यो अग्लो पहाड अग्लो लाग्ने छैन,
तिमीसँग हिँड्दा त
यो बिरानो, अनन्त बाटो
लामो लाग्ने छैन,
तिमीसँग हिँड्दा त।
गल्दै–गल्दै थाकेको यात्रुले
अचानक शीतल छहारी भेटेझैँ
अडिन ठाउँ नपाएको मनले
आफ्नै घरको आँगन फेला पारेझैँ
अँध्यारो रात पनि
रात लाग्ने छैन,
तिमीसँग हिँड्दा त।
राप र तापले पोल्ने घामले
छुन सक्ने छैन,
तिमीसँग हिँड्दा त
छरपस्ट छरिएर बगेको नदी पनि
आफ्नै किनारा समेट्दै
शान्त भएर बग्न थालेझैँ हुनेछ,
तिमीसँग हिँड्दा त।
जटिल देखिएका मोडहरू
सहज लाग्नेछन्
काँडाले भरिएका पाइलाहरू
फूलझैँ कोमल हुनेछन्
जीवनका सबै कठिन यात्राहरू
सुन्दर सम्झनामा बदलिनेछन्
तिमी सित हिँड्दा त
केवल तिमीसँग हिँड्दा त।