हे भगवान्, हे ईश्वर मैले के गल्ती गरेँ?
दुनियाँको बिहे भैसक्यो, म किन एक्लै परेँ?
दिनैपिच्छे आमा रुन्छिन्, गाउँभरि जात्रा
अरु कुरा केही हुन्न, बिहेकै कुरा मात्र?
कहिले होला बुहारीको हातको खाना खाने?
कहिले होला नाती बोकी गाउँघर तिर जाने?
सबका घरमा आँगनभरी, खेल्छन साना नानी
आफ्नो छोरो आवाराको, अगतिलो बानी
हे भगवान, हे ईश्वर...
धारे हातले बैनी भन्छे, रुँदै सुक्क सुक्क
यत्रो लक्का भैसके नि, बुद्धी छैन थुक्क!
उमेर गयो दाइ तेरो, अब ढिला नगर्
खोजे पाउँछन् हो दुनियाँले, तँ नि अब बिहे गर्।
बुढी आमा कहिलेसम्म, एक्लै पकाइ खान्छिन्?
घरको काम कस्ले गर्छ? कहिले घुम्न जान्छिन्?
अबदेखि तेरो घरको, पानी समेत खान्न
यस्तो दुख देख्नभन्दा बरु माइतै आउन्न।
ल जा...
ह्या... यो बैनी नि किचकिच किचकिच, जहिले सन्किनी
कुरो सुरो बुझ्नु छैन, त्यसै फन्किनी
मेरै मात्र गल्ती, मेरै दोष जहिले
यिन्ले खोज्द्या कुन चाँहि केटी बिहे गरिनँ मैले?
ह्या आफूलाई के-के टेन्सन छ...
पढ्न लेख्न बाँकी नै छ, जागिर खाउँ कि अहिले?
टन्न पैसा कमाउनु छ, विदेश जाउँ कि पहिले?
हुनेको त राम्रै भा छ, बिहेपछि पनि
आफ्नो चाँहि दशा बिग्रियो, हुन्न जे गरेनि।
बिहे गर्नै नखोज्या त कहाँ हो र मैले?
हुन हुन खोज्यो कि त, बिग्रीहाल्छ जहिले
कुनै हेर्यो आफुट्ठभन्दा बढी उमेर खाकी
कुनै हेर्यो कपडाको, नाम मात्रै लाकी।
कुनै हेर्यो अनुहार छैन, कुनै हेर्यो शिक्षा
झोली तुम्बा दिनुस् प्रभु, बरु माग्छु भिक्षा।
सकिनँ मैले...
इस्टमित्र नाता-गोता सबै थाकिसकेँ
कुनै देउता बाँकी छैनन्, सबै भाकिसकेँ
जोरीपारि नि हाँस्न थाले, छिमेकीको लाज
घरका सबै धाएका छन्, छोडी कामकाज।
मै एउटाले गर्दा हेर, सबले पाए ठक्कर
अझ मैलाई राम्री चाहियो? ईस्.. तेरो खप्पर
आफू चाँहि के-के न झैँ, राम्रो भनी ठान्छु
न त आफ्नो हुती केही छ, न त भन्या मान्छु।
उमेरले नेटो काट्यो, अझै फुर्ती ठूलो
घरमा ऐना राख्या भा पो, देख्थिस् मुखमा धुलो
भैगो अब जे हुनु भो, रोज्न तिर लागिन
आखिर जति भौतारे नि, रोज्या पाउनी हैन।
बा-आमाले जस्ती खोज्छन, खुसी साथ मान्छु
यो उमेरमा केटी पाउनु, त्यै नै भाग्य ठान्छु
हुन्न हुन्न अब ढिलो, गर्न हुन्न गाँठे
लौन अब आजैदेखि, मैले पनि आँटेँ।
यो साल त बिहे गर्छु गर्छु
यो साल त बिहे गर्छु गर्छु।