मोबाइल म बनूँ कि झैँ जुनसुकै बेला हुने साथमा
आँखाले हरपल निहारिरहने शोभा हुने हातमा।
तिम्रा मुख्य कुरा र काम जति छन् मैसँग हुन्थे सबै
गोजीमा मुटुको समीप रहने सुत्दा र उठ्दा सँगै।
बिर्सेरै दुनियाँ तिमी र म भए हुन्थ्यो नहुँदा अरु
चाहिन्न अब यो जवाँ विरसिलो फोनै बनूँ मै बरू।
दुःखै पोख्नु परे म नै हृदयकी बन्ने हितैषी थिएँ
सुखैमा पनि मै बनी सहचरी उल्लास गन्ने थिएँ।
पार्थें छट्पटीमा बिना म एकपल बस्नै नसक्ने गरी
टार्थें काम सबै बिजी छु अहिले आएन नेटै सरी।
मै हुन्थें सुर संगीती मधुरिमा हुन्थें म रस रागिनी
मै हुन्थें नुर सुन्दरी नजरकी मै भोगिनी भागिनी।
मै हुन्थें दुनियाँ समोहित हुने साम्राज्यकी स्वामिनी
मै हुन्थें सब इष्टकी समुहिनी मै प्रेयसी कामिनी।
मै हुन्थें सब स्वादकी रसवरी बाँडेर खाने सखी
मै हुन्थें सब पुस्तकादि रचना बन्ने थियो जिन्दगी।