पाकिस्तानले ऋणमा डुबेको आफ्नो राष्ट्रिय ध्वजावाहक 'पाकिस्तान इन्टरनेसनल एयरलाइन्स' (पिआइए) निजी क्षेत्रलाई बेच्ने भएको छ।
यो सरकारी स्वामित्वको संस्थान किन्न रियल स्टेट, सिमेन्ट, ब्रोकरेज हाउस, स्कुल लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित निजी कम्पनीहरूले चासो देखाएका छन्।
तीमध्ये 'आरिफ हबीब कन्सोर्टियम' तर्फबाट १३५ अर्ब पाकिस्तानी रूपैयाँको सबभन्दा बढी मूल्य प्रस्ताव गरिएको बिबिसीले लेखेको छ। यो करिब ७० अर्ब नेपाली रूपैयाँ बराबर हुन्छ।
पिआइए किन्न १०० अर्ब पाकिस्तानी रूपैयाँभन्दा बढी मूल्य प्रस्ताव गर्नेमा दुई समूह थिए। तीमध्ये 'लकी' र 'आरिफ हबीब ग्रुप' तथा तिनका सहायक कम्पनीको कन्सोर्टियम सामेल थिए।
मंगलबार बोलकबोल सुरू हुँदा सबभन्दा पहिले लकी ग्रुपको आर्थिक प्रस्ताव खोलियो। बिबिसीका अनुसार यो समूहले पिआइए किन्न १०१.५ अर्ब रूपैयाँ प्रस्ताव गरेको थियो।
त्यसपछि एयर ब्लूले २६.५ अर्बको प्रस्ताव दर्ता गरायो भने तेस्रो र अन्तिम प्रस्ताव ११५ अर्बको थियो, जुन आरिफ हबीब ग्रुप तथा सहायक कम्पनीहरूका तर्फबाट आएको थियो।
पछि खुला लिलामी चरणमा आरिफ हबीब कन्सोर्टियमले १३५ अर्ब रूपैयाँको प्रस्तावसहित अरू प्रतिस्पर्धीलाई उछिनेको बिबिसीले जनाएको छ।
यसबारे पाकिस्तानका चर्चित व्यापारी आरिफ हबीबले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्, 'पिआइए हाम्रो राष्ट्रिय संस्था हो र यसले विगतमा स्वर्णिम दिनहरू देखेको छ। कुनै समय यो विश्वकै दोस्रो उत्कृष्ट एयरलाइन्स थियो।'
पाकिस्तान सरकारले पिआइएको निजीकरणका लागि न्यूनतम १०० अर्ब रूपैयाँ मूल्य तोकेको थियो।
चार वर्षअघि भारतले पनि आफ्नो राष्ट्रिय ध्वजावाहक 'एयर इन्डिया' निजीकरण गरेको थियो। यो एयरलाइन्स भारतको अग्रणी व्यावसायिक समूह 'टाटा ग्रुप' ले १८० अर्ब भारतीय रूपैयाँमा किनेको थियो।
पाकिस्तानमा भने पिआइए निजीकरण गर्ने यो दोस्रो प्रयास हो।
पहिलो प्रयास गत वर्ष असफल भएको थियो। त्यति बेला 'ब्लु वर्ल्ड सिटी' नामक रियल स्टेट कम्पनीले १० अर्ब रूपैयाँमा किन्ने प्रस्ताव गरेको थियो, जुन सरकारले तोकेको न्यूनतम मूल्यभन्दा निकै कम भएकाले अस्वीकृत गरियो। सरकारले न्यूनतम ८५ अर्ब मूल्य तोकेको थियो।
पिआइए पब्लिक लिमिटेड कम्पनी हो, जसको लगभग ९६ प्रतिशत पुँजी सरकारकै स्वामित्वमा छ। यो सरकारी स्वामित्वको संस्थाले प्रत्येक वर्ष देशको ढुकुटीलाई अर्बौं रूपैयाँको बोझ थोपरिरहेको छ।
गत दुई दशकयता पिआइएको घाटा हरेकचोटि बढ्दै आएको थियो। तर यसै वर्ष अप्रिलमा पाकिस्तान सरकारले २१ वर्षपछि पहिलो पटक पिआइएले नाफा कमाएको दाबी गरेको थियो।
आरिफ हबीब कन्सोर्टियम के हो?
