संयोगले 'क' नाम गरेकी अर्धबैँसे विवाहित महिला र 'ख' नाम गरेको अर्धबैँसे विवाहित पुरुष सरूवा भई एउटै कार्यालयमा हाजिर हुन पुगे।
दुवै एक-एक सन्तानका माता-पिता। दुवै सुसंस्कारित परिवारमा हुर्किएका। सादगीपन र प्राकृतिक जीवनशैलीप्रति दुवैको साझा मोह।
धेरै स्वभावगत विशेषता मिल्यो। अझ भनौँ, केमेस्ट्री मिल्यो!
अफिसमा पनि एउटै फाँटमा काम तोकिएको थियो। त्यसैले कार्यगत हिसाबले पनि अन्तरंग हुँदै गए दुवैजना। एकअर्काप्रति अचेतनबाटै सम्मोहित थिए सायद। त्यसैले उनीहरू बाक्लै भेटघाट गरिरहन्थे कार्यालयमा पनि।
दुवैजना पारिवारिक मर्यादाको घेराभित्र बाँधिएका थिए। नजिकिने रहर त थियो तर उमेर र जिम्मेवारीले चुलबुलाउन नसुहाउने बनाएको थियो उनीहरूलाई। कार्यालयको औपचारिक वातावरणमा स्वच्छन्द हुन सम्भव पनि थिएन।
सुख बाँड्न र दु:ख बिसाउन खोज्थे, तर पाइरहेका थिएनन्। सामाजिक सन्जालमार्फत कुराकानी गर्न पनि पारिवारिक वातावरणले दिँदैनथ्यो। त्यसैले 'क' र 'ख' बीच आँखा आँखामै सम्वाद हुन्थ्यो, आँखाभित्र छ्चल्किएर आँखाकै किनारासम्म मात्र सीमित हुन्थ्यो चाहनाका प्रेमिल तरंग पनि।
केही समयपछि 'क' को अन्य कार्यालयमा सरुवा भयो। दुवैको मन रोयो तर आँखाहरूलाई लोकाचारले रुन दिएन। मायाको डालीभित्र महाप्रेमको अग्राख पसिसकेको थियो। चपरीको दुबोझैँ जब्बर बनिसकेको थियो प्रेमको जरा। त्यसैले बिछोडिनु पर्दा अनुहार र आँखाबाहेक अंग-अंग रोएको थियो दुवैको।
तर उल्टो भएन, सुल्टै भयो। समयले 'क' र 'ख' बीचको मायाप्रेमलाई महाप्रेममा परिणत गर्ने परिवेश निर्माण गरेरै छाड्यो।
आजभोलि उनीहरू हरेक वर्ष भाइटीकाको दिन अनिवार्य भेटघाट गर्छन्। अजम्बरी मखमलीको माला साटासाट गर्छन् अनि निधारमा इन्द्र धनुष लर्काएर प्रेम दिवस मनाउने गर्छन्।