हेर्दै जान्छु समाजमा खै के कस्तो विवाद हुन्छ,
हत्या, हिंसा, घृणालाई नि धर्मको काँध हुन्छ।
स्विकारिन्छ आस्था सधैँ, प्रश्न स्विकारिन्न
ती चार दिन महिला घरमा बस्न स्विकारिन्न
भगवान् हुने नै भए त सबको हुनुपर्ने होइन?
दलितकै नजिक किन बस्न स्विकारिन्न।
सफल हुन भन्नै पर्ने रे यो सूत्र आखिरमा
भगवान्, म पनि हो तपाईंकै पुत्र आखिरमा
जातले पानी पिउनसमेत लगाइदिन्छ रोक
आस्थाले जबरजस्ती पिलाइदिन्छ मूत्र आखिरमा।
आफ्नै हुन्छ विज्ञान अनि आफ्नै विचारवाद हुन्छ
ढुङ्गा ढोग्नु शक्ति अनि परिवर्तन अपराध हुन्छ
हेर्दै जान्छु समाजमा खै के कस्तो विवाद हुन्छ
हत्या, हिंसा, घृणालाई नि धर्मको काँध हुन्छ।
ढोगेर मूर्ति बिहानै कर्म बचाउन नखोज
घोकेर दुइटा मन्त्रहरू, मर्म बचाउन नखोज
जाबो विश्वास बचेन रावणको शिर चढाएर पनि
आधा चम्चा घिउ चढाएर धर्म बचाउन नखोज।
मौन शालीन पत्थरसँग एकतर्फी संवाद हुन्छ
दुःखमोचन, सुखप्रार्थ यतै यस्तै फिराद हुन्छ
हेर्दै जान्छु समाजमा खै के कस्तो विवाद हुन्छ
हत्या, हिंसा, घृणालाई नि धर्मको काँध हुन्छ।