सुन त,
ओ नौजवानहरु हो,
हेर त,
ओ नयाँ युगका द्योतक हौँ
भन्नेहरु हो!
तिम्रो लोकतान्त्रिक मुलुकमा
विधिको शासन,
नागरिक सर्वोच्चता,
संसदीय मर्यादा र पद्धति।
तिम्रो सत्ताले
तिम्रै लोकतन्त्रको घाँटी
रेट्दा,
संविधानको मुटुमा तीर छेड्दा,
व्यवस्थामाथि नै ऐठन पार्दा।
तिम्रो मुलुकको सत्ताले
दिएको
अधिकार र व्यवस्था,
इज्जत र मर्यादा
तिमी त,
आफूलाई
क्रान्ति र परिवर्तन ठान्छौ हैन र?
तिमी भित्रको उर्जा खोइ?
तिमी भित्रको विवेक खोइ?
दशकौंदेखि लडेर ल्याएको प्रजातन्त्र,
अग्रज पुस्ताले दिलाएको लोकतन्त्र,
रगतसँग साटेर ल्याएको गणतन्त्रमा
सामन्त र सर्वसत्तावादीको अवसान भएको
पहिल्यै उद्घोष
गरेका होइनौ र?
कसरी देखिरहन सक्छौ?
कसरी सुनिरहन सक्छौ?
खोलो उकालो बग्न खोजेको,
सामन्ती स्वर मुटुमा गढेको।
सुन त,
ओ नयाँ पुस्ता हो,
सोच त
ओ नयाँ चेतनाका
सम्वाहकहरू हो।
शासकहरुको
ठाँट देख्दा
'रैती' को आशयमा
तिमीलाई लेख्दा
तिमी भित्रको क्रान्ति दुखेन?
के, तिमी भित्रको शान्ति दुखेन?
भविष्यले तिमीलाई खोजेको छ,
समयले तिमीलाई रोजेको छ,
आलस्यबाट मुक्त हौ,
समयलाई जान नदेऊ।
आगो ओकल्ने
ओठहरू,
चट्टान फोर्ने
पाखुरीहरू,
यो, दम्भलाई
थाहा देऊ
यो निरंकुशतालाई
देखाइदेऊ।