पुसको मुटु काप्ने ठन्डी
च्यातिएको मन्डी
लम्पसार लडेको मेरो शरीर
खुला आँखा
खुला आकाश
ताराहरु रमाइरहेछन्
तड्पिरहेछु म।
च्यातिएको लुगा
मुटु छेड्ने चिसो बतास
कापिरहेको मेरो शरीर
नाचिरहेका रुखहरु
डराइरहेको म।
आँखा अगाडि नाना मिस् ठान्न
नाकै छेड्ने बास्ना
मलाई हेरिरहेको भात
खाली मेरो खल्ती
भोको मेरो पेट
दाम्रिएको म
तड्पिएको म।
उज्यालोको पर्खाइमा
कयौं रातहरु बिते
कयौं साथहरु छुटे
आत्तिएको म
मात्तिएको म
आलेटाले गर्दै
उज्यालोको पर्खाइमा
आँखा खुल्लै राखेँ
जुनको उज्यालो तापेँ
एक टह शून्यतामा हेरिरहेँ।
भोलिसम्म म बाँचें भने
भोलिको संसार हेर्नेछु
आजको भयानक रातलाई बिर्सेर
मस्तसँग उज्यालो ताप्नेछु
दाम्रिएको पेट फुकाउनेछु
च्यातिएको कमिज सिलाउनेछु
अर्को कहाली लाग्दो
निस्लोट रात काट्ने आँट बटुल्दै
म अगाडि बढ्नेछु।
म अगाडि बढ्नेछु।