नीलिमा
सभ्यताको चिनारी
डोकोमा बोकेर
पुग्छे खेतबारीमा
पोख्छे पसिना
ढकमक्क फुलाउन
पसिनाका फूलहरू!
जब
आफ्नो घर नजिकैको
बाँसघारीमा सुन्छे
सारीहरूको जिजीविषाको
चिरबिर गीत
मनमनै गम्छे
कठिनतामा बाँच्नुको रहस्य!
ऊ
आफ्नै आँगनमा फुलेका
सुगन्धित फूलहरूसँग
मनको वेदना साट्छे
र
प्राप्त
एक मुठी खुसी बोकेर
यौवनको सुगन्ध छर्दै
चहार्छे आफ्नै प्यारो गाउँ
उत्सुकताका डोब पार्दै पार्दै!
ऊसँग
जिन्दगीको यात्रामा
उम्रने काँढाहरूलाई
फूलमा बदल्ने
सोच छ
र
आँसुमा खुसी भेट्ने सामर्थ्य!
कहिल्यै
फुर्सद हुन्न
नीलिमालाई
इच्छाका अङ्क जोडेर
दुःखको हिसाब बताउने
बस्
दिनभर भारी बोकेको
आफ्नै निधार छाम्छे
पैतालामा
बगिरहेका रक्त नदीहरू हेर्छे
र जोड्छे गणितमा
जिन्दगीको हिसाब मनमनै!