्ध लगायो।
उखुको जुस र बाजेको पेडा खाँदै
शितलहरीसँग पैंठेजोरी खेल्दै
क्रान्तिको गीत गाउँदै
हाम्रो छातीमा परेड खेल्नेका विरुद्ध
जुर्मुराउन थालेपछि
तराईले प्रतिबन्ध लगायो।
जब
मुठ्ठीहरु सामन्तका विरुद्ध उठे
पैंतलाहरुले दलालका छाती कुल्चिन थाले
ओठहरु अन्यायका विरुद्ध बोल्न थाले
कलमहरु अत्याचारका विरुद्ध लेख्न थाले
आँखाहरुले जनतालाई गरेको कुठाराघात देख्न थाले
अनि सर्वत्र प्रतिबन्ध लगायो।
त्यसैले भन्न मन लाग्छ, यो देशमा जनताको सरकार छैन
बरु संगठित तस्कर र दलाल मात्रै छन्
जो जनहितहरुमा प्रतिबन्ध लगाइरहेका छन्।