ठडिए ती हात मात्रै ठडिएन शिर
सलामीका नाममा जात्रा हरे सबै तिर।
हेर्दा हेर्दै सलामी नि आए कस्ता-कस्ता!
पिर्के, ठेउके, टेबुले भए अति सस्ता।
भट्टी होस् कि गाउँबस्ती जहाँ तहीँ आज
ठाउँ न कुठाउँ सलामी छ, छैन कतै लाज।
चार बित्ताको रातो टालो खुट्टामुनि हाल्यो
बेढंगले जात्रा गर्दे अनि हात उचाल्यो।
चार वटा पुलिस हिँडे कतै ड्युटी गर्न जान
ओच्छ्याई हाल्छन् रातो टालो त्यहीँ सलाम खान।
सलाम होकि लाखे नाच विचित्रै पो भा'छ
ठेउका चढ्दा नपुगेर टेबुलमाथि गा' छ!
देखिन्न त भऱ्याङ कतै क्यारी त्यहाँ चढे
हनुमानले उचाले कि आफैं अघि बढे?
अजंगको तिम्रो शरीर चढ्दा टेबुल माथि
कोल्टिएर पल्टिएला गर्दा नाना भाँती
ज्यानको डर त मान गाँठे धराप माथि चढ्दा
अंगभंग होला फेरि त्यहाँबाट लड्दा
सलामीमा हात उठाउन दुवै गोडा जोड्दा
एउटा गोडा टेबुल माथि अर्कोले ठाउँ छोड्दा
ढुन्मुनिएर खासौला नि कुकुरमुन्टी गर्दै
लगाएर ठाडा खुट्टा टेबुल मुनि पर्दै
सलामीको रहर गर्दै जे भेटे नि चढ्दा
गर्न पर्ला उप-चुनाव तिमी त्यहाँ लड्दा!
दूरदराजका गाउँमा जाउला टेबुल कहाँ पाउला
नभेटेर हनुमानले डोको लिई आउला
नचढ्नु है डोका माथि टेबुल चढेसरि
अरुभन्दा माथि भई सलाम खाने गरी
मक्किएको बाँसको डोको कच्याक कुच्चुक पर्ला
सलाम खाने रहर फेरि डोका भित्र झर्ला।
खोजी कतै अर्को डोको त्यो डोकोलाई फाली
बोकाएरै ल्याउनु पर्ला डोकै भित्र हाली।
नचढ भो डोका टेबुल, चढ पिर्का मात्र
सलाम खान हत्य गर्ने अनिकाले पात्र।
ज्यानै माथि जोखिम पर्दा लाजै मान्छौ किन?
जहाँ जाँदा नि सँगसँगै पिर्का बोकी हिँड।