चार दिनको शिक्षक तालिम सम्पन्न भएको थियो। घर जाने बेलामा एक शिक्षक नजिक आउनु भयो र खुसुक्क सोध्नुभयो, ‘सर, यो तालिममा गरेको सबै क्रियाकलापहरू स्कुलमा गएर पनि गर्नुपर्छ?’
विद्यालय अवलोकनको क्रममा एक शिक्षकले भन्नुभयो, ‘तालिम त लिइयो र तर प्रशिक्षकले पिपिटी (स्लाइड)मा भनेको सैद्धान्तिक कुराहरू कक्षाकोठामा प्रस्तुत गर्ने तरिका नै जानिएन, खासै काम आएन।’
यी दुई घटनाले बताउँछ कि शिक्षक तालिमहरू कक्षाकोठासम्म बिरलै पुग्छन्। आजको व्यापक बहस र गुनासो पनि शिक्षक तालिम कक्षाकोठासम्म पुगेन भन्ने नै हो। अझै कक्षाकोठामा ‘पढ–पढ’ विधि नै हाबी छ भन्ने हो। शिक्षण सिकाइमा किन देखिएन त नयाँपन? आखिर किन पुग्दैन त तालिम कक्षाकोठामा? यस विषयमा केही व्यावहारिक चर्चा यहाँ प्रस्तुत गरिएको छ।
तालिममा सिप हस्तान्तरणको अभाव
अक्सर तालिमहरू सैद्धान्तिक भए। स्लाइड पढेर तालिम सक्काएको पनि देखियो। शिक्षकलाई यो र त्यो गर्नुपर्छ भनियो तर ‘गर्ने कसरी?’ बिरलै सिकाइयो। सोधकर्ता गंगाराम गौतमले शिक्षक तालिम ‘लेक्चर डोमिनेटेड’ भएको सोध रिपोर्ट उल्लेख गरेका छन्। चाहे कलेज पढ्दा होस् वा आयोग पढ्दा, सिकाइ सिद्धान्तका ठुलठुला कुराहरू भने घोकिएको हो। तर कसरी कार्यान्वयन हुन्छ भन्ने नमुना अभ्यास, सूक्ष्म शिक्षण अभ्यास, तालिम हललाई कक्षाकोठा बनाएर भूमिका निर्वाहको अभ्यास गर्न नपाउँदा ती सिकाइ सिद्धान्तहरू कक्षाकोठामा प्रयोग हुनै सकेन। तालिम प्रयोग केन्द्रित, सिप केन्द्रित र सिकाइ मनोवृत्ति परिवर्तन केन्द्रित नभएसम्म शिक्षकलाई गाली गर्नु पनि बेकार हो। सिद्धान्त र व्यावहारिक प्रयोगबिच खाडल नै तालिम कक्षाकोठामा स्थानान्तरण नहुने प्रमुख कारण हो भन्दा फरक नपर्ला।
तालिम आवश्यकतामुखी नहुनु
शिक्षकको आवश्यकतामुखी तालिम नै हुन नसक्नु अर्को समस्या हो। सोधकर्ता अम्बिका पौडेलको निष्कर्ष छ- पहिले नै तय भएको विषयवस्तु र कक्षाकोठाको व्यावहारिक सत्यबिचको तादात्म्य नुहुनु तालिमको ज्वलन्त चुनौती हो। अधिकांश तालिममा शिक्षक केवल ‘निष्क्रिय श्रोता’ हुन्। कतिले त तालिम ‘टाइम पास’ भन्न पनि भ्याएका छन्। तालिमको विषयवस्तु, आवश्यकता पहिचान र छनौटमा ‘टप–डाउन एप्रोच’ मात्रै व्यावहारिक देखिएन। हाइलर र गार्डनरको ठम्याइ छ– जबसम्म शिक्षकका विद्यमान शैक्षणिक चुनौती, दैनिक शिक्षण सिकाइ अभ्यास, शिक्षण अनुभव र सक्रिय सहभागितालाई प्राथमिकतामा राखिँदैन तबसम्म तालिम औपचारिकतामा सीमित भई कक्षाकोठाको शिक्षण सिकाइ सुधारमा ठोस योगदान दिन असफल हुन्छ।
कक्षाकोठा केन्द्रित पेसागत सहयोगको अभाव
सर! हजुरले शिक्षकको कक्षा अवलोकन गरी पृष्ठपोषण प्रदान गर्नु भएको छ?
प्रधानाध्यापक भन्नुहुन्छ, ‘त्यसो त खासै गरिएको छैन, कहिलेकाहीँ यसो झ्यालबाट चियाएर हेर्ने चाहिँ गरेको छु।’
अर्को रमाइलो प्रसंग पनि छ। एक स्थानीय तहको शिक्षा प्रमुख भन्नुहुन्छ, ‘शिक्षक आफैले गर्ने हो। मान्छेको पछि मान्छे लागेर पनि साध्य लाग्छ?’