आरिफ हबीब
आरिफ हबीब कन्सोर्टियममा ब्रोकरेज हाउस आरिफ हबीब लिमिटेड, फातिमा फर्टिलाइजर्स, सिटी स्कुल र लेक सिटी होल्डिङ्स सामेल छन्।
आरिफ हबीब लिमिटेड पाकिस्तानको ठूलो सेक्युरिटिज ब्रोकरेज, इन्भेस्टमेन्ट बैंकिङ र रिसर्च फर्म हो। यो कम्पनी पाकिस्तान स्टक एक्सचेन्जमा सूचीकृत छ। कम्पनीको वेबसाइट अनुसार, यो पाकिस्तान स्टक एक्सचेन्जको शीर्ष २५ कम्पनीमध्ये पर्ने एक मात्र ब्रोकरेज फर्म हो।
त्यस्तै, फातिमा फर्टिलाइजर पाकिस्तानमा मल उत्पादन गर्ने कम्पनी हो, जुन सन् २००३ मा फातिमा ग्रुप र आरिफ हबीब ग्रुपले संयुक्त लगानीमा स्थापना गरेका थिए। यो कम्पनीले 'सरसब्ज', 'बब्बर शेर' लगायतका ब्रान्डमा युरिया र अन्य मल उत्पादन गर्छ।
सिटी स्कुलको स्थापना सन् १९७८ मा भएको हो। विश्वभर यसका ५०० शाखा छन् भने डेढ लाखभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्।
लेक सिटी पाकिस्तान एक रियल स्टेट कम्पनी हो। यसले पाकिस्तानका विभिन्न सहरमा रिसोर्ट र आवासीय विकास परियोजना सञ्चालन गर्दै आएको छ।
आरिफ हबीबले 'आरिफ हबीब कर्पोरेसन लिमिटेड' स्थापना गरेका हुन्। उनी अहिले यसका अध्यक्ष छन्। उनले 'फातिमा फर्टिलाइजर कम्पनी लिमिटेड' को अध्यक्षता पनि गरिरहेका छन्।
आरिफ हबीब कराची स्टक एक्सचेन्जको अध्यक्षका रूपमा छ पटक निर्वाचित भइसकेका छन्। उनी 'सेन्ट्रल डिपोजिटरी कम्पनी अफ पाकिस्तान लिमिटेड' का संस्थापक सदस्य तथा अध्यक्ष पनि भएका छन्।
लकी ग्रुपको कन्सोर्टियम

लकी ग्रुपको कन्सोर्टियममा लकी सिमेन्ट, हब पावर, कोहाट सिमेन्ट र मेट्रो भेन्चर्स सामेल छन्।
लकी सिमेन्ट 'युनुस ब्रदर्स ग्रुप' को कम्पनी हो, जुन पाकिस्तान स्टक एक्सचेन्जमा सूचीकृत छ। कम्पनीको बोर्डमा देशका चर्चित 'टब्बा परिवार' का सदस्यको बहुमत छ।
हब पावर कम्पनी लिमिटेड पनि पाकिस्तान स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो। यो कम्पनीको बलुचिस्तानस्थित 'हब क्षेत्र' मा १२०० मेगावाट क्षमताको पावर प्लान्ट छ।
कोहाट सिमेन्ट कम्पनी लिमिटेडको स्थापना १९८४ मा पाकिस्तान स्टेट सिमेन्ट कर्पोरेसनले गरेको थियो।
सन् १९९२ मा सरकारले यसको निजीकरण गर्यो। त्यसै वर्ष उक्त कम्पनी पाकिस्तान स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको थियो। कम्पनी ग्रे र ह्वाइट क्लिंकरसहित विभिन्न सिमेन्ट उत्पादन र बिक्रीमा केन्द्रित छ।
मेट्रो भेन्चर्स क्यास एन्ड क्यारी तथा ऊर्जा क्षेत्रका कम्पनीहरूको समूह हो।
मोहम्मद अली टब्बा लकी सिमेन्टका प्रमुख कार्यकारी हुन्। उनले यो जिम्मेवारी सन् २००५ देखि सम्हालिरहेका छन्।
त्यसैगरी उनी युनुस टेक्सटाइल मिल्स लिमिटेडका पनि प्रमुख कार्यकारी हुन्। अहिले उनी सामाजिक क्षेत्रमा काम गर्ने 'अजिज टब्बा फाउन्डेसन' का उपाध्यक्षसमेत छन्।
एयर ब्लूको सबभन्दा कम प्रस्ताव

एयर ब्लू लिमिटेड निजी एयरलाइन्स हो। कम्पनीको वेबसाइट अनुसार, यो पाकिस्तानको दोस्रो ठूलो एयरलाइन्स हो र आन्तरिक बजारमा यसको हिस्सेदारी निरन्तर बढ्दै गएको छ।
एयर ब्लूसँग एयरबस ए३२० र ए३२१ जहाज छन्।
कम्पनीको सेयर संरचनामा विभिन्न लगानीकर्ता सामेल छन्। तारिक चौधरी कम्पनीका प्रमुख कार्यकारी तथा बोर्ड अध्यक्ष हुन्।
एयर ब्लूले घरेलु स्तरमा इस्लामाबाद, लाहोर, कराची, पेशावर र मुल्तानलाई अन्तर्राष्ट्रिय उडानमार्गसँग जोड्ने नियमित उडान सञ्चालन गर्छ।
यसका अन्तर्राष्ट्रिय उडानहरू संयुक्त अरब इमिरेट्सका शारजाह, अबुधाबी तथा साउदी अरेबियाका जेद्दा र रियाद विमानस्थल पुग्छन्।