ढलक ढलक
जगर ढल्काएर
कड्याक कड्याक
टाप बजाएर
ठिँ ठीँ र फूँ फूँ सहित
नाकको पोरा फुलाउँदै
दशकौं अघिदेखि
यी
घागडान घोडाहरू
चना कम र
शासकीय कोर्रा बढी खाएर
टुँडिखेलमा कुदिरहेका छन्
निम्न पवित्र उद्देश्यका साथ:-
प्रेत भगाउन
सुमंगल भित्र्याउन
अनि
अश्वकला देखाउन।
आडैको
सहिद गेटमा
प्रेत हुँदै पितृ बनेका सहिदहरु
मन लागी-नलागी
आधा आँखा उघारेर
टुँडिखेलतिर नियालि रहेछन्
अन्धविश्वासको कुहिरो फाट्ने आशामा
वैज्ञानिक समाजवादको झण्डा फहराउने लालसामा
उन्नत चेतनायुक्त समाज देखेपछि
पूरै आँखा खोलेर उन्मुक्त हाँसो हाँस्ने
अनि
श्रद्धेय सहिद भएर युगौ बाँच्ने अभिलाषामा।
सांस्कृतिक विश्वास
र
सहिदको सपना दुवैलाई
एकाकार अनि अक्षुण्ण राख्दै
कतै एक आँखे घोडा दौडाएर
कतै मदिराले मात्तिएका घोडा कुदाएर
अनि कतै
टागन घोडाको फायर जम्प कला देखाएर
घोडेजात्रा मनाइएको
कहिले देख्न पाइएला यी आँखाले!
अझै पनि
गुरुमापाको प्रेतात्माले
फुटपाथमा भाग्य खोज्नेहरूलाई लखेट्दै छ
घोडामा चढ्न नसकेका सहिदहरूलाई तर्साइरहेछ
यता
घोडचढीमा सवार
राजा महाराजका सालिक भने
गुरुमापाको छातीमा
टाप बजारिरहन सफल देखिदैछन्।