आफ्नो छायाभन्दा
नजिक हुँदैन अरू कोही
दुःख पर्दा पनि साथमा हुन्छ सधैँ
आँसु झर्दा पनि साथमा हुन्छ सधैँ।
झरीमा पनि भिज्छ सँगै
चर्को घाममा पनि हिँड्छ सँगै
आफ्नो छायाभन्दा
नजिक हुँदैन अरू कोही।
वाचा नखाए पनि
मसँग जीवनभर रहन्छ
त्यसैले होला
मलाई पनि खुब दया लाग्छ।
म जहाँ जहाँ जान्छु
उसलाई पनि लान्छु
म पुग्नु भनेको ऊ पनि पुग्नु हो
म रोकिनु भनेको ऊ पनि रोकिनु हो।
आहा! साँच्चै
आफ्नो छायाभन्दा
नजिक हुँदैन अरू कोही
तर एउटा सानो गुनासो छ!
म पुगेँ भने मात्र छाया पुग्छ
मैले नपुर्याए पुग्दैन छाया
स्वार्थी यो संसार यस्तै रहेछ
जति पाए पनि पुग्दैन माया।
तितो यथार्थ यति हो!
म भएर छाया छ
म नहुनु भने छाया हुँदैन
केवल मैले छोडेको छाप हुन्छ
मैले गरेको पुण्य
मैले गरेको पाप हुन्छ।