जित्न त जितौला तिमीले धूमधाम मतान्तरले
तर
कम्तीमा पाँच वर्ष
तिम्रो विकल्प खोज्न नपर्ने गरी जित्नु।
जित्न त जितौला तिमीले झिनो मतान्तरले
तर
कम्तीमा पाँच वर्ष
तिम्रो विकल्प खोज्न नपर्ने गरी जित्नु।
मलाई थाहा छ!
मेरा हजुरबाले कहिल्यै खोजेनन्
यो देशको विकल्प
मेरा बाले कहिल्यै खोजेनन्
यो माटोको विकल्प
र त
मरुभूमिको देशमा गएर
थोरै रुपैयाँ जोडेर बचाएर भए पनि
यही माटोमा ठड्याए चार कोठाको सानो घर
त्यही घरमा हुर्काए केटाकेटी
त्यही घरमा सबै जनालाई अटाए
अहिले
खै किन?
मेरा साथीहरू सबथोक बिर्सिएर
देशको विकल्प खोजिरहेका छन्
माटोको विकल्प खोजिरहेका छन्
मेरा भाइ पर्ने उमेरका
देश छाड्न खोजिरहेका छन्
मेरा भतिजा पर्नेहरू
पासपोर्ट बनाउने लाइनमा उभिरहेका छन्
भाइले देश बिर्सिएको त जसोतसो
ठिकै छ उसले बुझेन भनौला
तर
एक नागरिकले देश भुलेको यो भूमिले कसरी सहन्छ?
आमाले आफूलाई एक्लै छाडेर
छोरो विदेशमा हराएको कसरी सहन्छिन्?
त्यसैले तिमीले जित्नु
तर देशलाई जिताउने गरी जित्नु।
प्रजातान्त्रिक, कम्युनिस्ट, स्वतन्त्र, नयाँ पुराना
जसले जिते पनि जित्नु
तर
देशलाई जिताउने कसम खाएर जित्नु
तिमीले जित्नु
तर
देशले जितेको अनुभव दिलाउने गरी जित्नु।
तिमीले यसरी जित्नु
जसरी पोखरीको वरिपरिको पेरिफेरीले
पोखरीको पानी संरक्षण गरेको छ
उसै गरी तिमी नागरिकको संरक्षक भएर जित्नु
तिमीले यसरी जित्नु
जसरी यो सूर्यको प्रकाशले सबैलाई उज्यालो पारेको छ
उसै गरी नागरिकको मुहारमा उज्यालो छाउने भएर जित्नु
तिमीले यसरी जित्नु
जसरी मन्दिरको घण्टीको आवाजले
भक्तजनको मन आनन्दित पार्छ
उसै गरी तिम्रो नाम सुन्ने बित्तिकै खुसी बनाउने गरी जित्नु
तिमीले यसरी जित्नु
जसरी रूखको छाहरीले शीतलता प्रदान गर्छ
पर्यावरण सफा गर्न सहयोग गर्छ
उसै गरी देशलाई शीतलता
र देशको नकारात्मक कुरा सफा गर्ने भएर जित्नु
तिमीले यसरी जित्नु
जसरी आकाशका ताराले
रातमा पनि आकाश सुन्दर बनाएको छ
उसै गरी देशलाई दुखेको बेला खुसी प्रदान गर्ने भएर जित्नु
आफूले त कयौँ पटक जितौला
तर
देशले जित्ने गरी जित्नु
देश रमाउने गरी जित्नु
देशमा खुसी छाउने गरी जित्नु
जित्न त जितौला तिमीले धूमधाम मतान्तरले
तर
कम्तीमा पाँच वर्ष
तिम्रो विकल्प खोज्न नपर्ने गरी जित्नु।
जित्न त जितौला तिमीले झिनो मतान्तरले
तर
कम्तीमा पाँच वर्ष
तिम्रो विकल्प खोज्न नपर्ने गरी जित्नु।
तिमीले यसरी जित्नु
तिम्रो जितको प्रतीक्षा
नागरिकले तिमीले नजित्दै गरोस्
तिम्रो जितमा तिमीभन्दा पहिले जनता खुसी होउन्
तिम्रो जितमा तिम्रोभन्दा पहिले
जनताको अनुहारमा अवीर पोतियोस्
तिमी यही हुनु! तिमीले यसरी जित्नु!