वास्तवमा निरन्तर शिक्षक पेसागत सहयोगले उचित शिक्षण विधि छनौट, शिक्षण सामग्री पहिचान, निर्माण र प्रयोग, विद्यार्थीको सिकाइमा सहभागिता, सुधारात्मक शिक्षण, कक्षाकोठा व्यवस्थापन आदिमा शिक्षकलाई प्राज्ञिक र प्राविधिक टेवा प्रदान गर्छ। छोटकरीमा भन्दा निरन्तर पेसागत सहयोग शिक्षकको ‘करियर ग्रोथ’सँग मात्रै सम्बन्धित छ।
जोएस र सावरको अध्ययनको निष्कर्ष छ- तालिम प्राप्त शिक्षकले तालिमका २० प्रतिशत मात्रै सिकाइ कक्षाकोठामा लागू गर्छन् तर शिक्षकलाई कक्षाकोठा केन्द्रित निरन्तर पेसागत सहयोग मिल्यो भने ८० देखि ९० प्रतिशत सिकाइलाई कक्षाकोठामा स्थानान्तरण गर्छन्। त्यसै गरी विद्यालय क्षेत्र सुधार योजनाले शिक्षकलाई निरन्तर पेसागत सहयोग बिना शिक्षक पेसागत विकास सम्भव नहुने कुरा उल्लेख गरेको छ। नीतिगत व्यवस्था भए पनि, कक्षाकोठा केन्द्रित निरन्तर शिक्षक पेसागत सहयोगको अभ्यास नै भएको छैन। यदाकदा सुपरिवेक्षण गरिएता पनि शिक्षकको त्रुटि, कमजोरी कोट्याउने र आलोचना गर्ने चलन चाहिँ देखियो।
शिक्षकलाई भरोसा र उत्प्रेरणा
शिक्षकले राम्ररी पढाएनन् भनेर ‘गाली’ गर्ने सबै तह र तप्कामा भेटिए तर ‘ताली’ दिने भेटिएनन्। विद्यालय क्षेत्र विकास योजनाको रिपोर्टले लेख्छ– तालिम प्राप्त शिक्षकहरूले कक्षाकोठामा शिक्षण रणनीतिहरू प्रभावकारी रूपमा स्थानान्तरण गर्न सकेका छैनन्। यसमा शिक्षकको करियर मार्ग र प्रोत्साहनको अभाव भएको छ। यसै गरी हाइलर र गार्डनर लेख्छन्– उत्प्रेरित शिक्षकले मात्रै शिक्षण सिप, नवीनतम सिकाइ विधिको प्रयोग गरी पेसागत दक्षता हासिल गर्न सक्छन्। कैयन सोधकर्ताहरूले गरेको अध्ययनको सारले शिक्षकलाई टेवा, भरोसा, आत्मविश्वास र उत्प्रेरणाको खाँचो भएको औँल्याएको छ।
के-के गर्न सकिन्छ त?
राम्रो तालिम र हौसला पाएका शिक्षकहरूले कक्षाकोठामा उत्कृष्ट शिक्षण सिकाइ गरेका उदाहरणहरू पनि प्रशस्त छन्। त्यसैले तालिम प्रदायकहरूले गरी आएकै तालिमलाई क्रियाकलापमुखी र अभ्यासतामक बनाऔँ। शिक्षकको हातमा सिप थमाऔँ न कि सैद्धान्तिक ज्ञान। तालिममा सूक्ष्म शिक्षण, भूमिका निर्वाह, सहयोगात्मक सिकाइ, सिमुलेसन, सिकाइ सामग्री निर्माण र प्रयोग कार्यशालालाई थपौँ। जोन डिवेले सिकाइ सिद्धान्तलाई व्यवहारमा ल्याउन ‘गरेर सिक्ने’ विधिलाई सर्वोत्तम ठहर्याएका छन्। त्यसैले पिपिटी पढाउन छोडौँ। तालिम हललाई शैक्षणिक सिपहरू अभ्यास थलो बनाऔँ। कक्षाकोठामा जे गर्न सकिन्छ त्यो तालिममा जोडौँ।
तालिममा जे गर्यो त्यो कक्षाकोठामा लैजाने सहमति बनाऔँ। विद्यार्थीले कसरी सिक्छन् भन्ने ‘टिप्सहरू’ आदानप्रदान गरौँ। अरू कक्षाकोठा केन्द्रित पेसागत सहयोग प्रदान गर्न नसके पनि प्रधानाध्यापक र सहपाठी कक्षा अवलोकन र पृष्ठपोषणका पेसागत फाइदा र तौर तरिका अभ्यास गरौँ। शिक्षकले गरेको नवीनतम कार्यलाई हौसला र उत्प्रेरणा दिऔँ। ‘गाली’ घटाउ गरौँ र ‘ताली’ जोड गरौँ। यसैमा परिवर्तन अवश्यम्भावी छ।