कविता
तिम्रो
भुल
देशको लागि
शूल बनेको छ।
तिम्रो
अहंकार
संविधान र लोकतन्त्रमाथि
प्रहार बनेको छ।
तिम्रो
दम्भ
सार्वभौमिकतामाथि
बज्रपात भएको छ।
तिमी
गणतन्त्रको चर उधिनिरहेछौ
संघियताको तख्तामा
करौँती चलाइरहेछौ
धर्मनिरपेक्षतामा
केरमेट गरिरहेछौ
म
त्यसको रक्षाका लागि
आन्दोलनमा छु।
तिमी
मदमाछौ
बर्बराइरहेछौ
सत्ताको मोहरीबाट
ड्यामड्यामी
पड्किरहेछौ
सिंहासनको संगिनले
अन्धाधुन्ध
घोचिरहेछौ
म,
त्यसको प्रतिरोधी
आन्दोलनमा छु।
तिमी
प्रहसन गरिरहेछौ
हजारौँ झुटहरु
सत्य करार गर्न
गोयबल्स शैली
प्रस्तुत गरिरहेछौ
म,
सत्य र न्यायको
आन्दोलनमा छु।
म,
स्वेच्छाचारी र
निरंकुश शासकको
प्रतिगामी कदम विरुद्ध
आन्दोलनमा छु।
ढालिएको श्रीपेच
पहिरिन लालायित
नव महाराज विरुद्ध
आन्दोलनमा छु।