भर्खरै बिठ्याइँ गरेर
पूर्ववत् खेलिरहेको
निर्दोष बच्चा झैँ
आज
बगिरहेछ भोटेकोशी
लिएर पुरानै ताल र लय
विना पश्चात्ताप
विना कुनै भय
सलल... सललल...!
ज्यान-धनको निर्मम क्षतिउपर
दोषी ठहर्याएका छन्,
मान्छेहरूले उसलाई!
नाना अर्थ लगाइरहेछन्-
भोटेकोशी बौलायो!
अहो! के यस्तो अनिष्ट मौलायो?
सायद,
कलियुगकै काल आयो;
महाप्रलय जगमगायो!
मान्छे डोजर बोकेर
भित्ता-भित्ता भत्काउँदै हिँड्ने
अनि
शताब्दीयौँ खर्चेर
आफैँले बिराएका
टारी, बारी र टारहरूमाथि
भोटेकोशी
झुमेर हिँड्न नहुने?
भएको केही होइन,
सिर्फ
अनुगमन-दौडाहाको
शून्य सहनशीलतामा परेका हुन्
कृषि क्षेत्रका अतिक्रमणकारीहरू;
सर्वस्वहरण सहित
अकाल-मृत्यु कारबाही!
ता कि
उप्रान्त
नचियाउन् फेरि कसैले!
छुट छ त्यहाँ खोस्रेर खान
न कि
ऊ हिँड्ने बाटो हडप्न,
उसको आर्जनमा कब्जा जमाई
उसको पुर्खौली सम्पत्तिमा
रजाइँ गर्न,
रजगज गर्न!
हरे!
मकै पिस्दा पिनिए
घुनहरू
निर्दोष गाई-गोरु/भैँसीहरू
दाम्ला र साङ्ला घाँटीमा लिएर!
निर्दोष, कुकुर, बिराला,
मृगशावकका
असफल पौडीका प्रयासहरू!
अबोध, अज्ञानीहरू!
कठै ती
निर्दोष प्राणीहरू!
अबोध बालक झैँ
आज,
बगिरहेछ भोटेकोशी
र
बगिरहने छ सधैँ
विना पश्चात्ताप
पूर्ववत्
निडर
अविरल!
सुन्दर- गोरी, अग्ली कदकी-
आमको काखमा,
सुसेली हाल्दै
सलल... सललल!