बलबैँसमा नामै लेखे सुनौला ती अक्षर
अवकाशपछि भन्छन् होला कानै आइ मच्छर
कामै छैन परिचयपत्र कसले इज्जत गर्ला
दुई पटक बोल्न गाह्रो अनि घत पर्ला।
सँगी साथी बोल्नु छैन, गर्न हुन्थ्यो शेयर
ग्यारेजमा महंगा कार समाइदेऊ न चेयर
महंगा छन् कपडा, पर्स सामान कहाँ राख्ने
बिरामी परे अस्पतालमा गाउन नै हो ढाक्ने।
गंगाजल तुलसीको मठमा सार्छन् जब
बैँक ब्यालेन्स करौडौँको के काम भयो तब
जतासुकै घर जग्गा हेर्नु देख्नु चल्दा
छ फिट भए पुग्ने रहेछ आखिरीमा ढल्दा।
के सम्झनु ठूला होटेल विदेश तानाबाना
तुलसी पानी मठमा राखे पाइन्छ कि खान
साइकल चढे, कार चढे, निजी विमान चढे
अस्पतालमै बेसहारा भइ बेडमा झण्डै लडे।
के कुरा गर्ने हो र? चौरासीका व्यञ्जन
दुई चक्की दुई थोपा तीतो खान भन्छन्
शरीरभरि लटरम्म गहनाले ढाके
नांगेझार पारी हाले पिलासले ताके
साथीभाइ हदै जालान् लाखौँ घाटसम्म
मरे भने भोलिपल्ट दुई दिन हो जम्मा
सधैँका लागि हुँदै होइन पद, प्रतिष्ठा, पैसा
आउँछ जान्छ फूर्ति फार्ती बलबाहु बैँस।